मधेस प्रदेशको राजधानी जनकपुरधाम ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले नेपालकै महत्त्वपूर्ण सहरमध्ये एक हो ।
हिन्दु धर्मावलम्बीहरूको आस्थाको केन्द्र माता सीताको जन्मभूमिका रूपमा विश्वभर परिचित यस सहरमा हरेक वर्ष हजारौँ स्वदेशी तथा विदेशी पर्यटक तथा श्रद्धालुहरू आउने गर्छन् । सहरको केन्द्रमा अवस्थित जानकी मन्दिर यहाँको प्रमुख आकर्षण हो । ‘५२ कुटी, ७२ कुण्ड’ को उपनामले परिचित जनकपुरधाममा दर्जनौँ मठ–मन्दिर, पोखरी तथा धार्मिक सम्पदाहरू रहेका छन् । तर जानकी मन्दिरबाट करिब पाँच सय मिटर पश्चिममा रहेको ऐतिहासिक बाह्रबिघा रंगभूमि मैदान भने अहिले फोहोर र अव्यवस्थाको चपेटामा परेको छ ।
मन्दिर दर्शनका लागि जाने मुख्य मार्गमै पर्ने यो मैदानको दुर्दशाले जनकपुरधामको सौन्दर्यमा नकारात्मक प्रभाव पारेको मात्र होइन, पर्यटकहरूलाई समेत निराश बनाउने गरेको छ । कुनै समय खेलकुद, सांस्कृतिक कार्यक्रम, राजनीतिक सभा तथा सार्वजनिक गतिविधिको केन्द्रका रूपमा परिचित बाह्रबिघा मैदान अहिले फोहोर फाल्ने डम्पिङ साइटमा परिणत भएको छ । मैदानको मुख्य प्रवेशद्वारमै फोहोरको थुप्रो देख्न सकिन्छ भने भित्र प्रवेश गर्नेबित्तिकै दुर्गन्धका कारण सर्वसाधारण र पर्यटकहरूलाई मास्कको आवश्यकता महसुस हुने अवस्था रहेको स्थानीयहरू बताउँछन् ।
मैदानभित्र दर्जनौँको सङ्ख्यामा गाई, भैंसी तथा बाख्रा चरिरहेका देखिन्छन् । मैदान वरपर रहेका केही निजी अस्पतालबाट निस्कने सङ्क्रमणयुक्त फोहोरसमेत यही क्षेत्रमा फालिने गरेको स्थानीयको गुनासो छ। वर्षायाममा अस्पतालजन्य फोहोर पानीमा तैरिरहेको दृश्यले जनस्वास्थ्यमा समेत जोखिम बढाएको छ ।
बाह्रबिघा छेउमै बसोबास गर्ने वडा नम्बर १० का स्थानीय राजु कर्णका अनुसार पञ्चायतकालमा समेत मैदान अहिलेको भन्दा व्यवस्थित र सफा थियो । उनका अनुसार प्रदेश सरकार र स्थानीय तह दुवै सशक्त बने पनि ऐतिहासिक सम्पदाको संरक्षणमा आवश्यक चासो दिइएको छैन । उनले बाह्रबिघाको संरक्षण र व्यवस्थापनमा जनकपुरधाम उपमहानगरपालिका तथा बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को भूमिका कमजोर रहेको आरोप लगाए । जनप्रतिनिधिहरूले दैनिक यही मार्ग प्रयोग गरे पनि संरक्षणमा ध्यान नदिएको उनको भनाइ छ ।
स्थानीय खेलकुदकर्मी रमेश मल्लिकले बाह्रबिघा मैदानले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गरेको स्मरण गर्दै अहिलेको अवस्था देख्दा दुःख लाग्ने बताए । उनका अनुसार मैदानको संरक्षण र पुनर्जीवनका लागि स्थानीय समुदाय नै अग्रसर हुनुपर्ने अवस्था सिर्जना भएको छ । दुर्गन्ध र फोहोरका कारण मैदान आसपासको सडक प्रयोग गर्ने सर्वसाधारण नाक थुनेर हिँड्न बाध्य छन् । विवाह पञ्चमी, सरसफाइ दिवस वा विशेष समारोहका बेला मात्रै सरसफाइ हुने र अन्य समयमा बेवास्ता गरिने प्रवृत्तिले समस्या झनै जटिल बनेको स्थानीय अमरेशकुमार सिंह बताउँछन् ।
स्थानीय सामाजिक अगुवा सरोज मिश्रका अनुसार बाह्रबिघाको स्वामित्व सम्बन्धी विवादले यसको विकास र संरक्षणमा अवरोध सिर्जना गरेको छ । गत वर्ष प्रदेश सरकारले संरक्षणका लागि बजेट विनियोजन गरे पनि सम्बन्धित निकायबीचको विवादका कारण काम अघि बढ्न नसकेको उनले बताए । एक दशकअघि भारतीय राजदूतावासको आर्थिक सहयोगमा बाह्रबिघा मैदानको पर्खाल तथा गंगासागर र धनुषसागर पोखरीको डिल निर्माण गरिएको थियो । तर निर्माण कार्य गुणस्तरहीन भएको आरोपमा तत्कालीन बृहत्तर क्षेत्र विकास समितिका अध्यक्ष दिगम्बर रायसहित १३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
हाल बाह्रबिघा मैदान भारत तथा विभिन्न जिल्लाबाट आउने पर्यटक बस, जिप तथा ई–रिक्साको पार्किङ स्थलका रूपमा प्रयोग भइरहेको छ । मैदानको मुख्यद्वारमै फलफूल, कपडा लगायतका सामग्रीको व्यापार हुने गरेको छ । भारतको उत्तर प्रदेशबाट जानकी मन्दिर दर्शनका लागि आएका रामउदार साहले बाह्रबिघाको अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै धार्मिक तथा पर्यटकीय स्थल अझ व्यवस्थित र सफा हुनुपर्ने बताए।
स्थानीयवासीका अनुसार राजधानीको पहिचान केवल प्रशासनिक केन्द्रका रूपमा मात्र नभई सार्वजनिक स्थलको संरक्षण, स्वच्छ वातावरण, पूर्वाधार विकास र सम्पदाको व्यवस्थापनबाट निर्धारण हुने भएकाले बाह्रबिघा मैदानको संरक्षण, सौन्दर्यीकरण तथा व्यवस्थापनमा सबै सरोकारवाला निकाय एकजुट हुन आवश्यक छ ।