अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको मलंगवा नगरपालिकास्थित श्रीमती कृष्णादेवी जनता माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक विन्देश्वर यादव र शिक्षक प्रियंका कुमारी सिंहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारका अनुसार शिक्षक सिंह २०७९ वैशाखदेखि कात्तिक १८ गतेसम्म विद्यालयमा अनुपस्थित रहेकी थिइन् । तर तत्कालीन प्रधानाध्यापक यादवले हाजिरी तथा बिदाको अभिलेख मिलाएर उनको अनुपस्थित अवधिको तलबसमेत निकासा गराएका थिए ।
अनुसन्धानका क्रममा सरकारी कागजातमा टिपेक्स लगाएर हाजिरी विवरण सच्याइएको र अनुपस्थित अवधिको समेत हाजिरी विवरण मलंगवा नगरपालिकामा पेस गरी तलब निकासा माग गरिएको पाइएको अख्तियारले जनाएको छ । आयोगका अनुसार यसरी विद्यालयमा अनुपस्थित शिक्षकको नाममा ३ लाख ७१ हजार ३६ रुपैयाँ १० पैसा गैरकानुनी रूपमा निकासा तथा भुक्तानी भएको देखिएको छ ।
अख्तियारले दुवै जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ र १७ बमोजिमको कसुरमा बिगो असुलउपर, कैद तथा जरिवाना मागदाबी गर्दै बुधबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।