छिपहरमाई गाउँपालिकामा जनप्रतिनिधि, कर्मचारी र निर्माण व्यवसायीबीच मिलेमतो गरी झुट्टा बोलपत्र सूचना प्रकाशित गराई लाखौं रुपैयाँ भुक्तानी गरिएको आरोपमा अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगले विशेष अदालतमा दायर गरेकाे आरोपपत्रबाट सफाई पाएकाे छ ।
अनुसन्धानका क्रममा छिपहरमाई गाउँपालिकामा झुट्टा बोलपत्र सूचना प्रकाशित गरी लाखौं हिनामिना गरेकाे आरोपमा नेकपा एमालेका जिल्ला उपाध्यक्ष समेत रहेका छिपहरमाईमा गाउँपालिकाका अध्यक्ष मनोज कुमार गुप्ता, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हाल बहुदरमाइ नगरपालिकाका प्रशासकिय अधिकृत सिकिन्द्र प्रसाद साह, तत्कालीन लेखापाल संजय पटेल र यसअघि भ्रष्टचार प्रमाणित भएर कैद सजाय पाएका बरिष्ठ पत्रकार कमल कुमार उपाध्याय विरूद्ध अख्तियारद्वारा विशेष अदालतमा आरोपपत्र दायर गरेकाे उक्त मुद्दाकाे न्यायधिशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठकाे इजलाशले सुनुवाई गर्दै सफाई दिएकाे हाे ।
छिपहरमाई गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८० का लागि विभिन्न योजनामा बोलपत्र आह्वान गरिएको भनिए तापनि सम्बन्धित मितिमा राष्ट्रियस्तरको सौर्य दैनिक पत्रिकामा कुनै पनि सूचना प्रकाशित नगरी हिनामिना गरेको आरोप लगाएकाे थियाे ।
उजुरी अनुसार छिपहरमाइ गाउँपालिकाले ठेक्का नं. १८/०७९/०८०, १९/०७९/०८० र २०/०७९/०८० का लागि मिति २०७९/१०/१७ गते तथा ठेक्का नं. २१/०७९/०८० र २२/०७९/०८० का लागि मिति २०७९/११/१९ गते सौर्य दैनिकमा सूचना प्रकाशित गरेको दाबी गरेको थियो । तर उक्त मितिहरूकाे पत्रिकाको प्रमाणित प्रति प्रेस काउन्सिल तथा पिडिएफ प्रतिमा उक्त सूचनाहरू प्रकाशित नगरी गलत नियतले सूचना प्रकाशित गरेकाे देखिइ हिनामिना गरेकाे आरोप सहित विशेष अदालतमा २०८२ पुस २३ गते मुद्दा दायर गरिएकाे थियाे ।


अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगकाे अनुसन्धानले २०७९ माघ ०२ गते खानेपानीका लागि ट्युबवेल जडान, २०७९ माघ ०३ गते छिपहरमाई स्टेडियम निर्माण र २०७९ माघ ०४ गते चार कोठे भवन निर्माण कार्यक्रमका लागि सौर्य दैनिकमा मिति २०७९ माघ १७ गते सूचना प्रकाशन गर्ने निर्णय गरेको देखिएको भनिएकाे थियाे । सोहीअनुसार गाउँपालिकाका अध्यक्ष मनोज कुमार गुप्ताले २०७९ माघ १६ गते टिप्पणी आदेश सदर गरी के.एस. मल्टिपर्पोज प्रा.लि.वीरगञ्जका संचालक कमल कुमार उपाध्यायलाई सूचना प्रकाशनको कार्यादेश दिएका थिए । तर नियमअनुसार राष्ट्रसेवक कर्मचारी मार्फत पत्राचार हुनुपर्नेमा गाउँपालिका अध्यक्ष मनाेज गुप्ता स्वयंले बदनियतपूर्ण रूपमा विज्ञापन एजेन्सीसँग पत्राचार गरेको अनुसन्धानमा खुलेको अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगकाे दाबि थियाे ।
यस्तै, दलित आवास भवन निर्माण कार्यक्रम अन्तर्गत ठेक्का नं. २१/०७९/०८० र २२/०७९/०८० का लागि पनि मिति २०७९ फागुन १९ गते सौर्य दैनिकमा सूचना प्रकाशित गरिएको देखाई पुन १ लाख ९५ हजार ४ सय ९० रूपैयाँ भुक्तानी गरेको भनिएकाे थियाे । तर उक्त मितिको सौर्य दैनिकको प्रमाणित प्रतिमा पनि छिपहरमाई गाउँपालिकाको कुनै सूचना प्रकाशित नभएको अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगकाे अनुसन्धानले दाबि गरेकाे थियाे ।
यसरी योजनाबद्ध रूपमा झुट्टा सूचना प्रकाशित गराई जम्मा चार लाख उनन्तीस हजार चार सय रुपैयाँ गैरकानुनी रूपमा भुक्तानी गरिएको भन्दै गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ता, प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र प्रसाद साह, लेखापाल सञ्जय पटेल तथा के.एस. मल्टिपर्पोज प्रा.लि. वीरगञ्जका सञ्चालक बरिष्ठ पत्रकार कमल उपाध्याय विरुद्ध गैरकानुनी लाभ–हानि पुर्याउने बदनियतले कार्य गरेको ठहर सहित विशेष अदालत, काठमाडौंमा अख्तियारले आरोपपत्र दायर गरेको थियाे साेहि मुद्दामा विशेष अदालतले सफाई दिएकाे बुझिएको छ ।
सम्बन्धीत समाचार
छिपहरमाईमा झुट्टा बोलपत्र सूचना प्रकाशित गरी लाखौं हिनामिना, गाउँपालिकाका अध्यक्ष, प्रशासकीय अधिकृत, लेखा प्रमुख र भ्रष्ट सावित भएका पत्रकार विरूद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
पत्रकार कमल कुमार उपाध्याय विषेश अदालतमा भ्रष्टाचारी ठहर, ६ महिना कैद तथा १ लाख १७ हजार जरिवाना
भ्रष्टाचार मुद्दामा दाेषि कमल उपाध्याय प्रेस चाैतारी नेपालकाे सधारण सदस्यबाट समेत निस्कासित
भ्रष्टाचार मुद्दामा मुछिएका कमल उपाध्याय मिडिया काउन्सिल अध्यक्ष पदबाट स्वत निलम्बन
मधेश प्रेस काउन्सिल अध्यक्ष कमलकुमार उपाध्यायविरुद्ध अख्तियारले दायर गर्यो भ्रष्टाचार मुद्दा
मधेश मिडिया काउन्सिलको अध्यक्षमा कमल उपाध्याय, आमसञ्चार प्राधिकरणमा जीतेन्द्र खड्ग
मधेश प्रदेश मिडिया काउन्सिलको अध्यक्षमा कमलकुमार उपाध्याय नियुक्त