वैवाहिक संस्कारलाई पारिवारिक तथा सामाजिक मिलनको महत्वपूर्ण आधारका रूपमा लिइन्छ ।
कानुनी व्यवस्थाअनुसार २० वर्ष उमेर पूरा गरेका स्त्री र पुरुषले साक्षी राखेर विवाह गर्न सक्ने व्यवस्था छ। धार्मिक दृष्टिले विवाहलाई दुई आत्माबीचको पवित्र मिलनका रूपमा व्याख्या गरिएको छ । धार्मिक शास्त्रहरू, विशेषगरी मनुस्मृति लगायत ग्रन्थहरूमा विवाहलाई भाग्य, समय र संस्कारसँग जोडिएको पवित्र प्रक्रिया मानिएको छ । विभिन्न जातजाति, धर्म र सम्प्रदायअनुसार विवाह संस्कार फरक–फरक भए पनि हिन्दू परम्परामा शुभ साइत (लगन) मा विवाह गर्ने प्रचलन रहँदै आएको छ ।
ज्योतिषीय गणनाअनुसार २०८३ सालमा विवाहका लागि जम्मा ४१ दिन शुभ लगन रहेको जनाइएको छ । महिनाअनुसार वैशाखमा ८ दिन, असारमा ७ दिन, मंसिरमा ८ दिन, माघमा ६ दिन र फाल्गुनमा सबैभन्दा बढी १२ दिन लगन परेको छ ।
वैशाख महिनामा ७, ८, २२, २३, २४, २५, ३० र ३१ गते विवाहका लगन छन् भने असारमा ९, १३, १४, १५, १७, १८ र २३ गते शुभ साइत रहेको छ। त्यस्तै मंसिर, माघ र फाल्गुन महिनामा पनि विभिन्न दिन दिउँसो र राति लगन रहेको जनाइएको छ । शास्त्रीय परम्पराअनुसार विवाहअघि बर–बधुको चिना मिलाएर दोष नभएको सुनिश्चित गरिन्छ। वर्ण, वश्य, तारा, योनी, मैत्री, गण, भकुट र नाडी गरी ३६ गुणमध्ये कम्तीमा १८ गुण मिल्नुलाई उपयुक्त मानिन्छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति का अध्यक्ष शम्भुप्रसाद ढकाल का अनुसार २०८३ आषाढ ३२ गते बृहस्पति ग्रह अस्त भएर साउन २४ गते उदय हुने तथा असोज २८ गते शुक्र ग्रह अस्त भएर कार्तिक ११ गते उदय हुने भए पनि ती अवधिमा विवाहको लगन नपरेकाले विवाहमा प्रत्यक्ष असर नपर्ने जनाइएको छ ।
समितिका अनुसार विवाहका शुभ साइत निर्धारण गर्दा ग्रह–नक्षत्र, तिथि, वार र लगनको विशेष गणना गरिने भएकाले विवाह मिति छनोट गर्दा पञ्चाङ्गअनुसार निर्णय गर्न सुझाव दिइएको छ ।