पछिल्लो समय मोटिभेशनल क्लास भन्दै विद्यार्थीहरू माथि मानसिक दबाब सिर्जना गरिने घटना बढ्दै गएका छन् । यस्तै एउटा घटना हालै वीरगंजको क्लासिक ब्याङ्क्वेटमा आईतबार भएको कार्यक्रमबाट देखिएको छ, जहाँ दर्जनौँ विद्यार्थीहरू बेहोस भएर ढलेका थिए ।
एसईई पास गरेका विद्यार्थीहरूलाई लक्षित गर्दै निम्स इन्स्टिच्युटले आयोजना गरेको करियर काउन्सिलिङ कार्यक्रम २०८२ मा मानव सेवा आश्रमका संयोजक दिवेश गुप्तालाई मोटिभेशनल सेसनका लागि आमन्त्रण गरिएको थियो । गुप्ताको ‘भावनात्मक’ भाषण तथा कार्यक्रमकै दाैरानमा विद्यार्थीहरू एकपछि अर्को गर्दै भट्टाभट्ट बेहाेस् भइ ढल्न थालेका थिए ।
कार्यक्रममा सहभागी दर्जनौँ विद्यार्थीहरू मानसिक तनाव, असहज शारीरिक अवस्था तथा बेहोसीका कारण हाताहात हुनबाट जाेगिएकाे छ । उनिहरूलाई तत्कालै उद्दार गरि आधा दर्जन बढी विद्यार्थीलाई वीरगंजको प्रभु अस्पतालमा भर्ना गरिएको थियो । केही समय उपचारपछि उनीहरू होसमा आए पनि घटना चिन्ताजनक रहेको देखिन्छ । छाेरी बेहोस् भएर अस्पताल पुगेका एक अभिभावकले घटनामा कुनै विद्यार्थीको हर्ट फेलजस्ता गम्भीर स्वास्थ्य समस्या आएको भए त्यसको जिम्मेवारी कसले लिन्थ्यो भन्दै प्रश्न गरीन् ?
मोटिभेसन क्लास – सन्देश वा सन्त्रास ?
मानसिक उत्साह बढाउने उद्देश्यले सञ्चालन गरिने मोटिभेसनल क्लासहरू कुनै प्रमाणित प्रक्रिया बिना, मनोवैज्ञानिक दक्षता नबुझेर चलाउँदा उल्टै मानसिक आघात पुर्याउने खतरा बढेको यस घटनाले देखाएकाे छ । मानिसको मनोभावनामा गहिरो असर पार्ने विषयलाई सही रुपमा नबुझी, केवल भावुकता भरिएको भिडियाे र भाषण मार्फत "प्रेरणा" दिने नाममा अन्धाधुन्ध प्रस्तुतिले विद्यार्थीहरू बेहाेस् भएर हस्पिटल नै भर्ना गर्नु परेकाे थियाे ।
कसलाई, कति, किन ?
मनोविज्ञान अनुसार, मोटिभेशनल क्लासहरू सबै उमेर समूहका मानिसहरूलाई समान शैलीमा दिन मिल्दैन । किशोर–किशोरी, विशेष गरी भर्खरै परीक्षा दिइसकेका वा तनावमा रहेका विद्यार्थीहरूलाई दिनुअघि उनीहरूको मानसिक अवस्था बुझिनु आवश्यक हुन्छ । यसरी भावनामा खेली जबर्जस्ती आँसु झार्ने, मृत्युलाई जोडेर कथा सुनाउने, आमाबुबाको कुरालाई दया वा अपराधबोधमा रूपान्तरण गर्ने शैलीले किशोर मनोविज्ञानमा गम्भीर असर पुर्याउन सक्छ । यद्दपी भर्ना भएका विद्यार्थीहरू उपचारपछी घर फर्किएका छन् । तर
'मोटिभेसनको मात्रा' समेत अत्यन्त महत्त्वपूर्ण हुन्छ । लगातार १–२ घण्टासम्म चल्ने भावनात्मक दवाबका कार्यक्रमहरूले संवेदनशील विद्यार्थीमा शारीरिक वा मानसिक प्रतिक्रिया दिन सक्छन् ।
यदि कसैलाई गम्भीर क्षति पुग्दा के ?
यदि उक्त घटनामा कुनै विद्यार्थीको हर्ट फेलजस्ता गम्भीर स्वास्थ्य समस्या आएको भए त्यसको जिम्मेवारी कसले लिने? यस्तो कार्यक्रमको पूर्व स्वीकृति, सुरक्षा मापदण्ड, सहभागीहरूको मनोस्वास्थ्य परीक्षण जस्ता विषय बेवास्ता हुनुले संस्थाहरूको गैरजिम्मेवारी देखिन्छ । यस घटनाले मोटिभेशनल कार्यक्रम चलाउनुअघि त्यसको वैधानिकता, वक्ताको मनोविज्ञानसम्बन्धी योग्यता र कार्यक्रमको असरबारे स्पष्ट मूल्यांकन हुन जरुरी देखिन्छ । यस्ता क्लासहरू प्रेरणादायीभन्दा पनि कहिलेकाहीं आघातपूर्ण बनिरहेका छन् ।
विद्यार्थीलाई दवाव दिने शैलीका कार्यक्रमहरूमा पठाउनु अघि अभिभावक र विद्यालयले संयमता अपनाउनुपर्ने आवश्यकता छ । ‘मोटिभेशन’ एकदमै संवेदनशील विषय हो – जसमा उत्साहको साटो अवसाद आउन सक्छ ।
‘मोटिभेशनल क्लास’ नामको चम्किलो आवरणभित्र लुकेका जोखिमहरूबारे अभिभावक, संस्था र विद्यार्थी स्वयं सचेत हुन जरूरी छ । प्रेरणा दिनु र मानसिक रूपमा सहन नसक्ने दवाब सिर्जना गर्नुबीचको सीमाना बुझ्न नसके, यस्ता घटनाहरू अझै भयावह बन्ने खतरा रहन्छ ।
भिडियाे सामाग्री