लोपोन्मुख बाघको संरक्षणप्रति विश्व समुदायलाई सचेत गराउने तथा संरक्षणका लागि सामूहिक प्रतिबद्धता दोहोर्याउने उद्देश्यले आज १७औँ विश्व बाघ दिवस मनाइँदैछ ।
विश्वभर बाघको संख्या तीव्र रूपमा घट्दै गएपछि बाघ संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्न र संरक्षणका लागि अन्तर्राष्ट्रिय सहकार्य सुदृढ बनाउने उद्देश्यले सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा आयोजित ‘सेन्ट पिटर्सबर्ग टाइगर समिट’ले जुलाई २९ लाई विश्व बाघ दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । त्यसयता हरेक वर्ष मनाइँदै आएको विश्व बाघ दिवस नेपालका लागि भने औपचारिक कार्यक्रम मात्र नभई बाघ संरक्षणमा हासिल गरेको ऐतिहासिक सफलताको स्मरण गर्ने अवसरसमेत बनेको छ ।
राष्ट्रिय बाघ तथा आहारा प्रजाति गणना–२०२२ अनुसार नेपालमा ३ सय ५५ वटा जंगली बाघ अभिलेख भएका थिए। सन् २००९ मा नेपालमा बाघको संख्या १ सय २१ मात्र थियो । छोटो अवधिमै बाघको संख्या झण्डै तीन गुणाले वृद्धि हुनु नेपालका लागि मात्र नभई विश्व संरक्षण इतिहासकै उल्लेखनीय उपलब्धिका रूपमा लिइन्छ ।
वैज्ञानिक प्रविधिको प्रयोग, प्रभावकारी चोरी–सिकार नियन्त्रण, बाघको बासस्थान संरक्षण तथा स्थानीय समुदायको सक्रिय सहभागिताले नेपाललाई बाघ संरक्षणमा विश्वकै अग्रणी राष्ट्रका रूपमा स्थापित गरेको छ ।
नेपालले राष्ट्रिय बाघ तथा आहारा प्रजाति गणना–२०२६ को फिल्ड सर्वेक्षणसमेत सम्पन्न गरिसकेको छ । यसको आधिकारिक प्रतिवेदन सार्वजनिक हुन बाँकी रहे पनि प्रारम्भिक विश्लेषणका आधारमा नेपालमा बाघको संख्या थप वृद्धि हुने अनुमान गरिएको छ । यसपटक नेपालमा बाघको संख्या करिब ४ सयको हाराहारीमा पुग्न सक्ने अपेक्षा गरिएको छ । आधिकारिक नतिजाले यसलाई पुष्टि गरेमा नेपालले बाघ संरक्षणमा अर्को ऐतिहासिक उपलब्धि हासिल गर्नेछ ।
हाल विश्वका १३ एसियाली देशमा बाघ पाइन्छ । नेपालसहित भारत, बंगलादेश, भुटान, म्यानमार, थाइल्याण्ड, मलेसिया, इन्डोनेसिया, कम्बोडिया, चीन, रुस, लाओस र भियतनाममा बाघको प्राकृतिक बासस्थान रहेको छ। विश्वभर हाल करिब ५ हजार ५ सय बाघ रहेको अनुमान गरिएको छ ।
नेपालमा चितवन, पर्सा, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ पाइन्छ । सन् २०२२ को गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा १ सय २८, बर्दिया राष्ट्रिय निकुञ्जमा १ सय २५, पर्सा राष्ट्रिय निकुञ्जमा ४१, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ३६ र बाँके राष्ट्रिय निकुञ्जमा २५ वटा बाघ अभिलेख भएका थिए ।
तर, बाघको संख्या बढेसँगै संरक्षणका चुनौतीसमेत थपिँदै गएका छन् । बढ्दो मानव–बाघ द्वन्द्व, बासस्थानको खण्डीकरण, पूर्वाधार विकासको दबाब, जैविक मार्गको संरक्षण तथा चोरी–सिकार नियन्त्रण बाघ संरक्षणका प्रमुख चुनौती बनेका छन् । यी चुनौतीको प्रभावकारी व्यवस्थापन गर्दै मानव र वन्यजन्तुबीच सहअस्तित्व कायम गर्न सके मात्र नेपालले बाघ संरक्षणमा हासिल गरेको उपलब्धिलाई दीर्घकालीन रूपमा जोगाउन सक्नेछ ।