फेसबुक, इन्स्टाग्राम र युट्युबमा भारतीय भ्लगरहरूले बनाएका भिडियो सामग्रीको प्रभावले यस वर्ष पोखरामा भारतीय पर्यटकको उल्लेख्य वृद्धि भएको छ । सामाजिक सञ्जालमार्फत पोखरा, मुक्तिनाथ, घान्द्रुकलगायत गन्तव्यको प्रचार व्यापक भएपछि हजारौं भारतीय परिवार नेपाल भ्रमणमा आएका छन् ।
फेसबुक र इन्स्टाग्राममा ‘भ्लगर भैया’ नामले परिचित भारतको उत्तर प्रदेशका साइद साहले पोखराबारे मात्रै २० भन्दा बढी रिल्स निर्माण गरेका छन् । उनका ती भिडियो लाखौं पटक हेरिएका छन् । त्यसैगरी आराध्या सिंह, मोहद उमर, रोनक राइडर जी लगायत भारतीय भ्लगरहरूले पनि पोखरा, मुक्तिनाथ र घान्द्रुकका दृश्यहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । रोनक राइडर वाराणसीबाट मोटरसाइकलमै साथीहरूसँग पोखरा हुँदै मुस्ताङसम्म पुगेर फर्किएका थिए ।
दुई वर्षअघि भारतीय कलाकार आशिष विद्यार्थीले युट्युबमा सार्वजनिक गरेको पोखरा भ्रमणसम्बन्धी भ्लगले समेत ठूलो चर्चा पाएको थियो। सामाजिक सञ्जालको यही प्रभाव, भारतमा बढ्दो गर्मी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको डलर बचतसम्बन्धी नीति, पर्यटन व्यवसायीहरूको प्रचार अभियान तथा बिहारमा लागू मदिरा प्रतिबन्धका कारण यस वर्ष भारतीय पर्यटकको आकर्षण पोखरातर्फ बढेको पर्यटन व्यवसायीहरूको भनाइ छ ।
बिहारको पटनाबाट साथीहरूसहित पोखरा आएका व्यवसायी नफिस आलमले सामाजिक सञ्जालबाट पोखराबारे जानकारी पाएपछि भ्रमणमा निस्किएको बताए । उनले हिमालको काखमा बसेर समय बिताउने अवसर मिलेको, घान्द्रुकको संस्कृति अवलोकन गरेको तथा नेपालीहरूको आतिथ्यता मन परेको अनुभव सुनाए ।
“हामी भारतभन्दा बाहिर छौं भन्ने नै लागेन। यहाँका मानिस मिलनसार छन्, सहर सफा छ र वातावरण शान्त छ,” उनले भने । यद्यपि उनले सीमा नाकामा भन्सार व्यवस्थापन कमजोर रहेको, शौचालयको अभाव तथा सडक संकेत बोर्ड पर्याप्त नभएको गुनासो पनि गरे ।
उत्तर प्रदेशको गोरखपुरबाट आएका व्यवसायी प्रमोद अग्रहरी परिवारका नौ सदस्यसहित पोखरा पुगेका छन् । बुटवल, तानसेन र रानीमहल घुम्दै पोखरा आइपुगेका उनीहरू अब काठमाडौं जाने तयारीमा छन् । “फेवाताल, सराङकोट र पुम्दीकोट घुम्यौं । सामाजिक सञ्जालमा पोखराको सुन्दरता देखेरै यात्रा योजना बनाएका हौं,” उनले भने ।
पञ्जाबबाट आएका खुराना परिवारका लागि पोखरा साहसिक पर्यटनको केन्द्र बनेको छ। प्याराग्लाइडिङ, बञ्जी जम्प, गुप्तेश्वर गुफा र फेवातालको आकर्षणले उनीहरूलाई पोखरा ल्याएको हो । भारतीय पर्यटकको यही बढ्दो आगमनले पोखराका होटलहरूको अकुपेन्सी दर विगतका वर्षहरूको तुलनामा उल्लेख्य रूपमा बढेको छ । पोखरा ग्रान्ड होटलका महाप्रबन्धक पञ्चम लामाका अनुसार सामान्यतया गर्मी मौसममा पाँचतारे होटलहरूको अकुपेन्सी ४० देखि ४५ प्रतिशत हुने गरेकामा यस वर्ष थप २० देखि २५ प्रतिशतले वृद्धि भएको छ ।
