भारतका चार राज्य र केन्द्र शासित प्रदेश पुडुचेरीमा अप्रिल महिनामा सम्पन्न विधानसभा निर्वाचनको मतगणना भएको छ ।
सोमबार सुरु भएको मतगणनाअनुसार पश्चिम बंगाल र आसाम राज्यमा भारतीय जनता पार्टी (भाजपा), पुडुचेरी प्रदेशमा भाजपा सम्मिलित एनडीए गठबन्धन र केरला राज्यमा भारतीय राष्ट्रिय कांग्रेस सम्मिलित यूडीएफ गठबन्धनले जितेको छ ।
तर सबैभन्दा रोचक नतिजा तमिलनाडु राज्यमा देखिएको छ । यहाँ अभिनयबाट राजनीतिमा प्रवेश गरेका विजय थलपति नेतृत्वको तमिलगा वेत्री कड्गम टीभीकेले २ सय ३४ विधानसभा सिटमध्ये १०८ सिटमा विजयी भएको छ ।
दुई परम्परागत शक्ति द्रविड मुन्नेत्र कड्गम डीएमके र अल इन्डिया अन्ना द्रविड मुन्नेत्र कड्गम एआईएडीएमके क्रमशः तेस्रो र दोस्रो स्थानमा छन् ।
डीएमकेले झन्डै ७३ र एआईएडीएमकेले झन्डै ५३ सिट जितका छन् ।
तमिलनाडुका मुख्यमन्त्री तथा डीएमकेका नेता एमके स्टालिन कोलायुर निर्वाचनमा टीभीकेका उम्मेदवार भीएस बाबुसँग पराजित भएका छन् ।
चुनावी अभियानमा विजय आउनेछन्ु नारा दिइएको थियो। जसलाई पुराना दलहरूले सामान्य ठाने। तर नतिजाले विजयको उदय देखाएको छ ।
५१ वर्षीय विजयको पूरा नाम चन्द्रशेखर जोसेफ विजय हो । उनलाई फ्यानहरूले विजय थलपति भनेर बोलाउँछन्। तमिल भाषामा थलपतिको अर्थ कमान्डर वा नेता हो ।
उनका बुबा एसए चन्द्रशेखर फिल्म निर्देशक र आमा साहित्री शोभा गायिका हुन् ।
उनले १९८४ मा आफ्नै बुबाको निर्देशनमा बनेको फिल्म ुभेत्रीु बाट बाल कलाकारका रूपमा सिनेमा यात्रा थालेका थिए ।
सन् १९९२ मा बुबाकै निर्देशनमा बनेको होम प्रोडक्सनको नालैया थेरप मार्फत मुख्य अभिनेताका रूपमा पर्दामा देखिए।
फिल्म असफल भए पनि उनका लागि महत्त्वपूर्ण सिकाइ बन्यो । १९९० को दशकको अन्त्यतिर उनी दक्षिण भारतमा रोमान्टिक चलचित्रहरूमा गरेको भूमिकाले लोकप्रिय थिए ।
सन् २००४ मा प्रदर्शनमा आएको एक्सन फिल्म घिल्लीको सफलताले तमिल फिल्म उद्योगमा उनको उचाइ निकै बढ्यो ।
आफ्नो करियरमा उनले ७० भन्दा धेरै फिल्म खेलेका विजयले २ फेब्रुअरी २०२४ मा सक्रिय राजनीतिमा आउने घोषणा गरे।
गत वर्ष २७ डिसेम्बरमा फिल्म क्षेत्रबाट सन्यास लिएको घोषणा गरेका थिए । बढ्दो राजनीतिक सक्रियताका कारण फिल्म क्षेत्रमा पर्याप्त ध्यान दिन नसकेको उनले बताएका थिए ।
लामो समयदेखि सामाजिक अभियानमा जोडिएका विजयको छोटो राजनीतिक करियर उतारचढावपूर्ण छ । गत वर्ष सेप्टेम्बरमा करुरस्थित उनको पार्टीले आयोजना गरेको एक र्यालीमा भागदौड हुँदा ११ बालबालिकासहित ४१ जना मारिए ।
भागदौड हुनासाथ कार्यक्रमस्थलबाट निस्किएपछि उनको ठूलो विरोध भएको थियो । आलोचकहरूले उनको नेतृत्व शैलीमाथि प्रश्न उठाउँदै उनको लडाकु स्वभाव सिनेमाको पर्दामै सीमित रहेको बताएका थिए ।
गत फेब्रुअरीमा उनकी पत्नीले दुर्व्यवहार र धोकाको आरोपसहित सम्बन्धविच्छेदको प्रक्रिया सुरु गरेकी थिइन् ।
यस्ता व्यक्तिगत प्रश्न र विवादका बाबजुद विजयले आफ्नो राजनीतिक गतिविधि जारी राखे । उनी पार्टीको संगठनात्मक संरचना मजबुत बनाउन र आफ्नो स्टार छविको प्रयोग गरेर मतदाता रिझाउन व्यस्त थिए ।
विजयले आफ्नो पार्टी टीभीकेको घोषणामा भाजपालाई वैचारिक शत्रु र डीएमकेलाई राजनीतिक शत्रु करार गरेका छन् ।
टीभीकेले यस चुनावमा युवा, महिला र मछुवार समुदायका मुद्दा उठाएको थियो ।
कक्षा १२ देखि विद्यावारिधिसम्म पढ्नेलाई बिनाधितो २५ लाख ऋण दिने विषय पनि पार्टीको घोषणापत्रमा उल्लेख थियो ।
महिलामैत्री योजनाहरूमा प्रत्येक परिवारका लागि वार्षिक ६ वटा एलपीजी सिलिन्डर सित्तैमा, मासिक २५ सय रुपैयाँ वितरण र विवाह सहायता योजनाअन्तर्गत ८ ग्राम सुन वितरणजस्ता प्रावधान उल्लेख छन् ।
विजयको उदयले तमिलनाडुमा दुई द्रविडियन पार्टीहरू डीएमके र एआईएडीएमकेको वर्चस्वको राजनीतिमा ब्रेक लागेको छ ।
द्रविडियन राजनीति सुरु हुनुअघि तमिलनाडुमा (तत्कालीन समय मद्रास राज्य) १९४७ देखि १९६७ सम्म कांग्रेस आईको सरकार थियो ।
द्रविडियन राजनीति सुरु भइसकेपछि (१९८८–१९८९) मा छोटो अवधि छोडेर बाँकी सबै समय डीएमके र एआईएडीएमकेमध्ये एक्लै यहाँ सरकार बनाएका थियो ।