वीरगंजकाे मितेरी पुल क्षेत्रमा बृहत् वृक्षरोपण, सरसफाइ तथा रोपिएका बिरुवाहरूको निरीक्षण कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रम वीरगंज महानगरपालिका, ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र, सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर तथा सशस्त्र प्रहरी बल नेपालको संयुक्त आयोजनामा सम्पन्न भएको हो ।
कार्यक्रम प्रकाश खेतानको अध्यक्षतामा सम्पन्न भएको थियो । वातावरण संरक्षण तथा शहरको सौन्दर्य अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा विभिन्न निकायका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि राजु कार्की (प्रहरी नायब उपरीक्षक, जिल्ला प्रहरी कार्यालय पर्सा) रहेका थिए भने विशिष्ट अतिथिमा विकास अधिकारी (डीएसपी, सशस्त्र प्रहरी भन्सार गुल्म) सहभागी भएका थिए ।
यसैगरी अतिथिहरूमा डा. किरन पौडेल, युवराज कटुवाल (ट्राफिक प्रहरी प्रमुख, वीरगञ्ज), सचिन, निर्मला शर्मा, सुमित्रा नेपाल, कविता यादव (आफन्त नेपाल), नगर प्रहरी नायब निरीक्षक लालप्रसाद लुइटेल तथा सशस्त्र प्रहरी नायब निरीक्षक अनिलकुमार ठाकुरलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमअन्तर्गत मितेरी पुल आसपास क्षेत्रमा वृक्षरोपण गर्नुका साथै सरसफाइ अभियान सञ्चालन गरिएको थियो। साथै रोपिएका बिरुवाहरूको अवस्थाबारे निरीक्षण गरी तिनको संरक्षण र नियमित हेरचाहमा जोड दिइएको आयोजकले जनाएको छ ।
स्थानीय समुदाय, प्रहरी तथा विभिन्न संघ–संस्थाको संयुक्त पहलमा सञ्चालन गरिएको यस अभियानले वातावरण संरक्षणमा सकारात्मक सन्देश दिएको र आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको छ ।