वीरगंजमा हैजा फैलिएको विषयमा आक्रोशपूर्वक प्रश्न गरेकी युवती किरण साहलाई पक्राउ गरी हिरासतमा राखिएको घटनाप्रति संघीय सांसद अब्दुल खानले कडा आपत्ति जनाएका छन् ।
बुधबार संघीय संसद्मा बोल्दै सांसद खानले साहलाई थुन्ने कार्यलाई “राज्यको निच र घृणित व्यवहार”को संज्ञा दिएका हुन् । उनले सामान्य नागरिकले आफ्नो पीडा व्यक्त गर्दा त्यसलाई बालहठ सरह लिएर राज्य शक्तिको प्रयोग गर्नु अस्वीकार्य भएको बताए ।
“कसैले केही राज्यका जिम्मेवार व्यक्तिलाई फोन गर्दा फोन नै उठ्दैन । तर, हैजाले त्रसित अवस्थामा नागरिकले मन्त्रीलाई प्रश्न गर्दा उल्टै थुनिन्छ भने यो निच र घृणित काम हो,” सांसद खानले भने ।
उनका अनुसार किरणले तीन मिनेट फोनमा कुरा गर्दा उनलाई तीनवटा मुद्दा दर्ता गरिएको छ, जुन जनताप्रति गरिएको अन्यायपूर्ण कदम हो । उनले नागरिकको आक्रोशलाई मुद्दा दर्ता गरेर होइन, संवेदनशील ढंगले सम्बोधन गर्नुपर्नेमा जोड दिए ।
“जनताको कुरा जनतै सम्झेर समाधान गर्नुपर्छ, दमन गरेर होइन,” खानले संसद्मा स्पष्ट गरे ।
यसअघि हैजासम्बन्धी प्रश्न सोधेकै कारण साहविरुद्ध संघीय सांसदलाई धम्की दिएको, विद्युतीय अपराध तथा अफवाह फैलाएको आरोपमा मुद्दा दायर गरिएको छ ।
घटनाले वीरगंजमा चर्को विरोध र राजनीतिक तरंग सिर्जना गरेको छ ।
सम्बन्धीत समाचार