भदौ १० गते लाङटाङ लिरूङ क्षेत्रमा गएको विनाशकारी हिमपहिरोपछि चीनले उपलब्ध गराउँदै आएको स्याटलाइट तस्बिर तथा तथ्यांकले उक्त क्षेत्रमा अझै केही हिमनदी र चट्टानी भाग बाँकी रहेको देखाएको छ ।
जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका उपकार्यकारी निर्देशक विक्रम श्रेष्ठ जुवाका अनुसार चिनियाँ पक्षबाट पछिल्लो समय प्राप्त स्याटलाइट विवरणले हिमपहिरो गएको स्थानमा केही भाग अझै झुन्डिएको अवस्थामा रहेको देखाएको हो।
तर बाँकी भागको आकार कति छ र कहिले खस्न सक्छ भन्ने यकिन भइसकेको छैन। त्यसैले यसै आधारमा तत्काल अर्को ठूलो हिमपहिरो जाने निष्कर्ष निकाल्न नसकिने श्रेष्ठको भनाइ छ।
उनका अनुसार भदौ १० गते ठूलो परिमाणमा हिमनदी र त्यससँगै चट्टानी पहाड खसे पनि केही हिस्सा बाँकी रहेको देखिन्छ। करिब ८० प्रतिशत भाग खसेर २० प्रतिशत बाँकी हुनसक्ने प्रारम्भिक अनुमान रहे पनि यो वैज्ञानिक रूपमा प्रमाणित तथ्यांक भने होइन।
चिनियाँ एकेडेमी अफ साइन्सेसअन्तर्गतको इन्स्टिच्युट अफ टिबेटन प्लेटू रिसर्चले गरेको अध्ययनअनुसार भदौ १० गते खसेको बरफ र चट्टानको हिस्सा करिब ९८० मिटर चौडा र ७८० मिटर लामो थियो। यसको क्षेत्रफल करिब ०.७६ वर्गकिलोमिटर र परिमाण ७ करोड घनमिटरभन्दा बढी रहेको अध्ययनले देखाएको छ।
अध्ययनले हिमपहिरो जानुअघि पनि उक्त क्षेत्रमा असामान्य भौगोलिक गतिविधि देखिएको उल्लेख गरेको छ। अगस्ट १२ देखि २४ सम्म चट्टानी भाग दैनिक करिब ०.४ मिटरका दरले सरेको स्याटलाइट विश्लेषणबाट देखिएको थियो।
यद्यपि उक्त विश्लेषण घटनापछि गरिएको भएकाले त्यसैका आधारमा हिमपहिरोको मिति वा समय पूर्वानुमान गरिएको भन्न नमिल्ने वैज्ञानिकहरूको भनाइ छ।
०.१९ वर्गकिलोमिटरको ताल देखियो
चिनियाँ स्याटलाइटबाट प्राप्त विवरणले लाङटाङ लिरूङ क्षेत्रमा अर्को महत्वपूर्ण अवस्था पनि देखाएको छ। हिमपहिरो गएको स्थानमा यसअघि बरफले ढाकिएको एउटा ताल अहिले पुनः स्पष्ट रूपमा देखिन थालेको हो ।
उक्त तालको क्षेत्रफल करिब ०.१९ वर्गकिलोमिटर रहेको श्रेष्ठले बताएका छन्। यो क्षेत्रफल करिब २७ वटा अन्तर्राष्ट्रिय फुटबल मैदान बराबर हुन्छ ।
श्रेष्ठका अनुसार अहिले तालको क्षेत्रफल मात्र यकिन भएको छ। तालको गहिराइ, पानीको मात्रा तथा पानी बाहिरिने अवस्था लगायतका विषयमा थप विस्तृत विवरण आवश्यक छ ।
पहिले बरफले ढाकिएको उक्त ताल भदौ १० को घटनापछि स्याटलाइट तस्बिरमा स्पष्ट देखिन थालेको हो। प्राविधिक रूपमा यसलाई ‘इन्ग्लेसियल लेक’ भनिन्छ ।
तालको पानी चट्टानका चिरामा प्रवेश गरिरहेको अवस्था भएमा त्यसले पहाडलाई थप अस्थिर बनाउन सक्ने भएकाले यसको नियमित अनुगमन आवश्यक रहेको श्रेष्ठ बताउँछन्।
नियमित स्याटलाइट निगरानी आवश्यक
भदौ १० गतेको घटनाले लाङटाङ लिरूङ क्षेत्रको भौगोलिक संरचनामा परिवर्तन ल्याएकाले बाँकी हिमनदी तथा चट्टानी भागको नियमित निगरानी आवश्यक देखिएको छ।
विशेषगरी बाँकी भागमा अहिले पनि भौगोलिक गतिविधि भइरहेको छ कि छैन, तालको आकार वा पानीको मात्रा परिवर्तन भइरहेको छ कि छैन भन्ने विषयमा निरन्तर स्याटलाइट अनुगमन गर्नुपर्ने विज्ञहरूको भनाइ छ।
हालसम्म उपलब्ध विवरणले जोखिमको सम्भावना देखाए पनि अर्को हिमपहिरो कहिले र कति ठूलो जान्छ भन्ने निश्चित जानकारी भने उपलब्ध छैन। त्यसैले थप स्याटलाइट विवरण, स्थलगत अध्ययन र जोखिम मूल्यांकन आवश्यक रहेको बताइएको छ।