तराई, मधेसकाे मिथिलाञ्चल क्षेत्रका मिथिलानीहरू (विवाहित महिला) आउँदो सोमबार १२ गते मनाइने बट सावित्री पर्व (स्थानीय भाषामा ‘वरसाइत पावइन’) को तयारीमा व्यस्त भएका छन् ।
नवविवाहिता र विवाहित महिलाहरूले पतिको दीर्घायु, सुख–समृद्धि र दाम्पत्य जीवनको सफलताका लागि यो पर्व श्रद्धा र परम्पराअनुसार मनाउने चलन छ । महिलाहरू अहिले हाटबजारमा रातो, पहेंलो र रङ्गीचङ्गी लुगा, चुरा–पोते, टिका, विन्दी, मेहन्दी, बाँसको चोयाबाट बनाइएको पङ्खा र डालो किनमेलमा व्यस्त छन् । महोत्तरी सदरमुकाम जलेश्वरको हटिया बजारमा प्रत्येक साँझ महिलाहरूको भिड लाग्ने गरेको छ ।
सावित्री–सत्यवानको धार्मिक कथासँग जोडिएको यस पर्वमा विवाहित महिलाले वट (वर) वृक्षमुनि पूजा गर्दै आफ्नो पतिको दीर्घायुको कामना गर्ने चलन रहेको छ । जलेश्वर नगरपालिका–१ स्थित बाबा जलेश्वरनाथ महादेवका मुख्य पूजारी उपेन्द्र पाठकका अनुसार बट सावित्री पर्व जेठ कृष्ण अमावस्याका दिन मनाइन्छ ।
नवविवाहित महिलाले विवाहपछिको पहिलो ‘वरसाइत’ पर्व ससुरालीमै अनिवार्य रूपमा मनाउने परम्परा रहेको छ । यस क्रममा माइती पक्षबाट श्रृङ्गार सामग्री (सोह्रश्रृङ्गार) पठाउने चलन छ। सोमवार बिहान स्नान गरी रातो पहिरनमा सजिएर वटवृक्षमुनि पति–पत्नी सँगै पूजामा बस्ने गर्छन् । पूजामा वर र पीपल वृक्ष दुवैलाई उपस्थित गराएर, बाँसको पङ्खाले हम्काउने, अंकुरी र फलफूल चढाउने, सिन्दुर अर्पण गर्ने, सात फन्को घुमेर वरलाई रित्त्याउने र पतिको खुट्टा धोएर चर्नामृत पिउने विधि रहन्छ । विवाहित पुरुषको अनुपस्थितिमा महिलाहरू एकल रूपमा पनि पर्व मनाउने गर्दछन् ।
अग्निपुराण अनुसार सावित्रीले मृत पति सत्यवान्को पुनर्जीवनका लागि वटवृक्षमुनि उपवाससहित पूजा गरेर पुनर्जन्मको कामना गरेकी थिइन्, त्यसैको प्रतीक स्वरूप यो पर्व मनाइन्छ । यस दिन विवाहित महिलाले नदी वा पोखरीमा स्नान गरी विभिन्न फलफूल, धूप, दीपसहित वटवृक्षमुनि पूजा गर्छन् । साथै पार्वती, सावित्री र नागको पनि आराधना गरिन्छ ।
बट सावित्री पर्व मिथिलाञ्चलको सांस्कृतिक र पारिवारिक आस्थासँग जोडिएको महत्वपूर्ण पर्व मानिन्छ । सामाजिक सद्भाव, नारी धर्म र धार्मिक परम्पराको निरन्तरताको दृष्टिले यो पर्वको महत्व झनै बढ्दो छ ।
भिडियाे सामाग्री