छुट जग्गा दर्ता गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको आरोपमा पर्सा नापी कार्यालयका नापी अधिकृत दिपक कुमार सिंह फरार भएका छन् ।
गत मंसिर २ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले सर्भेक्षक राम प्रमोद राउत र कार्यालय सहयोगी अरुण प्रसाद उपाध्यायलाई एक लाख रुपैयाँ घुससहित पक्राउ गरेपछि सिंहमाथि पनि संलग्नताको आरोप लागेको थियो । अख्तियारले पक्राउ परेका दुई कर्मचारीको मुचुल्का उठाउन शुक्रबार वडा कार्यालय पुगेको समयमा समेत दिपक सिंह उपस्थित नभएपछि उनी फरार रहेको पुष्टि भएको हो । उनकाे दुईवटै माेबाईल अफ रहेकाे छ ।
नापी कार्यालय पर्साका अधिकृत नागेन्द्र महतोका अनुसार सिंहलाई पटक–पटक सम्पर्क गर्दा पनि फोन नलागेको र हालसम्म उनी सम्पर्कविहीन रहेको बताए । उनका अनुसार कार्यालयमा विदा मागेकाे सुनेकाे छु अरू कुरा मलाई जानकारी भएन् ।
कसरी हुँदै थियो अवैध कारोबार !
अख्तियारका अनुसार छुट जग्गा दर्ता गरिदिने भन्दै नियमित सेवा लिन आएका सेवाग्राहीसँग रकम असुलेको सूचनाका आधारमा टंगालस्थित केन्द्रीय कार्यालयबाट टोली पर्सा आएको थियो ।
उक्त टोलीले सर्भेक्षक राम प्रमोद राउत तथा कार्यालय सहयोगी अरुण प्रसाद उपाध्यायलाई रकम सहित नापी कार्यालय मै नियन्त्रणमा लिएको थियो । दुवैजनालाई हाल हिरासतमा राखेर बयान तथा प्रमाण संकलन भइरहेको छ । श्रोतका अनुसार सर्भेक्षक राउतले कार्यालयको अधिकार दुरुपयोग गर्दै व्यक्तिको जग्गा अन्य व्यक्तिको नाममा हालसाबिक मिलाउने, सीमाना परिवर्तन गर्ने, नाप–नक्सा जालसाजी गर्ने लगायतका गतिविधि गर्दै आएका थिए । राउत वीरगञ्ज आदर्शनगरस्थित ‘स्काइलाइन मल’ विवादमा समेत मुख्य संलग्न व्यक्तिको रूपमा पहिल्यैदेखि चर्चामा रहेकाेमा, यो प्रकरणपछि उनीमाथिको अनुसन्धान थप बलियो बनेको छ ।
श्राेतका अनुसार अख्तियारले दिपक कुमार सिंह बारे यस प्रकरणमा अनुसन्धान भइरहेकाे छ । प्रारम्भिक अनुसन्धानमा सिंहसमेत घुस प्रक्रियाको ‘फिक्सिङ’ र ‘सिफारिस प्रक्रिया’मा संलग्न रहेको आशंकाकाे अधारमा अनुसन्धान भइरहेकाे जनाएकाे छ ।
पर्सा जिल्लामा पछिल्लो पाँच वर्षयता जग्गा जालसाजी, सीमाना परिवर्तन, हालसाबिक मिलावट, भोगाधिकार हेरफेर र ठूलो भू–माफियाको गतिविधि तीव्र बन्दै गएको स्थानीयहरूकाे आराेप रहेकाे छ । नापी तथा मालपोतका केही कर्मचारी, स्थानीय दलाल र संगठित समूहको मिलेमतोमा करोडौं मूल्यका जग्गा हडपिने, कालोबजारीमा बेचिने र विवादित बनाइने गरेको आरोप लगातार उठ्दै आएको छ ।
छपकैयाँस्थित ‘दी जुद्ध म्याच फैक्ट्री’ को ठूलो जग्गा व्यक्तिगत नाममा लैजान खोजिएको घटनामा समेत केही सरकारी कर्मचारीको संलग्नता रहेको आशंकामा सिबिआईले अनुसन्धान अघि बढाइरहेको बुझिएको छ ।
स्काईलाइन मल जग्गा प्रकरण सम्बन्धी फलोअप समाचारहरु :