नेपालमा मात्र पाइने दुर्लभ रैथाने चरा काँडे भ्याकुर (स्पाइनी ब्याब्लर) पहिलोपटक मधेश प्रदेशमा भेटिएको छ ।
बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ स्थित दुधौरा खोलानजिक उक्त चरा अभिलेख गरिएको हो । यो अभिलेख मधेश प्रदेशका लागि पहिलो भएको चराविद् हठन चौधरीले जानकारी दिएका छन् । उक्त चरा चौधरीसहित सुरज बरालले फेला पारेका हुन् । अवलोकनका क्रममा वन विज्ञान अध्ययन संस्थान, हेटौंडा क्याम्पसमा स्नातक तहमा अध्ययनरत विद्यार्थी आशिष पन्त, सुमी सिंह ठकुरी र निश्चल पोखरेल पनि सहभागी थिए ।
चराविद् चौधरीका अनुसार सो स्थानमा चार वटा काँडे भ्याकुर भेटिएका थिए । अन्य प्रदेशका विभिन्न स्थानमा पहिले नै अभिलेख भए पनि मधेश प्रदेशमा भने यो पहिलो अभिलेख हो । यससँगै काँडे भ्याकुरको उपस्थिति नेपालका सातै प्रदेशमा रहेको पुष्टि भएको छ ।
उक्त चरा महेन्द्र राजमार्गको पूर्वतर्फ करिब ४४३ मिटर उचाइमा रहेको चुरे क्षेत्रको जंगलमा गत जेठ २१ गते बिहान ८:३० बजे भेटिएको हो । नमुना महिला सामुदायिक वन रहेको उक्त क्षेत्रमा घाँसेमैदान, खयर, सिसौ मिश्रित झाडी तथा बुट्यान पाइन्छ । अहिले नेपाल पक्षीविद् संघ र मिथिला वाइल्डलाइफ ट्रस्टले मधेश प्रदेशका आठै जिल्लामा चरा सर्वेक्षण कार्यक्रम सञ्चालन गरिरहेका छन् । सोही सर्वेक्षणका क्रममा काँडे भ्याकुर पनि भेटिएको हो । यसअघि मधेशमा जाडोयाममा माघ–फागुनतिर पहिलो चरणको चरा सर्वेक्षण गरिएको थियो भने दोस्रो चरणको सर्वेक्षण जेठ १८ गतेदेखि जारी छ ।
यसअघि कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा यसको उपस्थिति अभिलेख भइसकेको थियो । तर मधेश प्रदेशमा भने यसको प्रमाणित उपस्थिति पहिलोपटक भेटिएको हो ।
काँडे भ्याकुर नेपालमै मात्र पाइने रैथाने चरा हो, जुन पासेरिफोर्मिस वर्गको लियोथ्रिचिडी परिवारमा पर्छ । यो करिब २६ सेन्टिमिटर लामो, खैरो रङ र सेता धर्कासहितको आकर्षक चरा हो । यसको घुम्रिएको कालो ठुँड र कर्णप्रिय, चर्को सुसेली यसको विशेष पहिचान हो । यसले प्रायः उन्युँ वा खरघाँस भएको काँडे तथा खस्रा वन क्षेत्रमा गुँड बनाउने गर्दछ । सोही आवासीय विशेषताका कारण यसलाई काँडे भ्याकुर भनिएको हो ।
नेपालमा यसको पहिलो अभिलेख सन् १८३० मा बेलायती प्रकृतिविद् ब्रायन हडसनले काठमाडौं उपत्यकामा गरेका थिए । त्यसपछि यो चरा लामो समय हराएको मानिए पनि सन् १९४८/४९ तिर कर्णाली प्रदेशको रेक्चा गाउँमा पुनः भेटिएको थियो । त्यसपछि निरन्तर रूपमा यसको उपस्थिति विभिन्न स्थानमा अभिलेख हुँदै आएको वरिष्ठ चराविद् हेमसागर बरालले बताएका छन् ।