चारैतिर सप्तकोशी नदी, नदीको बिचमा रहेको श्रीलङ्का टापुको घाँसे मैदानमा गाईभैँसीका गोठ छन् । नदीको बहाब र मौसम अनुसार कहिले श्रीलङ्का टापु त कहिले सप्तरीको कमलपुर क्षेत्रमा गोठ सार्दै पशुपालन गर्ने परम्परा टापुक्षेत्रमा पुस्तौँदेखि चल्दै आएको छ ।
सप्तरीको तिरहुत गाउँपालिकाका निर्वतमान अध्यक्ष मनोजकुमार बर्खेर यादवले यहीँ परम्परालाई चार पुस्तादेखि निरन्तरता दिँदै आएका छन् । उनका अनुसार हजुरबुवाको पालादेखि सुरु भएको गाईभैँसीपालनलाई अहिले व्यावसायिक रूपमा अघि बढाइएको छ ।
बर्खेरका अनुसार उनको परिवारले पहिले विभिन्न चरनक्षेत्रमा गाईभैँसी डुलाउँदै पाल्ने गर्दे । त्यतिबेला अहिलेभन्दा चरनक्षेत्र पनि प्रशस्तै थियो । मौसम र घाँस हुने ठाउँ हेरेर गोठ सार्ने परम्परा अहिले पनि कायम छ ।
उनले भने बर्खायाममा सप्तकोशी नदीमा पानीको सतह बढ्ने भएकाले श्रीलङ्का टापुको उँचो भूभागमा गोठ राख्ने गरिन्छ । पानीको बहाब घटेपछि भने घाँस हुने क्षेत्र कमलपुरलगायतका अन्य चरनक्षेत्रमा गोठ सार्ने गरिँदै आएको छ ।
नदीको बहाब र मौसम अनुसार गोठ सार्नुपर्ने भएकाले यहाँको पशुपालन एउटै स्थानमा सीमित छैन । पशुका लागि घाँस उपलब्ध हुने क्षेत्र खोज्दै गोठ र चरनक्षेत्र परिवर्तन गर्नु बर्खेरका परिवारको नियमित काम हो । बर्खेरसँग अहिले छ सय गाई र पाँच सय भैँसी रहेका छन् । गोठमा दैनिक पशुको हेरचाह, खानपान र व्यवस्थापनका लागि १२ जनाभन्दा बढी कामदार राखेको बताए ।
लामो समयदेखि पशुपालन गर्दै आएकाले आफूले पनि गोठमा नियमित समय दिने गरेको बर्खेर भन्छन् । पशुपालनबाट दुध बिक्री तथा राँगा बिव्रmीमार्फत आम्दानी हुने गरेको छ । पशुको स्वास्थ्य अवस्था र उत्पादनमा हुने उतारचढावका कारण आम्दानी बर्सैपिच्छे समान नहुने उनको भनाइ छ ।
बर्खेरले पछिल्लो समय परम्परागत पशुपालनलाई थप व्यवस्थित बनाउँदै उन्नत जातका भैँसी उत्पादनमा समेत जोड दिए । उनले करिब तीन वर्षअघि मुर्रा जातका दुई वटा बिउ राँगा ल्याएर स्थानीय भैँसीमा गर्भाधान गराउन थालेको पनि भने ।
उन्नत जातका भैँसी उत्पादन गर्दै पशुपालनलाई थप व्यवस्थित बनाउने उनको योजना छ । पुख्र्यौली पेसालाई समय अनुसार परिमार्जन गर्दै लैजानुपर्ने उहाँ बताउँछन् । बर्खेरका लागि पशुपालन आम्दानीको स्रोत मात्र होइन, पारिवारिक पहिचान र पुख्र्यौली परम्परासँग जोडिएको पेसा पनि हो । उनी भन्छन्, “हाम्रो बर्खेर समाजमा पुस्तौँदेखि गोठ राखेर गाईभैँसी पाल्ने चलन छ । त्यही परम्परालाई निरन्तरता दिन मैले पनि पशुपालन गरिरहेको छु ।”