मिथिलाको राजधानी जनकपुरधाम यतिबेला भगवान् राम र सीताको ऐतिहासिक विवाहपञ्चमी महोत्सवले जनकपुर धर्म−संस्कृतिको रंगमा रंगिएको छ ।
शहरका चोक, गल्ली र मठमन्दिरहरूमा ‘आजु मिथिला नगरिया नेहाल सखिया…’ जस्ता लोकधुन गुञ्जिरहेका छन्, जसले यहाँको उत्सवको ताताेपना अझै बढाइदिएको छ । देशभरिबाट र भारतका बिहार–उत्तर प्रदेश क्षेत्रबाट आएका लाखौँ श्रद्धालुले शहर खचाखच भरिएको छ ।
होटल भरिए, पण्डाल र नगरवासीकाे घर घरमा श्रद्धालुको वास
साताव्यापी विवाहपञ्चमी महोत्सवका कारण जनकपुरका होटलहरू दिनहुँजसो ‘हाउसफल’ भएका छन् । कोठा नपाउने श्रद्धालुहरू जानकी मन्दिर परिसरमा लगाइएकाे पण्डालमा बसिरहेका छन् । स्थानीयहरूले पनि आफ्ना घर, धर्मशाला र सामुदायिक भवनहरूमा श्रद्धालु भक्तजनहरूकाे सेवाका लागि खुला गरेका छन् ।
स्थानीयका अनुसार विवाहपञ्चमी जनकपुरवासीका लागि केवल धार्मिक पर्व मात्र नभइ, पहिचान, गौरव र सांस्कृतिक अस्तित्वसँग जोडिएको उत्सव बनेकाे छ ।
मिथिलाको संस्कृति - जनकपुरको तयारी
सात दिनसम्म चल्ने विवाहपञ्चमी महोत्सवका प्रत्येक दिन पृथक विधि, झाँकी र धार्मिक कर्मकाण्डले जनकपुरमा उत्सवको लय निरन्तर चलिरहेकाे छ । जानकी मन्दिर ‘बेहुली’ पक्ष बन्छ भने राम मन्दिर ‘बेहुला’ पक्ष बन्छ । महन्थ रामतपेश्वर दासका अनुसार, “छोरीको विवाहजस्तै तयारी गर्छौं । कहिलेकाहीँ बिदाइको कल्पनाले नै आँसु आउँछ ।”
राम मन्दिरका महन्थ राम गिरीले भने दशरथ राजा बनेर रामको जन्तीको नेतृत्व गर्ने भूमिकालाई ‘पूर्वजन्मको पुण्य’ मान्छन् । महोत्सवमा विभिन्न विधिका लाखौँ सहभागी हुने भएकाले सुरक्षा संयन्त्र उच्च सतर्कता अपनाइएकाे छ । धनुषाका प्रहरी उपरिक्षक रुगमबहादुर कुँवरका अनुसार विवाह पञ्चमिका लागि १४ सय नेपाल प्रहरी, ७ सय सशस्त्र प्रहरी र सादा पोसाकका तालिमप्राप्त प्रहरी लगायत परिचालन गरिएकाे छ । भीड नियन्त्रण, ट्राफिक व्यवस्थापन र अपराध नियन्त्रणका लागि विशेष संयुक्त रणनीति लागू गरिएको छ । स्थानीय युवा क्लबहरूले स्वास्थ्य शिविर, हराएकाहरूका लागी भेटाउने केन्द्र र स्वयंसेवक सेवा लगायतकाे सेवा सञ्चालन गरिरहेका छन् ।
सात दिनको महोत्सव यसरी बढ्छ अगाडि
पहिलाे दिन नगर दर्शन : त्रेता युगमा राम–लक्ष्मण र गुरु विश्वामित्र सीताको स्वयंवरका लागि जनकपुर आएका स्मरणमा नगर दर्शन गराइन्छ । जानकी मन्दिर परिसरमा रामायणकालीन मिथिलाको प्रतिरूप समेत निर्माण गरिन्छ ।
दाेश्राेदिन फूलबारी लीला : राम र सीताको पहिलो जम्काभेटको स्मरणमा ऐतिहासिक विवाहमण्डप क्षेत्रमा फूलबारी लीला आयोजना हुन्छ । राम–जानकीका झाँकीले वातावरण काव्यमय बन्छ ।
तेश्राे दिन धनुष यज्ञ : रंगभूमि मैदानमा हुने धनुष यज्ञमा हजारौं श्रद्धालु उपस्थित हुन्छन् । शिवधनुष उठाएर सीतालाई वरण गर्ने ‘योग्य वर’ को प्रतीकात्मक कथा यही दिन पुनः अवतरित गरिन्छ ।
चाैथाे दिन तिलकोत्सव : जानकी मन्दिरबाट राम मन्दिरमा फलफूल, मिष्टान्न र पाहुर बोकेर जाने परम्परागत कार्यक्रम गरिन्छ । यसदिन महिलाहरूले मिथिलानी गीत, हास्य र परिहासका माध्यमबाट माहोल झनै रमाइलो बनाउँछन् ।
पाचाैँ दिन मटकोर : गंगासागर पोखरीबाट बिहेको वेदी बनाउन आवश्यक माटो लिएर शोभायात्रा निकालिन्छ । झाँकी, नाचगान र बाजागाजाले शहर उत्सवमय बन्छ ।
छठाै दिन स्वयंवर र विवाह : सबैभन्दा भव्य दिन । रंगभूमि मैदानमा राम र सीताको स्वयंवर सम्पन्न हुन्छ । साँझ जानकी मन्दिरमा वैदिक परम्पराअनुसार विवाह सम्पन्न हुन्छ । लाखौँ श्रद्धालु उपस्थित भइरहन्छन् ।
साताैँ दिन राम कलेवा (जन्ती बिदाइ) : अन्तिम दिन राम मन्दिरमा जन्तीलाई परम्परागत भोजन खीर, मिठाई, मौहक खुवाएर दक्षिणा दिई बिदाइ गरिन्छ । राम–लक्ष्मणसहित चार भाइको प्रतीकका रूपमा चार बालकलाई भोजन गराइने विशेष परम्परा आजसम्म निरन्तर छ ।
विवाहपञ्चमी महोत्सवका थप व्यवस्थापन
जनकपुरधाममा हरेक वर्ष पाँच–सात लाखभन्दा बढी भक्तजन आउने गरेका छन् । यस वर्ष यो संख्या १० लाख नाघ्ने नगरपालिकाको अनुमान रहेकाे छ । जनकपुर–जयनगर रेल यातायातमा विशेष चाप छ । घरेलु तथा भारतीय पर्यटकका कारण जनकपुर विमानस्थलमा उडान संख्या बढाइएको छ ।
बजारमा आर्थिक रौनक ः पातभाङ्गा, मखाना, मिठाई, माछा, माटाकाम, मखमली र मधुवनी चित्रकलाको बिक्रीले बजार अत्यधिक सक्रिय बनेको छ ।
मिथिलाको शान—संस्कृति र आस्थाको संगम ः विवाहपञ्चमी केवल धार्मिक कार्यक्रम मात्र होइन, मिथिलाको कला, संस्कृति, भेषभूषा, भाषा र भावनाको अनन्त धरोहर हो । जनकपुरमा अहिले आस्था, श्रद्धा, संस्कृति र पर्यटन चुलिँदै छ, जसमा सिङ्गो शहर दुलही–दुलहा स्वागतका रंगमा रङ्गिएको छ ।