आदिवासी जनजाति थारू समुदायले परम्परागत रूपमा मनाउँदै आएको घाटो पर्व पछिल्लो समय क्रमशः लोपोन्मुख बन्दै गएको छ ।
चैत महिनाको शुक्लपक्षमा मनाइने यो सांस्कृतिक पर्व संरक्षणको अभाव र बदलिँदो जीवनशैलीका कारण समुदायबाट हराउँदै गएको हो । घाटो पर्वमा थारू समुदायका युवतीहरूले असल वर पाउने कामनासहित माता गौरी (पार्वती) को पूजा गर्ने परम्परा रहेको छ ।
यस क्रममा युवतीहरूले माटोबाट गौरीको मूर्ति निर्माण गरी गाउँका कुनै एक घरको आँगनमा स्थापना गर्ने र बिहान–बेलुका पूजा–आराधना गर्ने चलन थियो । साथै सामूहिक रूपमा घाटो गीत, चैतार गीत गाउँदै झमटा नृत्य प्रस्तुत गर्ने परम्परा पनि रहेको थियो ।
पर्वको विशेष आकर्षणका रूपमा युवतीहरूको समूहले आँपका बगैँचाबाट पात टिपेर ल्याउने, त्यही पातमा खीर पकाई माता गौरीलाई भोग लगाउने र प्रसाद वितरण गर्ने परम्परा प्रचलित थियो । त्यसपछि गाउँका अग्रजहरूलाई प्रसाद दिँदै चन्दा सङ्कलन गरी नाचगान तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिन्थ्यो ।
माता गौरीको मूर्ति विसर्जन गर्ने दिन पर्व विशेष रूपमा मनाइन्थ्यो । सो अवसरमा गाउँभरिका परिवारले आफ्ना छोरी, बहिनी तथा आफन्तलाई निमन्त्रणा गरी भेटघाट गर्ने परम्परा रहँदै आएको थियो ।
खेतीपातीको व्यस्त समयबीच यो पर्व पुनर्मिलनको अवसरका रूपमा पनि लिइन्थ्यो । यस अवसरमा ठेकुवा, तेलही रोटी, दूधपुवा जस्ता परिकार तयार गरी कोसेली पठाउने चलन पनि रहेको थियो । तर पछिल्लो समय घाटो पर्वको स्वरूप फेरिँदै गएको छ ।
अहिले नाचगान तथा सांस्कृतिक कार्यक्रम सीमित रूपमा मात्र हुने र अन्य परम्परागत गतिविधि क्रमशः हराउँदै गएको देखिन्छ । धेरै स्थानमा एकै दिन पूजा गरी मूर्ति खोलामा विसर्जन गरेर पर्व समापन गर्ने चलन बढ्दै गएको छ ।
पटेर्वासुगौली गाउँपालिकाकी उपाध्यक्ष तथा थारू कल्याणकारी समितिकी केन्द्रीय पार्षद् ममता महतोका अनुसार व्यस्त जीवनशैली, शिक्षा तथा रोजगारीका लागि युवापुस्ताको शहरतर्फ आकर्षणले पर्वप्रतिको चासो घट्दै गएको हो ।
उनले एकै बस्तीमा पर्व मनाउँदा ठूलो आर्थिक खर्च लाग्ने भएकाले परम्परागत रूपमा मनाउन कठिन भएको बताउँदै संरक्षणका लागि सामूहिक रूपमा एकै स्थानमा आयोजना गर्नुपर्ने सुझाव दिएकी छन् ।
हाल थारू समुदायले घाटो पर्वलाई माघीजस्ता कार्यक्रममा प्रदर्शनात्मक रूपमा मात्र प्रस्तुत गर्न थालेको देखिन्छ, जसले यसको मौलिकता क्रमशः हराउँदै गएको संकेत गरेको छ।