ओपनएआईले आफ्नो आगामी कृत्रिम बुद्धिमत्ता (एआई) मोडेल फ्यामिलीको नाम ‘एस्ट्रा’ (Astra) हुने घोषणा गर्दै यस मोडेलको आन्तरिक संस्करणले दशकौँदेखि समाधान हुन नसकेका १० वटा जटिल गणितीय समस्या समाधान गरेको वा उल्लेखनीय प्रगति हासिल गरेको दाबी गरेको छ ।
शनिबार सार्वजनिक गरिएको जानकारीअनुसार एस्ट्रा मोडेलले गणितका विभिन्न जटिल विधासँग सम्बन्धित ‘ओपन प्रब्लम्स’ (Open Problems) हरूमा नयाँ उपलब्धि हासिल गरेको कम्पनीको भनाइ छ । यी समस्याहरू हाई-डाइमेन्सनल ज्यामिति (High-dimensional Geometry), कोडिङ थ्योरी (Coding Theory), अरिथमेटिक सर्किट कम्प्लेक्सिटी (Arithmetic Circuit Complexity), ग्रुप थ्योरी (Group Theory), अपरेटर अल्जेब्रा (Operator Algebra), क्वान्टम कम्प्लेक्सिटी (Quantum Complexity), ल्याटिस क्रिप्टोग्राफी (Lattice Cryptography) तथा एक्स्ट्रेमल कम्बिनेटोरिक्स (Extremal Combinatorics) जस्ता उन्नत गणितीय क्षेत्रमा केन्द्रित रहेका छन् ।
ओपनएआईका अनुसार एआई प्रणालीले तयार पारेका गणितीय तर्कहरूलाई पछि अनुसन्धानकर्ताहरूले पाण्डुलिपिको रूप दिएका थिए । प्रत्येक तर्कलाई ‘लिन सर्टिफिकेट’ (Lean Certificate) मार्फत औपचारिक रूपमा प्रमाणित गरिएको कम्पनीले जनाएको छ । साथै, ती समाधानहरू निकाल्दा एआईले अपनाएको सोच्ने प्रक्रिया (Thinking Process) समेत सार्वजनिक गर्ने तयारी भइरहेको कम्पनीको भनाइ छ । कम्पनीले एस्ट्रा मोडेलको विस्तृत प्राविधिक विवरण सार्वजनिक नगरे पनि यसको कार्यक्षमता किफायती रहेको दाबी गरेको छ । कम्पनीका अनुसार यी १० वटा जटिल समस्या समाधान गर्न आवश्यक पर्ने कुल कम्प्युटिङ खर्च ‘GPT-5.6 Sol API’ को दरअनुसार करिब २ हजार अमेरिकी डलर बराबर मात्रै रहेको छ । यसले जटिल अनुसन्धानका लागि पनि मोडेललाई कम खर्चिलो र प्रभावकारी बनाएको कम्पनीको दाबी छ ।
ओपनएआईले लामो समयसम्म चल्ने अनुसन्धान तथा जटिल कार्यहरू सम्पन्न गर्न सक्ने एआई प्रणालीको विकासमा निरन्तर काम गरिरहेको जनाएको छ । यसअघि सन् २०२६ को मे महिनामा कम्पनीले करिब ८० वर्षदेखि समाधान हुन नसकेको ‘एर्डोस युनिट-डिस्टेन्स कन्जेक्चर’ (Erdős Unit-Distance Conjecture) लाई गलत सावित गर्न आफ्नो एक मोडेल सफल भएको दाबी गरेको थियो ।
यद्यपि, परीक्षणका क्रममा उक्त मोडेलले नियन्त्रणबाहिर गएर ‘हगिङ फेस’ (Hugging Face) जस्ता बाह्य प्लेटफर्मका आन्तरिक प्रणालीमा अनधिकृत पहुँच हासिल गरेको घटनाले एआई सुरक्षाबारे गम्भीर बहस पनि जन्माएको थियो । यसैबीच, गणितीय अनुसन्धानमा एआईको बढ्दो प्रयोगलाई लिएर विज्ञहरूबीच बहस र चिन्ता बढ्दै गएको छ । सन् २०२६ को जुन महिनामा सार्वजनिक गरिएको ‘लाइडेन घोषणापत्र’ (Leiden Declaration) मार्फत सयौँ गणितज्ञहरूले एआईका कारण अप्रमाणित निष्कर्ष, स्रोत उद्धरणको अभाव, अनुसन्धान प्रक्रियामा पारदर्शिताको कमी तथा पूर्वाग्रहजस्ता समस्या उत्पन्न हुन सक्ने चेतावनी दिएका थिए ।
इम्पेरियल कलेज लन्डनका गणितज्ञ केभिन बजार्डले प्राविधिक कम्पनीहरूले गणितीय अनुसन्धानमा बढ्दो चासो देखाउनु उल्लेखनीय भए पनि यसले अनुसन्धानको विश्वसनीयता र पारदर्शिताबारे गम्भीर प्रश्न उठाएको बताएका छन् । यी आलोचनाप्रति प्रतिक्रिया दिँदै ओपनएआईले एआईको प्रभावबारे चिन्ता व्यक्त गर्ने अनुसन्धानकर्ताहरूको दृष्टिकोणप्रति सम्मान रहेको जनाएको छ। कम्पनीले अनुसन्धानमा श्रेय प्रदान गर्दा नतिजा कसरी प्राप्त गरियो भन्ने विषय इमानदारीपूर्वक प्रतिबिम्बित हुनुपर्नेमा आफूहरू प्रतिबद्ध रहेको उल्लेख गरेको छ ।
कम्पनीले पाण्डुलिपि तयार पार्न तथा प्रमाणहरूलाई औपचारिक रूप दिन सहयोग गरेको स्वीकार गर्दै ती गणितीय तर्कहरूको मूल सिर्जना भने आफ्नै एआई प्रणालीबाट भएको दाबी गरेको छ ।
यससँगै ओपनएआईले ‘च्याटजीपीटी फर एकेडेमिक रिसर्चर्स’ (ChatGPT for Academic Researchers) नामक नयाँ पहल सुरु गरेको घोषणा गरेको छ। यस कार्यक्रमअन्तर्गत विश्वभरका करिब एक लाख वैज्ञानिक तथा गणितज्ञलाई कम्पनीका सबैभन्दा उन्नत एआई मोडेलहरू निःशुल्क उपलब्ध गराइने जनाएको छ ।