महोत्तरी | राजनीतिक घटनाक्रम र कर्फ्यूले असजिलो बनेको माहोलबीच मिथिला क्षेत्रका सन्तानवती महिलाले जितिया पर्वको तयारी सुरु गरेका छन् । निषेधाज्ञा र आवतजावतमा कठिनाइका बाबजुद महिलाहरूले सन्तानको कल्याणका लागि यो कठोर व्रत बस्ने तयारी अगाडि बढाएका हुन् ।
प्राचीन मिथिला क्षेत्रमा असोज कृष्णपक्ष सुरु हुनासाथै पुत्रवती मिथिलानीबीच जितियाको चर्चा र तयारी सुरु हुन्छ। यसपटक अष्टमी तिथि पर्सी आइतबार परेको छ । मिथिलामा यो पर्वलाई पौराणिक र पारम्परिक दृष्टिले अत्यन्त महत्व दिइन्छ ।
“पर्व आइसक्यो, तर कर्फ्यू अझै हटेको छैन । हाटबजार आउजाउ गर्न सहज भइसकेको छैन । तर पर्वले हामीलाई छोपी सकेको छ,” जलेश्वर–५ चौरियाकी पेसाले शिक्षक नायडु तिवारी भन्छिन् ।
मिथिलामा जितिया व्रतलाई कठोर उपवासको परिचयका रूपमा लिइन्छ। असोज कृष्ण अष्टमीको एक घडी (करिब साढे दुई घण्टा) अघिदेखि सुरु हुने उपवास नवमीको एक घडी नाघेपछि मात्र तोड्न पाइन्छ। यसपालि अष्टमी आइतबार बिहान ८:४४ बजे सुरु भई सोमबार बिहान ७:०० बजे व्रत समापन हुने भएकाले व्रतको अवधि करिब ३१ घण्टा हुने पण्डित महेशकुमार झाले बताए ।
व्रतअघिको रात (ओगटन) मा दही–चिउरा खाने प्रचलन छ। व्रत सुरु भएपछि समापन नगरुन्जेल थुक निल्नु नहुने, किरा वा झारपातसमेत नमार्ने धार्मिक मान्यता भएकाले यो व्रत अत्यन्त कठिन मानिन्छ ।प्रारम्भमा यो व्रत छोराछोरी दुवैको कल्याणका लागि गरिन्थ्यो । तर पछि पितृसत्तात्मक समाजको प्रभावमा पुत्रकै नाममा व्रत बस्ने चलन बढ्यो । अहिले भने लैङ्गिक समानताबारे सचेतना बढेसँगै पुनः सन्तानकै नाममा व्रत बस्ने परम्परा बलियो हुँदै गएको छ ।
जितिया पर्व राजा जितवाहनसँग सम्बन्धित मानिन्छ। भविष्य पुराणअनुसार द्वापरयुगमा विधवा ब्राह्मणीका पाँच मृत छोरालाई राजा जितवाहनले आफ्नो तपशक्तिबाट जीवन दिएका थिए । त्यही घटनाबाट प्रेरित भई यो व्रत बस्ने परम्परा सुरु भएको मिथिला क्षेत्रका पुराना व्रतबाहक बताउँछन् ।
मिथिलामा यो पर्व साहस, सौर्य र पराक्रमको प्रतीक मानिन्छ। स्थानीय लोकभाषामा ‘तोहर माय जितिया कैने छौ त आ भिड’ भन्ने प्रचलित भनाइले पनि पर्वको सामाजिक महत्ता झल्काउँछ।
मिथिला संस्कृतिको अभिन्न अङ्ग बनेको जितिया पर्वका अवसरमा मधेस प्रदेश सरकारले महिलालाई सार्वजनिक बिदा दिँदै आएको छ।