हाम्रो नेपाली संस्कृतिमा यात्राअघि दही खुवाउने परम्परा निकै पुरानो र लोकप्रिय मानिन्छ ।
शुभ साइत, सफल यात्रा र कार्यसिद्धिको प्रतीकका रूपमा हेरिने यो चलन केवल धार्मिक विश्वासमा मात्र सीमित छैन, यसको पछाडि आयुर्वेदिक तथा वैज्ञानिक आधार पनि रहेको पाइन्छ । आयुर्वेदमा दहीलाई ‘दधि’ भनिन्छ र यसका विभिन्न गुणहरूको विस्तृत वर्णन गरिएको छ । आयुर्वेदका अनुसार दही ‘उष्णवीर्य’ अर्थात् तातो प्रकृतिको हुन्छ, जसले पाचन शक्ति बलियो बनाउने र यात्राका क्रममा हुन सक्ने अपच कम गर्ने काम गर्छ ।
त्यस्तै, दहीलाई ‘रुचिकर’ मानिन्छ, जसले खानाप्रति रुचि बढाउने र स्वाद सुधार गर्ने विश्वास छ । यात्राको तनावका कारण भोक कम लाग्ने अवस्थामा दही उपयोगी मानिन्छ । आयुर्वेदले दहीलाई ‘ग्राही’ गुणयुक्त पनि बताएको छ । यसले आन्द्राबाट बढी पानी सोसेर पेट गडबडी, पखाला वा दिसा पातलो हुने समस्या कम गर्न मद्दत गर्छ। यात्रा गर्दा हुने पेटसम्बन्धी समस्याबाट बच्न यसलाई लाभदायक मानिन्छ ।
दहीलाई ‘वातनाशक’ पनि भनिन्छ । लामो यात्रा गर्दा शरीरमा वात दोष बढेर थकान, ग्यास वा शरीर दुख्ने समस्या देखिन सक्छ। दहीले यस्तो समस्या कम गर्न सहयोग पुर्याउने विश्वास छ । त्यस्तै, दहीलाई ‘पुष्टिवर्द्धक’ मानिन्छ, जसले शरीरलाई ऊर्जा, बल र रोग प्रतिरोधात्मक क्षमता प्रदान गर्छ ।
आयुर्वेदमा दही र पानीको मिश्रणअनुसार तक्र, घोल र छच्छिका जस्ता विभिन्न प्रकार उल्लेख गरिएको छ । विशेषगरी ‘तक्र’ अर्थात् मोहीलाई पाचनका लागि अत्यन्त उपयोगी मानिन्छ । यात्रा गर्दा पेट भारी हुने समस्या कम गर्न मोही उपयुक्त मानिएको छ । आधुनिक विज्ञानले पनि दहीलाई ‘सुपरफूड’ का रूपमा स्वीकार गरेको छ । दहीमा पाइने प्रोबायोटिक्सले आन्द्राको स्वास्थ्य सुधार गर्ने, ग्यास्ट्रिक, कब्जियत र पखाला कम गर्न मद्दत गर्ने चिकित्सकहरू बताउँछन् ।
दहीमा क्याल्सियम, फस्फोरस, पोटासियम, म्याग्नेसियम, भिटामिन बी–१२ लगायत शरीरलाई आवश्यक पोषक तत्व प्रशस्त मात्रामा पाइन्छ । यसले हड्डी, दाँत, स्नायु प्रणाली र मुटुको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ । त्यस्तै, दहीमा पाइने प्रोटिन सजिलै पच्ने भएकाले यसले लामो समयसम्म पेट अघाएको महसुस गराउँछ। दूध पचाउन गाह्रो हुने व्यक्तिका लागि पनि दही राम्रो विकल्प मानिन्छ ।
हालका अनुसन्धानहरूले पेटको स्वास्थ्य र मानसिक स्वास्थ्यबीच गहिरो सम्बन्ध रहेको देखाएका छन् । दहीमा पाइने प्रोबायोटिक्सले तनाव कम गर्न र मानसिक स्वास्थ्य सुधार गर्न समेत सहयोग पुर्याउने अध्ययनहरूले देखाएका छन् । आयुर्वेदले दही सेवन गर्दा केही सावधानी अपनाउन पनि सुझाव दिएको छ ।
विशेषगरी राति दही कम खान र दहीलाई चिनी, मह, घिउ वा मुँगको दालसँग मिसाएर सेवन गर्न उपयुक्त मानिन्छ । नेपाली समाजमा यात्राअघि दही–चिनी खाने चलन पनि यही मान्यतासँग जोडिएको मानिन्छ ।