सप्तरी | लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले मधेश प्रदेशमा अब सरकार बनाउने पालो आफ्नो पार्टीको आएको दाबी गर्नुभएको छ ।
राजविराजमा मङ्गलबार आयोजित लोसपा सप्तरीको पत्रकार सम्मेलनमा अध्यक्ष ठाकुरले मधेश प्रदेशमा मधेशी दलहरूले साढे सात वर्षदेखि नेतृत्व गरिसकेकोले अब नेतृत्व गर्ने पालो लोसपाको भएको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “मधेश प्रदेशमा कांग्रेस–एमाले दुई ठूला दल मिलेर पनि सरकार बन्ने स्थिति छैन । मधेशी दलको पनि साथ चाहिन्छ र मधेशी दलहरूले नेतृत्व गरिसकेको छ, त्यसैले अबको पालो हाम्रो हो ।”
अध्यक्ष ठाकुरले केन्द्रमा भएको सत्ता गठबन्धनको सहमति अनुसार सात प्रदेश मध्ये तीन प्रदेश कांग्रेस, तीन प्रदेश एमालेले लिने र मधेश प्रदेश मधेशी दललाई दिने निर्णय भएको उल्लेख गर्दै रूपन्देहीको उप–चुनाव पछि प्रदेशमा सरकार परिवर्तनको सम्भावना रहेको जानकारी दिनुभयो ।
उहाँले लोसपा सरकारमा रहेरै जनताको पक्षमा काम गर्दै आएको र शान्तिपूर्ण आन्दोलनमा समेत संलग्न रहेको बताउँदै मधेशमा रहेको खडेरी, अन्न तथा खानेपानी समस्याबारे सरकार र संसद्मा आवाज उठाउँदै आएको जानकारी दिनुभयो ।
प्रधानमन्त्रीसँगै मधेशको सुख्खाग्रस्त क्षेत्रको अवलोकन गरेको भन्दै पाँच सय डिप बोरिङ उपलब्ध गराउने घोषणा अहिलेसम्म पूरा नभएकोमा असंतुष्टि व्यक्त गर्नुभयो ।
साथै, उहाँले जनसङ्ख्याको आधारमा बजेट निर्माण हुनुपर्ने र मधेश प्रदेशबाट जाने राजस्वको कम्तिमा ३५ प्रतिशत प्रदेशलाई फिर्ता पाउनुपर्ने माग राख्नुभयो। “मधेश प्रदेशबाट जाने राजस्वको २० प्रतिशत पनि मधेशमा अहिलेसम्म आएको छैन,” अध्यक्ष ठाकुरले भन्नुभयो ।
पत्रकार सम्मेलनमा लोसपाका वरिष्ठ उपाध्यक्ष जयप्रकाश ठाकुर, जिल्ला अध्यक्ष सुनिल झा तथा अन्य नेता–कार्यकर्ताहरू उपस्थित थिए ।
सम्बन्धित समाचार
भिडियाे सामाग्री