ऐतिहासिक तथा धार्मिक नगरी जनकपुरधाममा गुठीको जग्गा क्रमशः निजी स्वामित्वमा हस्तान्तरण हुँदै गएको र पुरातात्त्विक तथा धार्मिक महत्त्व बोकेका पोखरीहरू अतिक्रमणको चपेटामा परेको तथ्य सार्वजनिक भएको छ ।
गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन तथा गुठी संस्थानको विवरणअनुसार जनकपुरधाममा ठूलो परिमाणमा गुठी जग्गा रैतानी प्रक्रियाबाट निजी व्यक्तिको नाममा दर्ता भएको देखिन्छ । उपलब्ध विवरणअनुसार २०४३ सालदेखि २०६३/६४ सालसम्म मात्रै १२४ बिघा १५ कठ्ठा १७ धुर गुठी जग्गा रैतान नम्बरीमा परिणत भएको छ। यसले धार्मिक तथा सांस्कृतिक सम्पदासँग जोडिएको गुठी जग्गा निरन्तर खुम्चिँदै गएको देखाउँछ।
गुठी संस्थान शाखा कार्यालय जनकपुरका अनुसार हाल संस्थानसँग १० हजार ७८८ बिघा १० कठ्ठा १ कनिमा जग्गा रहेको छ। त्यसमध्ये गुठीको पूर्ण स्वामित्वमा रहेको तैनाथी जग्गा ९०९ बिघा १५ कठ्ठा १७ धुर रहेको छ भने गुठी अधीनस्थ तथा रैतान नम्बरी जग्गासमेत संस्थानको अभिलेखमा रहेको छ।
दुई दर्जनभन्दा बढी पोखरी संकटमा
‘५२ कुटी र ७२ कुण्ड’को सहरका रूपमा चिनिने जनकपुरधामका ऐतिहासिक पोखरी तथा कुण्डहरूको अवस्था पनि चिन्ताजनक रहेको प्रतिवेदनले औँल्याएको छ । पुराना अभिलेखमा जनकपुरधाममा ७२ तलाउ, १५ कुवा, १५ शिवालय, २४ देवीपीठ, पाँच उपवन र २६ ऋषि आश्रम रहेको उल्लेख छ। तर पछिल्लो समय तीमध्ये धेरै धार्मिक तथा सांस्कृतिक सम्पदा अतिक्रमण, संरक्षणको अभाव र अव्यवस्थित निर्माणका कारण संकटमा परेका छन्।
गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनसम्बन्धी उच्चस्तरीय कार्यदलको २०६२ सालको प्रतिवेदनले जनकपुरका ऐतिहासिक पोखरीहरूको अवस्था अत्यन्त कमजोर रहेको उल्लेख गरेको थियो। प्रतिवेदनमा कतिपय पौराणिक तथा धार्मिक महत्त्वका पोखरीले आफ्नो अस्तित्व गुमाइसकेको र केही लोप हुने अवस्थामा पुगेको उल्लेख छ।
पयश्विनी सर, जनक सरोवर, अमृत कुण्ड, बलदेवसर र गोपालसरलगायतका ऐतिहासिक जलाशयको अस्तित्व संकटमा परेको बताइएको छ। कतिपय पोखरीको जमिनमा बस्ती तथा व्यावसायिक संरचना निर्माण भएका छन्।
नक्साबाटै हराए पाँच पोखरी
उच्चस्तरीय कार्यदलको प्रतिवेदनअनुसार जनकपुरधामका पाँच महत्त्वपूर्ण पौराणिक पोखरी नक्साबाटै हराइसकेका छन्। ती पोखरी रहेको स्थानमा अहिले पक्की भवन तथा बस्ती निर्माण भइसकेका छन् । प्रतिवेदनमा उल्लेख गरिएका पूर्णरूपमा लोप भएका पोखरीमध्ये जनक सरोवर वडा नम्बर १ को वकिल टोल क्षेत्रमा रहेको बताइएको छ। ऐतिहासिक प्रमाणका आधारमा यसको स्थान पहिचान भए पनि पोखरीको मूल स्वरूप भने समाप्त भइसकेको छ।
त्यस्तै, जनकपुर प्रादेशिक अस्पतालको दक्षिणतर्फ रहेको अमृत कुण्डसमेत लोप भइसकेको प्रतिवेदनमा उल्लेख छ। उक्त स्थानमा अहिले बाक्लो बस्ती रहेको बताइएको छ । वडा नम्बर ३ मा रहेको पयश्विनी सर पनि अस्तित्वमा नरहेको प्रतिवेदनले जनाएको छ। जानकी मातासँग धार्मिक रूपमा जोडिएको उक्त पोखरी रहेको स्थानमा अहिले संरचना निर्माण भएको उल्लेख गरिएको छ।
जनकपुरधामका ऐतिहासिक कुटी, मन्दिर, पोखरी तथा गुठी जग्गाको संरक्षणका लागि तत्काल प्रभावकारी कदम चाल्नुपर्ने सरोकारवालाहरूको जोड छ। सम्पदाको अभिलेख संरक्षणसँगै अतिक्रमित जग्गा तथा लोपोन्मुख पोखरीको पहिचान र संरक्षणलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता देखिएको