उनका अनुसार भारतीय पर्यटकहरू प्रायः अन्तिम समयमा यात्रा योजना बनाउने स्वभावका हुन्छन् । बिदा मिल्नेबित्तिकै वा गर्मी बढ्नेबित्तिकै ४८ देखि ७२ घण्टाभित्रै यात्रा तय गरेर नेपाल आइपुग्ने गरेका छन् । होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार यस वर्ष जति धेरै भारतीय पर्यटक पोखरामा आएका छन्, त्यस्तो अवस्था विगतमा विरलै देखिएको थियो । केही दिनअघिसम्म होटलहरूको अकुपेन्सी ९० प्रतिशतको हाराहारीमा पुगेको थियो ।
उनले सामाजिक सञ्जालमार्फत मुक्तिनाथ र पोखराको व्यापक प्रचार, मोदी सरकारको भारु चल्ने मुलुक भ्रमण प्रोत्साहन नीति तथा भौगोलिक निकटताले भारतीय पर्यटकको संख्या बढाएको बताए । बिहारमा मदिरा निषेधित भएकाले मनोरञ्जन र भ्रमणका लागि नेपाल रोज्ने युवाको संख्या पनि बढेको उनको भनाइ छ । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीका अध्यक्ष किशोर दाहालका अनुसार भारतका ज्येष्ठ नागरिकलाई धार्मिक भ्रमणका लागि उपलब्ध गराइने सहुलियतले पशुपतिनाथ र मुक्तिनाथजस्ता धार्मिक गन्तव्यमा भारतीय पर्यटक आकर्षित भएका छन् ।
पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले ‘गर्मीसे बेहाल, चलो नेपाल’ अभियान तथा पोखराका व्यवसायीहरूले सञ्चालन गरेको ‘चलिए पोखरा’ अभियानको सकारात्मक प्रभाव परेको बताए। भारतीय भ्लगर र सामाजिक सञ्जाल प्रभावकर्ताहरूले स्वस्फूर्त रूपमा गरेको प्रचारले घान्द्रुक, मुक्तिनाथ र अन्नपूर्ण क्षेत्रलाई लाखौं भारतीयसम्म पुर्याएको उनको भनाइ छ ।
नेपाल राष्ट्र बैंकको नीतिअनुसार भारतीय फोनपे र यूपीआईमार्फत नेपालमा भुक्तानी गर्न सहज भएको तथा धेरै पर्यटक आफ्नै सवारी साधन लिएर सडकमार्गबाट आउने गरेकाले पनि आगमन संख्या बढेको उनले बताए । पर्यटक आगमनसँगै व्यवस्थापनको चुनौती पनि बढेको छ ।
पर्यटन व्यवसायीहरूले सीमा नाकामा सुधार, हिन्दी तथा अंग्रेजी भाषामा थप संकेत बोर्ड, पर्याप्त शौचालय, विश्रामस्थल तथा शाकाहारी भोजनालयको व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । पोखरा ग्रान्डका महाप्रबन्धक पञ्चम लामा भने भारतीय पर्यटकप्रति सकारात्मक दृष्टिकोण अपनाउनुपर्ने बताउँछन् ।
“उनीहरू हाम्रा पाहुना हुन्। पाहुनालाई स्वागत गर्ने संस्कार विकास गर्नुपर्छ। समस्या देखिए समाधानका उपाय खोज्नुपर्छ, आलोचना मात्र गरेर हुँदैन,” उनले भने ।
उनका अनुसार सीमा नाका तथा चेकपोस्टमै आवश्यक जानकारीसहितका ब्रोसर वितरण गर्ने, पर्यटकलाई के गर्ने र के नगर्ने भन्नेबारे स्पष्ट जानकारी दिने व्यवस्था गरिए धेरै समस्या सहज रूपमा समाधान हुन सक्छन् ।