सगरमाथा क्षेत्रमा ४६ वर्ष बिताइसकेका स्थानीय दावा शेर्पाको अनुभवले हिमाल आरोहण पेसामा आएको पुस्तागत परिवर्तनको कथा बोकिरहेको छ । ६१ वर्षीय दावा शेर्पाले आठपटक सगरमाथा आरोहण गरिसकेका छन्, र अहिले पनि हिमालप्रतिको मोह यथावत् छ। तर, पछिल्लो पुस्ताका शेर्पा युवाहरू भने यो पेसाबाट टाढिँदै गएका छन् ।
हिमाल आरोहणको पेसामा भरियाबाट सुरु गरी अनुभवी पथप्रदर्शक बनेका दावाका अनुसार विगतमा ट्रेकिङ मार्गमा होटल कम थिए, ओडारमै रात बिताउनु पर्ने हुन्थ्यो । “जहाँ ओडार भेटिन्थ्यो, त्यहीँ बस्थ्यौँ,” उनी सम्झन्छन्, “तर अहिले शेर्पा युवाहरूको संख्यामा कमी आएको छ ।”
नेपाल पर्वतारोहण महासङ्घका अनुसार हाल सोलुखुम्बुको तुलनामा सङ्खुवासभा, खोटाङ, ओखलढुङ्गा लगायत जिल्लाबाट पर्वतारोहण पथप्रदर्शकको सहभागिता बढिरहेको छ। महासङ्घका सञ्चार अधिकृत दीपेन्द्र गुरूङ भन्छन्, “शेर्पा युवाहरूको आकर्षण घट्दै गए पनि अन्य समुदायका युवाहरूको चासो बढ्दो छ। भविष्यमा गाइडहरूको अभाव हुन सक्ने सम्भावना छ ।”
शेर्पा संस्कृति अध्ययनमा संलग्न लाक्पा सोनाम शेर्पा र हिमालयन उद्धार सङ्घका प्रमुख गोविन्द बस्यालले पनि यो पेसामा शेर्पा युवाहरूको सहभागिता घट्दै गएको स्वीकार गरेका छन् । पढाइका लागि काठमाडौं वा विदेश गएका शेर्पा युवाहरू बाबुबाजेको जोखिमयुक्त पेशामा फर्कने सम्भावना न्यून देखिएको उनीहरूको भनाइ छ ।
पर्वतारोहण गाइड निमा शेर्पा, तार्के शेर्पा, र ओङछु शेर्पा जस्ता अनुभवीहरूका अनुभवबाट पनि नयाँ पुस्ता यो पेसातिर आकर्षित नभएको देखिन्छ। निमा शेर्पाले भने, “हाल अधिकांश गाइडहरू हाम्रो पुस्ताका छन्। नयाँ पुस्ता पढाइ वा व्यवसायतिर लागेका छन् ।”
ओङछु शेर्पाले बताउँछन्, “पहिले हरेक परिवारका छोराहरू हिमाल चढ्थे। अहिले गाउँमा युवाहरू भेटिँदैनन्, सबै विदेशिएका छन् ।”
तेञ्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले सन् १९५३ मा सगरमाथा चढेपछि खुलेको हिमाल पर्यटनको ढोका आज बदलिँदो पुस्ताको सोचसँग जुध्दैछ। शेर्पाहरूको आकर्षण घटे पनि पर्यटक संख्या र आरोहणको चाप भने बढ्दो छ ।
सगरमाथा क्षेत्रमा अहिले ट्रेकिङका लागि सुविधा सम्पन्न होटलहरू, यातायात र खच्चडमार्फत सामान ढुवानीको व्यवस्था छन्। तर, मौसम परिवर्तन र जलवायु संकटका कारण सगरमाथाको भविष्यप्रति चिन्ता पनि उस्तै छ ।
“सगरमाथामा हिउँ कम हुँदै गएको छ। सगरमाथा पत्थर मात्र रह्यो भने कस्ले चढ्छ?” लाक्पा सोनाम शेर्पाको गहिरो प्रश्न हो— केवल पेसा होइन, यो सिंगो संस्कृतिको बदलिँदो दृश्य हो ।