नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मधेस प्रदेश खुलातर्फ केन्द्रीय सदस्य पदका लागि राकेश सिंहले उम्मेदवारी घोषणा गरेका छन्।
पार्टीको संगठन सुदृढीकरण, कार्यकर्ताको सम्मान तथा मधेसको आवाजलाई पार्टीको केन्द्रीय तहसम्म प्रभावकारी रूपमा पुर्याउने प्रतिबद्धतासहित सिंहले उम्मेदवारी दिएका हुन्।
सिंह हाल नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा रहेको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य रहेका छन्।
उनको राजनीतिक यात्रा ठाकुरराम बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघको सदस्य हुँदै इकाइ अध्यक्ष, स्ववियु सभापति तथा नेविसंघ केन्द्रीय कार्यसम्पादन सदस्यको जिम्मेवारी सम्हालेको अनुभव छ । २०५३ सालपछि उनी नेपाली कांग्रेसका विभिन्न तहमा सक्रिय रहँदै आएका हुन् ।
महाधिवेशन प्रतिनिधिहरूलाई अपिल गर्दै सिंहले पार्टीलाई थप सुदृढ बनाउन सहकार्य र नयाँ ऊर्जासहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले आफ्नो उम्मेदवारीलाई समर्थन गर्दै अमूल्य मत, विश्वास र साथ प्रदान गर्न महाधिवेशन प्रतिनिधिहरूसँग आग्रह गरेका छन्।