वीरगंजमा सरकारी मालपोत प्रणालीको दुरुपयोग गर्दै संगठित रुपमा भूमिसम्बन्धी कीर्ते ठगी गर्ने गिरोह सक्रिय रहेको उजागर भएको छ ।
मालपोत कार्यालयका केही कर्मचारी, लेखापढी व्यवसायी र अन्य मिलेमतोमा अर्काको नामको जग्गा झुटा कागजातमार्फत आफ्नो नाममा दर्ता गरी बेचबिखन तथा बैंकमा धितो राखिएको तथ्य फेला परेको हो । मालपोत कार्यालयको अनलाइन प्रणालीको दुरुपयोग गरी अन्यको नाममा रहेको जग्गा किर्ते कागजातमार्फत आफ्नो नाममा दर्ता गरी बैंकमा धितो राख्ने तथा कम मूल्यमा बिक्री गर्ने गिरोह सक्रिय रहेको प्रहरीले जनाएको छ । मालपोतका कर्मचारी, लेखापढी व्यवसायी र अन्य व्यक्तिहरूको मिलेमतोमा सञ्चालित यो गिरोहले सरकारी प्रणाली मै हस्तक्षेप गर्दै संगठित अपराध गरेको खुलेको हो ।
जिल्ला पर्सा, वीरगञ्ज महानगरपालिका–६ बस्ने राजकुमार हरलालका (अग्रवाल) ले झापा, बिर्तामोड नगरपालिका–४ का हेमन्त अग्रवालको नाममा रहेको वीरगञ्ज–९ को कित्ता नम्बर ३२३, २२४, ८७ र पंकज अग्रवाल तथा राजकुमार अग्रवालको नाममा रहेको कित्ता नम्बर १ समेतको जग्गा कीर्ते कागजातमार्फत आफ्नो नाममा दर्ता गराएको उजागर भएको छ ।
कसरी भयो कीर्ते ?
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सञ्चालनमा ल्याएको अनलाइन प्रणालीमार्फत बाबुबाजेको नाम समेत अन्य व्यक्तिका नाममा राखी अशोक कुमार हरलालका नामबाट नागरिकता विवरण राखिएको नक्कली आवेदन तयार पारिएको थियो । त्यसपछि अशोक कुमारको नाम हातले काटी जाहेरवाल हेमन्त अग्रवालको नाम लेखी ल्याप्चे छाप गराई किर्ते मिसिल तयार पारिएको थियो ।
प्रहरी अनुसन्धान अनुसार मालपोत कार्यालयका कर्मचारीहरूको सहयोगमा उक्त नक्कली अभिलेख प्रयोग गरी जग्गा राजकुमार हरलालकाको नाममा दर्ता गरी पुर्जा समेत निकालेको थियो । त्यसपछि ती जग्गा बैंक तथा वित्तीय संस्थामा धितो राखी कर्जा लिने, वा अन्य कसैलाई बिक्री गरी ठगी गर्ने कार्य गरिएको थियो ।
विदेशी नागरिकता लिएका व्यक्तिको नाममा समेत कित्ताकाँट
प्रस्तुत मिसिल र मालपोतको टिप्पणी आदेश हेर्दा विदेशी नागरिकता लिएका व्यक्तिहरुको नाममा समेत कित्ताकाँट गरिएको देखिएको छ । जसले मालपोत कार्यालयमा कार्यरत कर्मचारी, लेखापढी व्यवसायी तथा अन्य गिरोह मिलेर सुनियोजित ढंगले किर्ते ठगी गरेको पुष्टि गर्दछ ।
प्रहरी अनुसन्धान, पक्राउ र मुद्दा प्रक्रिया
पीडित हेमन्त अग्रवालले केन्द्रीय अनुसन्धान ब्युरो (CIB) मा उजुरी दिएपछि पर्सा जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर सीआईबीले २०८२ साल वैशाख ११ गते आरोपीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको हो । अनुसन्धानपछि मालपोतका केही कर्मचारीहरूले प्रहरीमा बयान दिएका छन् भने अन्य केही अझै फरार छन् ।
लेखापढी व्यवसायीलाई पक्राउ गर्न अदालतबाट जारी गरिएको पक्राउ पुर्जी कार्यान्वयनको क्रममा उनी हालसम्म फरार रहेका छन् ।
प्रहरीले अनुसन्धान समाप्त गरी अभियोगको फाइल जिल्ला सरकारी वकिल कार्यालय पर्सामा बुझाएको छ । सरकारी वकिलले लिखतसम्बन्धी कीर्ते कसुरमा ७ वर्षसम्मको कैद सजाय माग गर्दै जिल्ला अदालतमा मुद्दा दायर गरिसकेको छ ।
यस घटनाले भूमिसम्बन्धी सरकारी अभिलेख प्रणालीको सुरक्षामा प्रश्न उठाएको छ । सार्वजनिक पदमा बसेका कर्मचारी र पेशागत लेखापढी व्यवसायी स्वयं कीर्ते ठगीमा संलग्न भएको खुलेपछि नागरिक समाजले यस्तो जघन्य अपराधमा संलग्न आरोपीले थुनामै बसेर पुर्पक्ष गर्नुपर्ने माग गर्दै निष्पक्ष न्यायको अपेक्षा गरेका छन् ।
भिडियाे सामाग्री