काठमाडौं । अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या ८१२ पुगेको छ भने ३ हजारभन्दा बढी घाइते भएका छन् । ठूलो भूकम्पपछि अहिलेसम्म ९ वटा परकम्प दर्ज गरिएको छ ।
तालिबान सरकारको स्वास्थ्य मन्त्रालयका प्रवक्ता शराफत जमानलका अनुसार भूकम्पले सिर्जना गरेको विनाशकारी परिस्थितिसँग जुध्न अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य भएको छ । उनले रोयटर्ससँग कुरा गर्दै भने, “हामीलाई सहयोग आवश्यक छ, किनकि यहाँ धेरै मानिसहरूले ज्यान गुमाए र घरहरू भत्किए।”
तर अहिलेसम्म कुनै पनि देश वा विदेशी संस्थाले उद्धार तथा राहतका लागि सहयोगको प्रस्ताव नगरेको अफगानिस्तानको विदेश मन्त्रालयले जनाएको छ । उद्धार कार्य जारी रहेको र हालसम्म ३० डाक्टर प्रभावित क्षेत्रमा परिचालित भइसकेको मन्त्रालयले जानकारी दिएको छ । यस्तै, ८ सय किलोभन्दा बढी स्वास्थ्य सामग्री कुनारमा पठाइएको अल जजिराले उल्लेख गरेको छ ।
अफगानिस्तानको पूर्वी प्रान्त कुनार र नाग्गारहारमा गएराति ६ म्याग्निच्युडको भूकम्प गएको हो । तालिबानका प्रवक्ता जबीहुल्लाह मुजाहिदका अनुसार पाकिस्तानी सीमावर्ती दुर्गम हिमाली बस्तीहरूमा उद्धार टोली पुग्न कठिनाइ भइरहेको छ, जहाँ मोबाइल नेटवर्क समेत अवरुद्ध छ । ग्रामिण क्षेत्रमा माटो र ढुंगाका घरहरू भत्किएकाले ठूलो जनधनको क्षति भएको छ ।
संयुक्त राष्ट्रसंघका अनुसार अफगानिस्तानमा जनसंख्याको आधाभन्दा बढी हिस्सालाई तत्काल मानवीय सहायताको खाँचो छ । भारत, चीन, पाकिस्तान, टर्की, अजरबैजान लगायतका देशले दुःख व्यक्त गरेका छन् । चीनले आवश्यकताअनुसार राहत सहयोग गर्न तयारी भएको जनाएको छ ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत अफगानिस्तानस्थित राष्ट्रसंघीय कार्यालय प्रभावित पीडितलाई सहयोग गर्न तयार रहेको बताएका छन् ।
स्थानीयवासी र मानवअधिकारकर्मीका अनुसार दुई वर्षअघि पश्चिमी हेरात सहरमा गएको शक्तिशाली भूकम्पपछि धेरै गाउँ अझै पनि अस्थायी आवासमै छन् । अफगानिस्तान हिन्दुकुश पर्वत श्रृंखलामा पर्ने भएकाले यहाँ भारतीय र युरेसियन प्लेटहरूको जोडिनेमध्येमा उच्च भूकम्प जोखिम रहेको विज्ञहरूले बताउँदै आएका छन् ।
गृहयुद्धपछिको पुनर्निर्माण प्रक्रियामा रहेको अफगानिस्तानलाई यो भूकम्पले पुनः ठूलो संकटमा पारेको छ । तालिबान सरकारको महिलाविरोधी नीतिका कारण अन्तर्राष्ट्रिय सहयोग कटौती भोगिरहेको मुलुकले अहिले थप मानवीय संकटको सामना गर्नुपरेको हो ।
सन् २०२२ मा ६.१ म्याग्निच्युडको भूकम्प गएको बेला पनि करिब एक हजार मानिसको मृत्यु भएको थियो । गएरातिको भूकम्प त्यसयताकै ठूलो भएको बताइएको छ ।
सम्बन्धित समाचार
भिडियाे सामाग्री