महोत्तरी । विक्रम संवत् अनुसार आजदेखि नयाँ वर्ष २०८३ सुरु भएको छ । नयाँ वर्षको आगमनसँगै मधेसको मिथिला क्षेत्रमा परम्परागत ‘जुडशीतल’ पर्व हर्षोल्लासपूर्वक मनाउन थालिएको छ ।
वैशाख १ र २ गते गरी दुई दिनसम्म मनाइने यस पर्वको पहिलो दिनलाई ‘सतुवाइन’ र दोस्रो दिनलाई ‘जुडशीतल’ भनिन्छ । मिथिला क्षेत्रमा कूलदेवताको पूजा गर्दै सुरु हुने यस पर्वले नयाँ वर्षमा शीतलता, आरोग्यता र समृद्धिको कामना गर्ने परम्परा बोकेको छ ।
महोत्तरीको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ (संस्कृत क्याम्पस) का प्राचार्य हेमनारायण कर्णका अनुसार विक्रम संवत् सुरु भएसँगै गर्मी बढ्ने भएकाले जीवनमा शीतलताको कामना गर्दै ‘जुडशीतल’ पर्व मनाउने चलन रहिआएको छ । उनका अनुसार पहिलो दिन ‘सतुवाइन’ विधिबाट पर्वको सुरुआत गरिन्छ ।
यस दिन चना वा बदाम, जौ, मकै, कँगनो, गहुँ, चामल र मुँगसहित सात प्रकारका अन्नबाट बनाइएको सातु तथा सखरको सर्वत कूलदेवतालाई चढाइन्छ । त्यसपछि कूलपुरोहित, ब्राह्मण तथा साधुहरूलाई दान दिने चलन छ। यस अवसरमा चना, मुँग र जौबाट बनेका शीतल परिकारहरू खाने परम्परा पनि रहिआएको छ ।
पर्वको दोस्रो दिन ‘जुडशीतल’ मा घरघरमा ज्येष्ठ सदस्यहरूले सानालाई टाउकोमा पानी छर्केर आरोग्यता, दीर्घायु र शीतलताको आशीर्वाद दिने चलन रहेको प्राचार्य कर्णले जानकारी दिए ।
संस्कृतिविद् ध्रुव रायका अनुसार ‘जुड’ र ‘शीतल’ शब्द मिलेर बनेको यस पर्वले जीवनमा शीतलता जोड्ने सन्देश दिन्छ । उनका अनुसार यस अवसरमा सातु, दाल, सोहिजन (मुँग) को तरकारी, बदामको बरी तथा दहीबाट बनाइने कढी खाने परम्परा छ ।
यो पर्व सहकाल र समृद्धिको प्रतीकका रूपमा पनि लिइन्छ । वर्षभरि राम्रो वर्षा र उत्पादनको कामना गर्दै मिथिलामा आपसमा धुलो, माटो र हिलो खेल्ने परम्परा रहेको छ । स्थानीय ज्येष्ठ नागरिक भुवनेश्वरप्रसाद सिंहका अनुसार माटोसँग जोडिने यो परम्पराले कृषिकर्ममा निरन्तर लागिरहन प्रेरणा दिने सन्देश बोकेको छ ।
पर्वका अवसरमा खेतबारीका रुखबिरुवामा पानी सिञ्चित गरी चिस्यानको कामना गर्ने परम्परा पनि रहेको छ । मधेसका मिथिला क्षेत्रका जिल्ला तथा भारतका सीमावर्ती सीतामढी, झञ्झारपुर, शिवहरलगायत स्थानमा पनि यो पर्व उल्लासका साथ मनाइन्छ ।
लोकसंस्कृति तथा परम्पराका ज्ञाता कामेश्वर झाका अनुसार ‘कृषि मूलश्च जीवनम्’ भन्ने सन्देशलाई आत्मसात गर्दै नयाँ वर्षको सुरुआत कृषिसँग जोडेर गर्ने परम्परा नै जुडशीतल पर्वको विशेषता हो । यस पर्वले आपसी सद्भाव, सहकार्य र सामाजिक एकताको सन्देश समेत दिने विश्वास गरिएको छ ।