मधेस प्रदेश कृषि विकास निर्देशनालयले आँपको रुखमा ‘मधुवा रोग’ लागेका कारण यस वर्ष उत्पादनमा गिरावट आउने अनुमान गरेको छ ।
निर्देशनालयका अनुसार समयमा वर्षा नहुनु र हावाहुरीका कारण पनि आँप उत्पादन प्रभावित हुने देखिएको हाे । यस वर्ष आँपका रुखमा मजर (फूल) अत्यधिक लागेको भए पनि रोगका कारण उत्पादनमा समस्या देखिएको जनकपुरस्थित मधेस प्रदेश कृषि विकास निर्देशनालयले जनाएकाे छ ।
निर्देशनालयका अधिकृत सन्दीप ठाकुरका अनुसार गत वर्षको तुलनामा यस वर्ष करिब ६० प्रतिशतभन्दा बढी उत्पादन हुने प्रारम्भिक अनुमान गरिए पनि रोगका कारण सो लक्ष्य पूरा नहुने अवस्था सिर्जना भएको छ ।
यस वर्ष मधेस प्रदेशमा करिब ३० हजार ८०० हेक्टर क्षेत्रफलमा आँप खेती गरिएको छ । मौसम अनुकूल रहेमा चार लाख मेट्रिक टनभन्दा बढी उत्पादन भई करिब ४० करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको थियो ।
प्रदेशका धनुषा, महोत्तरी, सिरहा र सप्तरी जिल्लाहरू आँप उत्पादनका दृष्टिले अग्रणी मानिन्छन् । मधेस प्रदेशले देशको कुल आँप उत्पादनको करिब ७६ प्रतिशत हिस्सा ओगट्ने गरेको छ।
गत आर्थिक वर्षमा ३० हजार ६०० हेक्टर क्षेत्रफलमा गरिएको आँप खेतीबाट तीन लाख ९५ हजार ९६२ मेट्रिक टन उत्पादन भएको थियो । मधेसमा मालदह, बम्बै, कलकत्तिया, आम्रपाली, दशहरी, नकुअवा, केरवा, विजु र सिपिया लगायतका जातका आँप खेती हुँदै आएको छ ।
यसैबीच प्लान्ट क्वारेन्टाइन कार्यालय भिट्ठामोडका प्रमुख किशोरकुमार यादवका अनुसार गत आवको फागुनदेखि चालु आवको कात्तिकसम्म भारतबाट भिट्ठामोड नाका हुँदै ३५९ मेट्रिक टन आँप आयात भएको छ, जसको मूल्य करिब दुई करोड १५ लाख रुपैयाँ बराबर रहेको छ ।
नेपालभर हाल करिब ५३ हजार हेक्टर क्षेत्रफलमा आँप खेती भइरहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकले देखाएको छ ।