०१. मधेशका विकास आयोजनाको अनुगमन गर्न संसदीय उपसमिति गठन
मधेश प्रदेशमा सञ्चालित पूर्वाधार विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइसम्बन्धी आयोजनाको अनुगमन तथा मूल्यांकन गर्न प्रतिनिधिसभाको पूर्वाधार विकास समितिअन्तर्गत मधेश प्रदेश उपसमिति गठन गरिएको छ।
उपसमितिमा सांसद तपेश्वर यादव, डा. मो. फिरदोश आलम, यशोदा कुमारी, राजकिशोर महतो कोइरी र रामाकान्त प्रसाद चौरसिया सदस्य छन्। उपसमितिले विभिन्न आयोजना तथा सरकारी निकायको कामकारबाही, व्यवस्थापन र कार्यसम्पादनको अध्ययन गर्नेछ।
आयोजना स्थलको अनुगमन, कागजात तथा सम्झौताको अध्ययन र सरोकारवालासँग छलफल गरी आवश्यक सिफारिससहित समितिलाई प्रतिवेदन बुझाउने जिम्मेवारी उपसमितिलाई दिइएको छ। यसको कार्यावधि २०८३ साल माघ मसान्तसम्म तोकिएको छ।
०२. भ्रष्टाचार मुद्दामा सर्वोच्चबाट पनि राहत नपाएपछि फतुवा विजयपुरमा राजनीतिक गतिरोध
फतुवा विजयपुर नगरपालिकाका निलम्बित मेयर गोपाल राय यादवलाई भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतबाट समेत राहत नमिलेपछि नगरपालिकाको राजनीतिक गतिरोध थप चासोको विषय बनेको छ।
लालबकैया नदीको ढुंगा, गिट्टी तथा बालुवा ठेक्का प्रकरणमा विशेष अदालतले सुनाएको तीन वर्ष कैद र १५ लाख रुपैयाँ जरिवानाविरुद्ध यादवले दिएको पुनरावेदनमा सर्वोच्च अदालतले सोमबार ‘पुनरावेदन जिकिर नपुगेको’ आदेश दिएको हो।
यसअघि गणपूरक संख्या नपुगेपछि नगरसभा स्थगित भएको थियो। ६० सदस्यीय नगरसभामा ३१ जना आवश्यक भए पनि करिब २५ जना मात्र उपस्थित भएका थिए।
०३. धनुषाको भेनियर उद्योगबाट ६७५ क्युफिट सिमलको काठ बरामद
मिथिला नगरपालिका–२ स्थित कमला भेनियर उद्योगबाट ६ सय ७५ क्युफिट सिमलको काठ बरामद भएको छ।
डिभिजन वन कार्यालय धनुषाले सोमबार साँझ विशेष सूचनाका आधारमा उद्योगमा छापा मारेर ७८ थान काठ नियन्त्रणमा लिएको हो। डिभिजनल वन अधिकृत विनोद सिंहका अनुसार काठको स्रोत तथा आयातसम्बन्धी आवश्यक कागजात तत्काल प्रस्तुत गर्न नसकेपछि काठ नियन्त्रणमा लिइएको हो।
बरामद काठको वैध स्रोत, आपूर्तिकर्ता र आवश्यक अनुमति भए–नभएको विषयमा वन कार्यालयले थप अनुसन्धान गरिरहेको जनाएको छ।
०४. सिरहाका सीमा क्षेत्रबाट १३ लाखभन्दा बढीको अवैध सामान बरामद
सिरहाका विभिन्न सीमा क्षेत्रबाट १३ लाख ३५ हजार २५१ रुपैयाँ बराबरको अवैध सामान बरामद भएको छ।
सशस्त्र प्रहरीका अनुसार नेपालबाट भारततर्फ लैजाँदै गरिएको तथा भारतबाट नेपालतर्फ ल्याउँदै गरिएको अवस्थामा सामान बरामद गरिएको हो। बरामद सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी सिरहा भन्सार कार्यालयमा दाखिला गरिएको छ।
बरामद सामानमा लत्ताकपडा, मोटरसाइकल, किराना तथा कस्मेटिक सामग्री, सुर्तीजन्य पदार्थ, जुत्ता, खेलौना, हार्डवेयर, पेय पदार्थ, मदिरा र इन्धनलगायत छन्।
०५. वीरगंजमा विश्वविद्यालयका लागि संकलित २ करोडभन्दा बढी रकममाथि सीआईबीको अनुसन्धान
दुई दशकअघि वीरगंजमा विश्वविद्यालय स्थापना गर्ने उद्देश्यले संकलन गरिएको २ करोड रुपैयाँभन्दा बढी रकमको उपयोगबारे अनुसन्धान भइरहेको छ।
विश्वविद्यालय स्थापनाका लागि कुमारी बैंकमा राखिएको रकम तत्कालीन हरिखेतान क्याम्पस प्रमुख भगवानप्रसाद यादवले चेकमार्फत निकालेको विषयमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरिरहेको हो।
सीआईबीले फाइल जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएपछि बैंकबाट आवश्यक विवरण माग गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। विश्वविद्यालय स्थापना हुन नसकेको र संकलित रकमसमेत अनुसन्धानको विषय बनेपछि अभियानमा सहयोग गरेका शिक्षक–कर्मचारी तथा अन्य सहयोगकर्ता निराश बनेका छन्।
