सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको वास्तविक कारण र उत्पत्तिबारे वैज्ञानिक अध्ययन गर्न सात सदस्यीय विज्ञ समिति गठन गरेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जल नीति तथा सुशासन विज्ञ देवेश बेल्बासेको संयोजकत्वमा बुधबार समिति गठन गरेको हो।
मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यका अनुसार समितिमा जलविद् डा. नरेन्द्रमान शाक्य, ग्लेसियोलोजिस्ट डा. रिजनभक्त कायस्थ, रिमोट सेन्सिङ विशेषज्ञ डा. उत्तमबाबु श्रेष्ठ, भूगर्भविद् डा. मेघराज धिताल, जलविद्युत् पूर्वाधार विज्ञ डा. हरि पण्डित र विपद् जोखिम न्यूनीकरण विज्ञ अनिल पोखरेल सदस्य छन्।
समितिले बाढीको सम्भावित उद्गमस्थलदेखि भोटेकोशी–ल्हेन्दे नदी प्रणाली हुँदै तटीय क्षेत्रसम्म स्थलगत अध्ययन गर्नेछ। अध्ययनका क्रममा आवश्यकताअनुसार ड्रोन तथा स्याटेलाइटबाट प्राप्त सूचनासमेत प्रयोग गरिने मन्त्रालयले जनाएको छ।
बाढीको वास्तविक कारण खोजिने
मन्त्रालयका अनुसार अध्ययनले बाढी सामान्य अतिवृष्टिका कारण आएको हो वा हिमाली क्षेत्रमा उत्पन्न विभिन्न भौगोलिक, हिमनदीय र जलविज्ञानसम्बन्धी जोखिम एकपछि अर्को सक्रिय भएर विपद् निम्तिएको हो भन्ने विषयमा प्रमाण खोज्नेछ।
यसअघि जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गत जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले गरेको प्रारम्भिक अध्ययनले बाढीको उत्पत्ति, त्यसको भौतिक प्रक्रिया र भोटेकोशी–ल्हेन्दे नदी प्रणाली हुँदै तल्लो क्षेत्रमा फैलिएको घटनाक्रमबारे पर्याप्त वैज्ञानिक प्रमाण अझै पुष्टि नभएको जनाएको थियो।
त्यसैले जलवायु परिवर्तनलाई घटनाको कारणका रूपमा निष्कर्ष निकाल्नुअघि सम्पूर्ण घटनाक्रमको वैज्ञानिक अध्ययन आवश्यक रहेको सुझावका आधारमा विस्तृत अध्ययन अघि बढाइएको मन्त्रालयले जनाएको छ।
तीन चरणमा अध्ययन
समितिले तीन चरणमा अध्ययन गर्नेछ। पहिलो चरणमा उच्च हिमाली क्षेत्रदेखि नदी प्रणाली र तटीय क्षेत्रसम्म बाढीको घटनाक्रम तथा भौगोलिक क्षतिको अध्ययन गरिनेछ । यस क्रममा हिमनदी, चट्टान तथा माटोको ढलान अस्थिरता, पहिरो, लेदो, नदीको बहाव र बाढीबीचको सम्बन्ध अध्ययन गरिनेछ।
दोस्रो चरणमा बाढीका तत्कालीन तथा अन्तर्निहित भौतिक कारण पहिचान गरिनेछ। तेस्रो चरणमा जलवायु परिवर्तनले यस्ता जोखिमको सम्भावना वा तीव्रता बढाउन कति भूमिका खेलेको थियो भन्ने वैज्ञानिक मूल्याङ्कन गरिनेछ । यसका लागि मौसम तथा जलवायु, जलप्रवाह, हिमनदी, भूगर्भ, भूरूप विज्ञान, रिमोट सेन्सिङ र विपद् जोखिम व्यवस्थापनसम्बन्धी तथ्यांक प्रयोग गरिनेछ ।
चीनतर्फका तथ्यांकसमेत अध्ययनमा समेटिने
भोटेकोशी–ल्हेन्दे नदी प्रणाली सीमापार प्रकृतिको भएकाले चीनतर्फ उपलब्ध वैज्ञानिक तथा जलवैज्ञानिक सूचनासमेत अध्ययनमा समेट्ने तयारी गरिएको मन्त्रालयले जनाएको छ । घटनास्थलको स्थलगत निरीक्षणका क्रममा चट्टानको अवस्था, कमजोर भूभाग, ढलानको स्थिरता, पहिरोको सम्भावना, नदीको आकृति तथा बाढीसँगै बगेका अवसादको समेत अध्ययन गरिनेछ। त्यस्तै, बाढी आउनुअघिको वर्षा, तापक्रम, हिमपात, हिउँ पग्लने अवस्था र उच्च हिमाली क्षेत्रको जलवायुगत अवस्थाको विश्लेषण गरिनेछ। दीर्घकालीन तापक्रम तथा वर्षाको प्रवृत्ति र विगतका समान प्रकृतिका घटनासँग समेत तुलना गरिने मन्त्रालयले जनाएको छ।
दुई महिनाभित्र प्रतिवेदन
समितिलाई अध्ययन पूरा गर्न दुई महिनाको समय दिइएको छ। अध्ययनबाट प्राप्त प्रमाणका आधारमा भोटेकोशी बाढीको वैज्ञानिक प्रकृति र उत्पत्तिबारे निष्कर्ष निकालिने मन्त्रालयले जनाएको छ।यस अध्ययनबाट प्राप्त निष्कर्षका आधारमा भविष्यमा हिमाली क्षेत्रमा हुने यस्ता विपद्बाट जलविद्युत् तथा अन्य पूर्वाधारलाई सुरक्षित राख्न आवश्यक पूर्वतयारी र जोखिम न्यूनीकरणका उपाय तय गर्न समेत सहयोग पुग्ने मन्त्रालयको अपेक्षा छ ।