काठमाडौँ उपत्यकामा वायु प्रदूषण उल्लेखनीय रूपमा बढेको छ । सोमबार मध्याह्न १७८ रहेको वायु गुणस्तर सूचकाङ्क (एक्युआई) मङ्गलबार मध्याह्नसम्म १९१ पुगेको छ । यो स्तर ‘सबैका लागि अस्वस्थ’ श्रेणीमा पर्छ, जसले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वास र मुटुरोगीलाई बढी असर पार्न सक्छ ।
‘एयर क्वालिटी इन्डेक्स (एक्युआई)’ अनुसार मङ्गलबार काठमाडौँ विश्वकै तेस्रो प्रदूषित सहरका रूपमा सूचीकृत भएको छ । दिल्ली २२९ एक्युआईसहित पहिलो र लाहोर २०३ एक्युआईसहित दोस्रो स्थानमा रहेका छन् ।
वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले वर्षा नभए आगामी दिनमा प्रदूषण अझै बढ्न सक्ने बताएका छन् । उनका अनुसार वर्षाले हावामा रहेको धुलो तथा सूक्ष्म कणलाई जमिनमा झार्न मद्दत गर्छ । लामो समयसम्म सुक्खा मौसम रहँदा प्रदूषणको मात्रा उच्च हुने उनले उल्लेख गरे । दिगो तथा वातावरणमैत्री विकासका उपाय प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायलाई सुझाव दिइएको उनले जानकारी दिए ।
वातावरण अभियन्ता वर्षा पराजुलीका अनुसार उपत्यकामा सवारीसाधनको तीव्र वृद्धि, डिजेल तथा पेट्रोलबाट निस्कने धुवाँ, निर्माणाधीन सडक तथा पूर्वाधार आयोजनाबाट उड्ने धुलो, वन डढेलो र लामो समयसम्मको सुक्खा मौसमले वायु प्रदूषण बढाएको छ । “यदि समयमै नियन्त्रणका उपाय अपनाइएन भने स्थिति अझ जटिल बन्न सक्छ,” उनले भनिन् । सुक्खा अवस्था जारी रहे प्रदूषण थप बढ्न सक्ने भन्दै उनले समयमै सचेत हुन आग्रह गरेकी छन् ।
इन्डेक्सको तथ्याङ्कअनुसार ० देखि ५० एक्युआई राम्रो (हरियो सङ्केत), ५१ देखि १०० सचेत रहनुपर्ने (पहेंलो), १०१ देखि १५० अस्वस्थ, १५१ देखि २०० सबैका लागि अस्वस्थ, २०१ देखि ३०० धेरै अस्वस्थ तथा ३०० भन्दा माथि पुगेको अवस्था अत्यन्तै खतरनाक मानिन्छ ।
काठमाडौँ उपत्यकाको वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ अनुसार एक्युआई ३०० भन्दा बढी पुगेको अवस्थालाई विपद् मानिने व्यवस्था छ । यस्तो अवस्थामा फोहोर बाल्ने कार्य रोक्ने, सडक सफाइका लागि ‘ब्रुमर’ तथा ‘भ्याकुम’को प्रयोग बढाउने तथा बालबालिका, ज्येष्ठ नागरिक र बिरामीलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्ने उल्लेख छ ।
राष्ट्रिय वातावरण नीति, २०७६ अनुसार वायु प्रदूषण न्यूनीकरणका लागि जल, वायु, माटो, ध्वनि, विद्युत्–चुम्बकीय तरङ्ग, रेडियोधर्मी विकिरण तथा जोखिमपूर्ण रासायनिक प्रदूषणसम्बन्धी राष्ट्रिय मापदण्ड तयार गरी कार्यान्वयन गर्ने रणनीति छ । साथै प्रमुख सहर, औद्योगिक क्षेत्र तथा प्रदूषणको जोखिम रहेका स्थानमा गुणस्तर मापन केन्द्र स्थापना गरी वायु, जल र ध्वनि गुणस्तरको नक्साङ्कन गरिने व्यवस्था गरिएको छ ।