०६. पथलैयामा अचेत अवस्थामा भेटिएका पुरुषको उपचारका क्रममा मृत्यु
जीतपुरसिमरा उपमहानगरपालिका–१ पथलैयामा अचेत अवस्थामा फेला परेका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा पथलैया निवासी जनकबहादुर थापाका करिब ५४ वर्षीय छोरा राम थापा रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
प्रहरीका अनुसार सोमबार साँझ करिब ६ बजे घरबाट करिब १ सय मिटर पूर्वतर्फ थापा अचेत अवस्थामा फेला परेका थिए। प्रहरीले उद्धार गरी उपचारका लागि सिमरा नगर अस्पताल पुर्याएको थियो। उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
मृत्युको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
०७. बारामा एक महिनामै १४४ अपराधका मुद्दा, सुरक्षा अवस्थामाथि प्रश्न
बारामा पछिल्लो एक महिनामा हत्या, बलात्कार, अपहरण, बालबालिका बेपत्ता तथा रहस्यमय मृत्युका घटना बढेसँगै जिल्लाको सुरक्षा अवस्थामाथि प्रश्न उठेको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार भदौ महिनामा विभिन्न प्रकृतिका १४४ वटा अपराधसम्बन्धी मुद्दा दर्ता भएका छन्। यस्तै, ८४ वटा सवारी दुर्घटनामा १२ जनाको मृत्यु र १२२ जना घाइते भएका छन्।
बालिका बलात्कारपछि हत्या, बालक अपहरणपछि हत्या तथा चक्कु प्रहारबाट मृत्युजस्ता घटनाले नागरिकमा सुरक्षा चिन्ता बढाएको छ। बारा उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार गुप्ताले अपराध तथा दुर्घटना न्यूनीकरणका लागि प्रहरी, प्रशासन र सरोकारवाला निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताएका छन्।
०८. हरिपुर्वामा भरतपुर आँखा अस्पतालको विशेषज्ञ सेवा सुरु
हरिपुर्वा नगरपालिका–२ स्थित नगर अस्पतालबाट भरतपुर आँखा अस्पतालको विशेषज्ञ सेवा सुरु भएको छ।
हीरालाल सन्तुदेवी प्रधान नेत्र विज्ञान अध्ययन संस्थानसँगको समन्वयमा सेवा विस्तार गरिएको हो। सेवा सुरु भएसँगै स्थानीयले आँखासम्बन्धी विशेषज्ञ उपचारका लागि जनकपुर र भरतपुरसम्म धाउनुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ।
नगर स्वास्थ्य शाखाका अनुसार सेवा नियमित सञ्चालन गरिनेछ। नगरप्रमुख विनोदकुमार साह तेलीले आवश्यक औषधि तथा उपकरणको व्यवस्था गरिएको जानकारी दिँदै आवश्यकताअनुसार मोतियाबिन्दुलगायतका उपचारका लागि निःशुल्क शिविरसमेत सञ्चालन गरिने बताए।
०९. अतिक्रमण र जलवायु परिवर्तनले सर्लाहीका पानीका स्रोत सुक्दै
जलवायु परिवर्तन र बढ्दो अतिक्रमणका कारण सर्लाहीका प्राकृतिक पानीका स्रोत सुक्दै गएका छन्।
बागमती नगरपालिका–९ बाट सुरु हुने सोती खोलाको मुहान क्षेत्रमा अतिक्रमण बढेपछि पानीको सतह घट्दै गएको स्थानीयले बताएका छन्। एक दशकअघि करिब १६ बिघामा फैलिएको सिमसार क्षेत्र अहिले अतिक्रमणमा परेको स्थानीयको भनाइ छ।
सिमसार क्षेत्र प्रभावित भएपछि सोती खोलाको बहावमा समेत कमी आएको छ। खोलामा पानी घट्दा सिँचाइ प्रभावित भएपछि किसान डिप बोरिङको भर पर्न थालेका छन्। यसबाट माछा, घुँगीलगायत जलचर तथा जैविक विविधतामा समेत असर परेको स्थानीय बताउँछन्।
१०. रौतहटमा ७ करोड लगानीमा पर्यापर्यटन पार्क निर्माण, आकर्षण बढ्दै
चन्द्रपुर नगरपालिका–३ गैंडाटारस्थित तिलेश्वरनाथ सामुदायिक वनमा निर्माणाधीन पर्यापर्यटन पार्क आकर्षणको केन्द्र बन्दै गएको छ।
करिब पाँच हेक्टर क्षेत्रफलमा फैलिएको पार्कमा पिकनिकस्थल, मन्दिर, स्विमिङ पुल, स्टेज र वन्यजन्तु उद्धार गृह निर्माण भइसकेका छन्। उद्धार गृहमा हरिण, मयूर, अजिङ्गर, खरायोलगायत वन्यजन्तु राखिएका छन्।
पार्क निर्माणका लागि हालसम्म ७ करोड रुपैयाँ विनियोजन भएको छ। गुरुयोजना पूरा गर्न करिब १६ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ। वर्षायामपछि बाँकी निर्माण कार्य अघि बढाइने सामुदायिक वन समूहले जनाएको छ।