पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य सुशील कुमार कानुले पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल सँग भेटघाट गरी जिल्लाको शान्ति सुरक्षा, स्वास्थ्य सेवा व्यवस्थापन तथा विपद् तयारी लगायत समसामयिक विषयमा विस्तृत छलफल गरेका छन् ।
छलफलका क्रममा सांसद कानुले विशेषगरी वीरगंजस्थित नारायणी अस्पतालमा देखिएका बेथिति र विकृतिप्रति ध्यानाकर्षण गराएका थिए । उनले अस्पताल परिसरमा दलाल तथा बिचौलियाको सक्रियता बढ्दै गएको, विभिन्न प्रकारका अप्रेसनका नाममा बिरामीलाई कमिसन लिएर निजी अस्पतालमा रेफर गर्ने प्रवृत्ति मौलाउँदै गएकोप्रति चिन्ता व्यक्त गरेका छन् । यसका साथै, केही निजी अस्पतालले एम्बुलेन्स चालक मार्फत बिरामीलाई प्रभावित पार्ने र दलाली मार्फत रेफर गर्ने गतिविधि भइरहेको उल्लेख गर्दै यस्ता गैरकानुनी कार्य तत्काल रोक्न प्रशासनलाई कडा कदम चाल्न आग्रह गरेका हुन् ।
“सरकारी अस्पतालमा चिकित्सक समयमा नआउने, पूरा ड्युटी अवधिभर नबस्ने जस्ता गतिविधिले सेवाग्राही प्रत्यक्ष मारमा परेका छन्,” सांसद कानुले भने, “यसलाई नियन्त्रण गर्न नियमित अनुगमन र कडाइ आवश्यक छ ।”
त्यसैगरी, धार्मिक तथा सांस्कृतिक संवेदनशीलतासँग जोडिएको विषय उठाउँदै उनले छठ पर्वका बेला छठघाट वरपर माछा मासु बिक्री भइरहेको प्रति आपत्ति जनाउदैँ । उनले धार्मिक आस्था र सामाजिक सद्भावलाई सम्मान गर्दै हरेक वर्ष छठ पर्वका बेला यस्ता गतिविधि तत्काल बन्द गराउन माग गरेका छन् ।
छलफलका क्रमममा गर्मी मौसमसँगै बढ्ने आगलागी लगायतका विपद् व्यवस्थापनका तयारीबारे पनि कुराकानी गरेका हुन् । उनले सम्भावित विपद्लाई मध्यनजर गर्दै दमकल, पानीको स्रोत, उद्धार टोली र आवश्यक उपकरणको पर्याप्त व्यवस्थापन गर्नुपर्ने, साथै जोखिमयुक्त बस्ती र औद्योगिक क्षेत्रमा पूर्वतयारी सुदृढ गर्नुपर्नेमा जोड दिएका थिए ।
सांसद कानुले जिल्लामा देखिएका साझा समस्या समाधानका लागि प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिबीच निरन्तर समन्वय र एकीकृत छलफल आवश्यक रहेको धारणा राखेका थिए । उनले नियमित समन्वय बैठकमार्फत समस्याको पहिचान र समाधानलाई प्रभावकारी बनाउदैँ लैजाने अाफ्नाे याेजना रहेको बताए ।
भेटघाटका क्रममा प्रमुख जिल्ला अधिकारीले उठाइएका विषयप्रति सकारात्मक धारणा व्यक्त गर्दै आवश्यक अनुगमन, समन्वय र कारबाही अगाडि बढाइने प्रतिबद्धता जनाएका थिए ।
उक्त छलफल कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधिर पटेल, मुर्लि जलान, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति फैयाज मिया, प्रकाश साह लगायतको उपस्थिति रहेको थियो ।