नेकपा एमालेले २१ फागुनमा भएको निर्वाचनमा पार्टीले व्यहोरेको पराजयलाई अध्यक्ष केपी शर्मा ओलीको व्यक्तिगत असफलताका रूपमा व्याख्या गर्न नहुने निष्कर्ष निकालेको छ ।
तेस्रो केन्द्रीय कमिटी बैठकपछि जारी गरिएको अन्तरपार्टी निर्देशन (अपानि) मा निर्वाचन परिणामलाई पार्टीको समग्र अवस्था र तत्कालीन राजनीतिक तथा सामाजिक परिस्थितिसँग जोडेर समीक्षा गर्नुपर्ने उल्लेख गरिएको छ ।
एमालेले निर्वाचनमा पराजय हुनुमा बाह्य कारणसँगै पार्टीभित्रका कमजोरीसमेत जिम्मेवार रहेको स्वीकार गरेको छ। संगठनात्मक कमजोरी, चुनावी वातावरण, समयको मनोविज्ञान तथा डिजिटल माध्यमबाट भएका प्रचार–प्रहारलगायत पक्षले निर्वाचन परिणाममा प्रभाव पारेको अपानिमा उल्लेख छ ।
यद्यपि, पार्टीको पराजयलाई अध्यक्ष ओलीको मात्रै असफलताका रूपमा लिन नहुने एमालेको निष्कर्ष छ। निर्वाचन परिणामलाई समग्र पार्टी संरचना र परिस्थितिको संयुक्त परिणामका रूपमा विश्लेषण गर्नुपर्नेमा जोड दिइएको छ।
अपानिमा ओलीले अध्यक्षका रूपमा आफ्नो हिस्सामा पर्ने जिम्मेवारी स्वीकार गर्ने बताएका छन्। तर त्यसलाई आधार बनाएर नेतृत्वबाट पछि हट्ने संकेत भने दिएका छैनन्। उनले अहिले पार्टीभित्र दोषारोपणभन्दा संगठनलाई थप मजबुत बनाउँदै अघि बढ्नुपर्ने धारणा राखेका छन् ।
२६ पृष्ठ लामो अपानिमा ओलीका मन्तव्यसँगै तेस्रो केन्द्रीय कमिटी बैठकबाट भएका विभिन्न निर्णय, मनोनयन तथा पार्टी संगठनसँग सम्बन्धित विषयहरू समेटिएका छन्
एमालेको पछिल्लो अपानिले निर्वाचनमा भएको पराजयको जिम्मेवारी स्वीकार गरे पनि त्यसको सम्पूर्ण भार अध्यक्ष ओलीमाथि नराख्ने र वर्तमान नेतृत्वलाई निरन्तरता दिने राजनीतिक सन्देश दिएको देखिन्छ ।