नेपालमा स्याउ र केरामा विषादी (पेस्टिसाइड) अवशेष भेटिएको र त्यसले विशेषगरी बालबालिकामा स्वास्थ्य जोखिम बढाउने एक नयाँ अध्ययनले देखाएको छ ।
Food Control मा प्रकाशित अध्ययनअनुसार स्याउमा भेटिएको प्रोपार्जाइट विषादीले बालबालिकामा सबैभन्दा बढी स्वास्थ्य जोखिम सिर्जना गर्ने देखिएको हो ।
गोविन्द भण्डारीको नेतृत्वमा गरिएको अनुसन्धानमा नेपालका रुपन्देही, मुस्ताङ, काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाबाट स्याउ र केराका नमुना संकलन गरी परीक्षण गरिएको थियो । फार्मदेखि बजारसम्म विभिन्न स्रोतबाट नमुना संकलन गरिएको थियो ।
अनुसन्धानकर्ताहरूले ५१ प्रकारका विषादी परीक्षण गर्दा स्याउमा एकै नमुनामा ७ प्रकारसम्म विषादी अवशेष भेटिएको पाइएको छ । त्यसमध्ये टेबुकोनाजोल, डाइफेनोकोनाजोल, प्रोपार्जाइट र इमिडाक्लोप्रिड सबैभन्दा धेरै भेटिएका विषादी हुन् । स्याउका २४ प्रतिशत नमुनामा प्रोपार्जाइटको मात्रा अनुमति सीमा भन्दा बढी भेटिएको अध्ययनले जनाएको छ।
केरामा पनि जोखिम
केरामा पनि विषादी अवशेष भेटिएको छ। अध्ययनअनुसार फेनप्रोपाथ्रिनको मात्रा सबै केरा नमुनामा युरोपियन युनियनको सुरक्षित सीमा भन्दा बढी पाइएको छ । त्यस्तै मेटालाक्सिल र इमिडाक्लोप्रिड पनि सीमा भन्दा बढी भेटिएका छन्।
अध्ययनले किसानहरूबीच विषादी प्रयोग सम्बन्धी गम्भीर समस्या पनि देखाएको छ । २५ प्रतिशत किसानले विभिन्न विषादी मिसाएर ‘ककटेल’ बनाएर प्रयोग गर्ने, केही किसानले प्रतिबन्धित विषादीसमेत प्रयोग गर्ने र धेरै किसानले सुरक्षा उपायहरू नअपनाउने देखिएको छ ।
अनुसन्धानले किसानको विषादीबारे ज्ञान र सुरक्षा व्यवहारबीच सम्बन्ध रहेको पनि देखाएको छ । विषादीको जोखिमबारे जानकारी भएका किसानहरूले तुलनात्मक रूपमा सुरक्षित अभ्यास अपनाउने गरेका छन् ।
अध्ययनले बालबालिका र वयस्कमा विषादीको जोखिम मूल्याङ्कन गर्दा स्याउ खाने बालबालिकामा सबैभन्दा बढी जोखिम देखिएको निष्कर्ष निकालेको छ । फलफूल प्रायः काँचै खाने भएकाले विषादीको असर अझ बढी हुन सक्ने अनुसन्धानकर्ताहरूले बताएका छन् ।
नेपालमा विषादी प्रयोग बढ्दै गएको पनि अध्ययनले उल्लेख गरेको छ । किसानहरूले सिफारिसभन्दा बढी मात्रामा विषादी प्रयोग गर्ने र सुरक्षा उपाय नअपनाउने प्रवृत्ति देखिएको छ ।
अध्ययनले नेपालमा फलफूलमा विषादी अवशेष उपभोक्ता स्वास्थ्यका लागि गम्भीर चुनौती बन्न सक्ने देखाएको छ । विशेषगरी बालबालिकामा जोखिम बढी देखिएकाले खाद्य सुरक्षा अनुगमन कडा बनाउने, किसानलाई तालिम दिने तथा नियमित परीक्षण आवश्यक रहेको अनुसन्धानकर्ताहरूले सुझाव दिएका छन् ।