झण्डै ३० वर्षसम्म थन्किएर बसेको वीरगञ्जस्थित कृषि औजार कारखाना पुनः सञ्चालनमा आएसँगै विभिन्न १४ प्रकारका हाते औजार र मेसिनहरूको अनुसन्धान र विकास सुरु गरिएको छ ।
नेपालमा कृषि क्षेत्रलाई आवश्यक पर्ने उपकरण स्वदेशमै उत्पादन गर्ने उद्देश्यले तत्कालीन सोभियत सङ्घको आर्थिक र प्राविधिक सहयोगमा कारखाना २०२४ साल फागुन २८ गतेदेखि सञ्चालनमा आएको थियो । सुरुवाती चरणमा कारखानाले उत्पादन गरेका औजारहरू विदेश निर्यात समेत हुने गरेका थिए । तर व्यवस्थापकीय कमजोरीका कारण २०५९ सालसम्म आइपुग्दा कारखाना बन्द हुन पुगेको थियो ।
२०७९ असोज ११ गते नेपाल सरकारले यो कारखाना सञ्चालनको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई दिएपछि पुराना ७०–८० प्रतिशत मेसिन मर्मत गरी पुनः उत्पादन सुरु गरिएको छ । हाल कारखानामा पुराना मेसिनसँगै नयाँ सीएनसी मेसिन जडान गरेर उत्पादनलाई तीव्रता दिइएको प्रमुख मेकानिकल इन्जिनियर तथा कृषि औजार कारखानाका प्रमुख रितेश देवले जानकारी दिए ।
उनका अनुसार कारखानाले हालसम्म धान रोप्ने मेसिन, हाते ट्याक्टरको हुईल, माछाको भुरा उत्पादन गर्ने इनक्युभेटर, अक्सिजन टावर, पराल काट्ने, धान काट्ने (रिपर), दाना बनाउने, घाँस खुर्कने, ड्याङ बनाउने, खाल्डो खन्ने हाते औजार, आलु रोप्ने, आलु गोड्ने, साना ट्रयाक्टरमा राख्ने कल्टिभेटर, हाते प्रेस मेसिन, प्लास्टिक ओछ्याउने, केराको फाइबर निकाल्ने, गोबर पेल्ने, कोदो रोप्ने मेसिन, चाँप कटर, बञ्चरो, खुँडा, साना कुटो–कोदाली र अन्य घरायसी प्रयोजनका औजार उत्पादन गरी बिक्री वितरण गरेको छ ।
आर्थिक वर्ष २०८१/८२ मा कारखानाले उत्पादित औजार र मेसिन बिक्री गरेर करिब १७ लाख आम्दानी गरेको छ । हाल ३६ जना कर्मचारी कार्यरत रहेको कारखानामा ८ जना इन्जिनियर र बाँकी टेक्निसियन छन् ।
कारखानालाई सरकारले आविष्कार केन्द्रलाई जिम्मा त लगाएको छ तर आर्थिक सहयोग भने नगरेको देवले बताए । उनका अनुसार आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले पुस्तक बिक्रीमार्फत संकलन गरेको रकम र कारखानाले बिक्री गरेको आम्दानीकै आधारमा उत्पादन अघि बढाइएको छ ।
नेपालले वार्षिक अर्बौं रुपैयाँ बराबरको कृषि सामग्री आयात गर्नुपर्ने अवस्थालाई ध्यानमा राख्दै, कारखानालाई पूर्ण क्षमतामा सञ्चालन गरी देशको माग धान्ने र भविष्यमा निर्यात गर्ने लक्ष्यसहित काम भइरहेको देवले स्पष्ट पारे ।