परम्परादेखि कृषिमा निर्भर जिल्लाका बासिन्दाले पछिल्ला वर्षहरूमा खेतीपाती गर्न क्रमशः छाड्दै गएका छन् । खेत जोत्न, मल हाल्न र विषादी छर्किन लाग्ने खर्चसमेत असुल नहुने अवस्था आएपछि किसानहरू गम्भीर संकटमा परेका हुन् ।
अत्यधिक रासायनिक मल र विषादीको प्रयोगले किसानको लागत मात्र बढेको छैन, उपभोक्ताको स्वास्थ्य, माटोको उर्वराशक्ति र वातावरणमा समेत गम्भीर असर गरिरहेको स्थानीयवासीहरूले बताएका छन् ।
गत कात्तिकमा बेमौसमी वर्षाले १३ कट्ठामा लगाएको काउली नष्ट भएपछि बर्दिवास–९ पशुपतिनगरका किसान लालबिहारी महतो ठूलो आर्थिक संकटमा परेका छन् । उनले बीउ खरिदमै ५० हजार रुपैयाँ खर्च गरेको र बाली नष्ट हुँदा झण्डै पाँच लाख रुपैयाँ बराबरको नोक्सान भएको बताए । तरकारीबाट हुने आम्दानी गुम्नुका साथै मल, विषादी र खनजोतमा लागेको ऋण कसरी तिर्ने भन्ने चिन्ताले उनलाई पिरोलिरहेको छ ।
स्थानीय किसान श्रवण महतोका अनुसार अहिले विषादीबिना उत्पादन नै सम्भव छैन । “पहिले माटो आफैँ औषधि जस्तो थियो, अहिले विषादीले माटो पनि विष बनाइदिएको छ,” उनले भने । तराई क्षेत्रमा शीतलहर र अत्यधिक चिसोका कारण तरकारी बोट गल्ने, कुहिने र कीराले खाने समस्या बढेपछि किसानहरू एम–४५ कार्बेन्डाजिमजस्ता औषधि प्रयोग गर्न बाध्य भएका छन् ।
माटोविज्ञ मोहन खड्काका अनुसार आम्दानीभन्दा घाटा बढेपछि किसानहरू कृषि पेसा छाड्न थालेका हुन् । बर्दिवास–६ स्थित प्राकृतिक स्रोत व्यवस्थापन कलेजले गरेको अध्ययनले मधेसको माटोमा अम्लीयपन बढ्दै गएको देखाएको छ ।
कलेजका प्रमुख तथा बालीविज्ञ अभिषेक श्रेष्ठका अनुसार ७० बिघा क्षेत्रमा गरिएको माटो परीक्षणमा अम्लीयपन ५.५ मात्रै देखिएको छ, जबकि राम्रो माटोका लागि यो ६.५ देखि ७ को बीच हुनुपर्छ । मधेसको माटोका लागि ६.५ प्रतिशत अम्लीयपन उपयुक्त मानिन्छ ।
“यसैगरी रासायनिक मल र विषादी प्रयोग हुँदै गयो भने माटो नै काम नलाग्ने बन्दै जान्छ,” श्रेष्ठले भने, “यसले भविष्यमा उत्पादनमा झनै गम्भीर संकट ल्याउनेछ ।”