नेपालको एक मात्र जनकपुर–जयनगर रेल सेवा सञ्चालन गरिरहेको नेपाल रेलवे कम्पनी गम्भीर आर्थिक संकटमा परेको छ ।
कम्पनीको आम्दानीभन्दा खर्च साढे तीन गुणाभन्दा बढी रहेको तथ्यांकले देखाएको छ । कम्पनीको खर्च बढ्नुमा कर्मचारीको तलब तथा सेवा–सुविधा, रेलको मर्मतसम्भार, इन्धन र सरसफाइमा हुने खर्च मुख्य कारण देखिएको छ । आर्थिक संकट झेलिरहेको कम्पनीमा टिकट बिक्रीमै अनियमितता हुने गरेकोसमेत खुलेको छ ।
आम्दानीले खर्च धान्न नसकेपछि सरकारको जमानीमा ५ प्रतिशत ब्याजदरमा ऋण लिँदै आएको नेपाल रेलवे कम्पनीमाथि २०८१ असार मसान्तसम्म साँवा र ब्याजसहित ७९ करोड ४ लाख २६ हजार रुपैयाँभन्दा बढी ऋण रहेको छ । भारतबाट एक अर्ब रुपैयाँभन्दा बढी लागतमा खरिद गरिएको डेमो रेल सञ्चालनमा आएको पाँच वर्ष बितिसकेको छ । कम्पनीले उपलब्ध गराएको तथ्यांकअनुसार पछिल्ला तीन वर्षमा कुल १८ करोड ४२ लाख रुपैयाँ आम्दानी हुँदा ६४ करोड २६ लाख रुपैयाँ खर्च भएको छ । यस अवधिमा कम्पनीले ४५ करोड ८४ लाख रुपैयाँ घाटा व्यहोरेको छ ।
पहिलो वर्ष कम्पनीको आम्दानी २ करोड ५४ लाख रुपैयाँ र खर्च ११ करोड रुपैयाँ थियो। दोस्रो वर्ष ७ करोड ३८ लाख रुपैयाँ आम्दानी हुँदा २६ करोड ९९ लाख रुपैयाँ खर्च भयो। तेस्रो वर्ष आम्दानी ८ करोड ५० लाख रुपैयाँ पुगे पनि खर्च २६ करोड २७ लाख रुपैयाँ भएको थियो । यसअनुसार कम्पनीको मासिक औसत आम्दानी करिब ५१ लाख ५६ हजार रुपैयाँ छ भने औसत मासिक खर्च १ करोड ७८ लाख रुपैयाँभन्दा बढी रहेको छ ।
टिकट बिक्री, वीरगंजस्थित जग्गा तथा गोदाम, सटर भाडा र हाटबजारको ठेक्का नेपाल रेलवे कम्पनीका प्रमुख आम्दानीका स्रोत हुन् । हाल जयनगर–जनकपुर–भङ्गाहासम्म सञ्चालन भइरहेको रेलमा दैनिक करिब ४ हजार यात्रुले यात्रा गर्ने गरेका छन् । यात्रुको चाप भए पनि कम्पनीले वार्षिक करिब १५ करोड २८ लाख रुपैयाँ घाटा व्यहोर्दै आएको जनाएको छ । रेल सञ्चालनमा भारतीय कर्मचारीको तलब तथा सेवा–सुविधा, रेलको मर्मतसम्भार, इन्धन र सरसफाइमा ठूलो रकम खर्च हुने गरेको छ ।
सुरुका दिनमा रेल सञ्चालनका लागि भारतबाट २६ जना जनशक्ति ल्याइएको थियो। हाल रेल चालक, स्टेसन मास्टर, प्राविधिकलगायत २३ जना भारतीय कर्मचारी कार्यरत छन्। कर्मचारीको तलबभत्ता, रेलको सरसफाइ तथा मर्मतसम्भारका लागि नेपाल रेलवेले भारतीय कोंकण कम्पनीलाई वार्षिक करिब २० करोड रुपैयाँ भुक्तानी गर्दै आएको छ ।
