बुद्ध जन्मस्थल लुम्बिनीमा विश्वभरका पर्यटकहरूले चढाएका भेटीमध्ये १०० भन्दा बढी मुलुकका मुद्रा भेटिएका छन् । तर यस्ता दुर्लभ मुद्रा प्रदर्शन गर्नेगरी संग्रहालय बनाउने प्रस्ताव वर्षौंदेखि अलपत्र अवस्थामा रहेको छ ।
लुम्बिनी विकास कोषका अनुसार सन् २०२४ मा मात्रै भारतसहित ११२ देशका ११ लाखभन्दा बढी पर्यटक लुम्बिनी आएका थिए । तीमध्ये १०० देशका मुद्राहरू मायादेवी मन्दिर र अशोक स्तम्भ परिसरका दानपेटिकाबाट संकलन भएका हुन् । कोषका सदस्य सचिव सानुराज शाक्यका अनुसार तीमध्ये ३९ मुलुकका मुद्रा नेपाल राष्ट्र बैंकको सटही सूचीमा नपरेको हुँदा लामो समयसम्म थन्किएका थिए । उनले भने, "अफ्रिका र ल्याटिन अमेरिकाका केही देशका मुद्रा साटिन सकेका छैनन्, यिनलाई संग्रहालयमा राख्ने योजना बनाइएको हो ।"
उनका अनुसार हाल अधिकांश मुद्रा राष्ट्र बैंकसँग समन्वय गरेर साटिएको छ। बाँकी मुलुकका मुद्रा बुद्धकालीन सिक्कासहित संग्रहालयमा राख्ने तयारी गरिएको छ । "संग्रहालयमा मुद्रा मात्र नभइ तिनको सांस्कृतिक परिचय पनि राखेर पर्यटक भित्र्याउन सकिन्छ," शाक्यले थपे ।
विज्ञहरूको सुझाव : ‘मुद्रा संग्रहालय ऐतिहासिक गर्व बन्न सक्छ’
इतिहास अध्येता युवराज कँडेलका अनुसार विदेशी मुद्रा प्रदर्शनबाट लुम्बिनीको ब्रान्डिङ मात्र नभई पर्यटन प्रवर्द्धनमा टेवा पुग्नेछ । "बुद्धकालीन मुद्रासहित देशका मुद्रा राख्ने संग्रहालय बनेमा लुम्बिनी अध्ययन केन्द्र बन्छ," उनले भने । संस्कृतिविद् डा. गीतु गिरीले दानपेटिकामा भेटिएका १०० देशका मुद्रा लुम्बिनीको अन्तर्राष्ट्रिय आकर्षणको प्रमाण भएको बताए ।
"अब यो प्रमाणलाई व्यवस्थित रूपमा संग्रहालयमा राखेर ब्रान्डिङ गर्नुपर्छ," उनले भने ।
४ करोड आम्दानी, सटही नभएको मुद्रामा जोखिम
लुम्बिनी विकास कोषका लेखा प्रमुख नवलकिशोर यादवका अनुसार दानपेटिकाबाट वार्षिक झन्डै चार करोड रुपैयाँ बराबरको भेटी आम्दानी हुन्छ । यही आम्दानीबाट कर्मचारी तलब भत्ता र मन्दिर व्यवस्थापन सञ्चालन हुन्छ । "पछिल्लो समय सटही नभएको मुद्राले मक्किने, च्यातिनेजस्ता जोखिम बढेको थियो," उनले भने, "अब हरेक वर्ष दानपेटिका खोलेर सटही गरिने प्रणाली सुरु गरेका छौं ।"
कुन देशका कति मुद्रा भेटिए ?
हालै सटही भएका प्रमुख मुद्रा:
- म्यानमार – ११ करोड ८० लाख ७९ हजार २५० क्याट
- ओमन – ५ हजार ३३९ रियल
- श्रीलंका – २२ लाख ७७ हजार २३० रुपैयाँ बराबर
- पेरु – ६ लाख ५१ हजार ८३
- भियतनाम – ४ लाख ९८ हजार ३९८
- इन्डोनेसिया – २ लाख ७० हजार ७४५
- कम्बोडिया – १ लाख ९८ हजार ७०९
- भुटान – १ लाख १ हजार ४९२ नेपाली रुपैयाँ बराबर
त्यस्तै, मंगोलिया, अफगानिस्तान, रसिया, ब्राजिल, टर्की, इरान, युक्रेन, मकाउ, स्वीडेन, मोरिसस, सियरा लिओन लगायतका देशका मुद्रा संग्रहालयका लागि छुट्याइएको कोषले जनाएको छ ।
भ्रमण संख्या बढ्दो, तर बसाइ छोटो
सन् २०२४ मा भारतबाहेक तेस्रो मुलुकका १ लाख ११ हजार ४०३ पर्यटक लुम्बिनी आएका थिए, जुन अघिल्लो वर्षको तुलनामा ४८ प्रतिशतले बढी हो। कुल ११ लाखमध्ये ७ लाख ५९ हजार ९९० नेपाली पर्यटक थिए ।
तेस्रो मुलुकतर्फ सर्वाधिक पर्यटक श्रीलंकाबाट (२३,५६९) आए भने त्यसपछि थाइल्यान्ड (२१,४९६), म्यानमार (१०,५१७), भियतनाम (८,५००) र दक्षिण कोरिया (४,६४६) रहेका छन् । विशेष पर्यटकका रूपमा श्रीलंकाका पूर्वराष्ट्रपतिहरू महिन्दा राजापाक्षे र रनिल विक्रमसिंघे, चीनका मन्त्रीहरू र हलिउड अभिनेता जेट ली समेत लुम्बिनी भ्रमणमा आएका थिए ।
लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवालीका अनुसार पर्यटक संख्या बढ्दो छ, तर उनीहरूको बसाइ छोटो छ। "करिब २० प्रतिशत मात्र तिलौराकोट वा रामग्रामसम्म पुग्छन्," उनले भने, "प्याकेजमा विविध गन्तव्य समेटेर बसाइ लम्ब्याउन सके आर्थिक लाभ पनि दोब्बर हुन्छ ।"
न्यूयोर्क टाइम्सको सूचीमा लुम्बिनी
लुम्बिनीलाई सन् २०२५ का लागि न्यूयोर्क टाइम्सले विश्वका ५२ गन्तव्यमध्ये नवौँ स्थानमा राखेपछि थप उत्साह थपिएको छ । कोषका सचिव शाक्यले भने, "नेपालले प्रचारका लागि खर्च गरेर गर्न नसक्ने काम यो सूचीमा नाम राखेर भयो । अब यसको प्रभावकारी उपयोग गर्नुपर्छ ।"