जबकि प्रबन्ध सञ्चालकसहित नेपाल रेलवे कम्पनीका १४८ जना नेपाली कर्मचारीको वार्षिक तलबमा करिब ५ करोड रुपैयाँ खर्च हुने गरेको छ। भारतीय कर्मचारीको संख्या घटाउने तथा नेपाली जनशक्तिलाई प्राथमिकता दिने रणनीति कम्पनीले प्रभावकारी रूपमा अघि बढाउन सकेको छैन।
टिकट बिक्रीमा अनियमितता
अर्कोतर्फ, टिकट बिक्रीबाट हुने आम्दानीमा पछिल्लो समय केही सुधार आएको छ । यसअघि दैनिक करिब १ लाख ५० हजार रुपैयाँ आम्दानी हुने गरेकोमा पछिल्ला तीन महिनायता दैनिक आम्दानी करिब २ लाख ५० हजार रुपैयाँ पुगेको कम्पनीले जनाएको छ । तीन महिनाअघि नियुक्त भएका प्रबन्ध सञ्चालकले टिकट बिक्रीमा निगरानी बढाएपछि आम्दानीमा वृद्धि भएको कम्पनीको दाबी छ ।
टिकट बिक्रीमा अनियमितता गरेको फेला परेपछि टिकट काउन्टरमा कार्यरत दुई कर्मचारीलाई बर्खास्त गरिएको छ । हालको वार्षिक खर्चलाई धान्न रेलवे कम्पनीको मासिक आम्दानी कम्तीमा २ करोड २५ लाख रुपैयाँभन्दा बढी हुनुपर्ने देखिन्छ। घाटा न्यूनीकरणका लागि यात्रुवाहक रेलसँगै मालवाहक अर्थात् कार्गो रेल सञ्चालन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
कार्गो रेल सञ्चालन गर्न सके उद्योगी तथा व्यवसायीले भारतबाट औद्योगिक कच्चा पदार्थ, कोइला, खाद्यान्नलगायतका सामग्री आयात गर्दा ढुवानी खर्च घट्ने र त्यसबाट नेपाल रेलवे कम्पनीको आम्दानीसमेत बढ्न सक्ने उनीहरूको तर्क छ ।
सम्पत्तिको सदुपयोगमा जोड
रेलवे कम्पनीको घाटा कम गर्न भारतीय कर्मचारीको स्थानमा नेपाली जनशक्ति भर्ना गर्ने, कम्पनीको स्वामित्वमा रहेका पोखरीलाई मत्स्यपालनका लागि ठेक्कामा दिने, सटर तथा अन्य सम्पत्तिलाई व्यवस्थित रूपमा भाडामा लगाउने र रेल तथा रेलवे संरचनामा विज्ञापनका लागि सरकारी तथा निजी क्षेत्रलाई आकर्षित गर्नुपर्ने देखिन्छ ।
नेपालमा रेल सेवा विक्रम संवत् १९९४ सालमा सुरु भएको थियो । ब्रोडगेज विस्तारका लागि २०७० सालमा रेल सेवा बन्द गरिएको थियो । रेलको लिक, पुलपुलेसा लगायतका संरचनाको स्तरोन्नति गर्न करिब आठ वर्ष लागेपछि २०७८ चैत २० गतेदेखि रेल सेवा पुनः सञ्चालनमा आएको हो ।
हाल जनकपुर–जयनगर रेल सेवा करिब ५२ किलोमिटर दूरीमा सञ्चालन भइरहेको छ । तर, यात्रुको उल्लेख्य चाप हुँदाहुँदै पनि सञ्चालन खर्च उच्च र आम्दानी न्यून हुँदा नेपाल रेलवे कम्पनी निरन्तर घाटामा रहँदै आएको छ ।