काठमाडौँस्थित पशुपतिनाथ मन्दिरको झल्को दिने मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ मा रहेको भुवनेश्वर महादेव मन्दिर क्षेत्रलाई प्रमुख धार्मिक तथा पर्यटकीय तीर्थस्थलका रूपमा विकास गरिएको छ ।
पशुपतिनाथकै स्वरूपमा निर्माण गरिएको करिब १० कठ्ठा ७ धुर क्षेत्रफलमा फैलिएको मन्दिर परिसरमा नवग्रह, हनुमान, सरस्वतीलगायत देवीदेवताका मूर्तिहरूका साथै अतिथि गृहसमेत रहेको छ ।
विसं २०४२ सालमा निर्माण गरिएको उक्त मन्दिरमा पशुपतिनाथकै जस्तै पूजाविधि तथा परम्परा अपनाइएको मन्दिरका पूजारी पवन घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार दर्शनार्थीहरूले मूल मूर्तिसम्म नपुगी बाहिरबाट नै पूजाआजा गर्ने व्यवस्था मिलाइएको छ ।
विशेष पर्वहरू जस्तै शिवरात्रिमा यहाँ दैनिक २० हजारभन्दा बढी भक्तजन आउने गरेका छन् । भक्तजनको सुरक्षाका लागि दीप तथा धुप प्रज्वलनको व्यवस्था पश्चिम–दक्षिण भागमा गरिएको छ । मन्दिर व्यवस्थापनले पर्वका दिनमा पश्चिमद्वारबाट प्रवेश र पूर्वीद्वारबाट बहिर्गमनको व्यवस्था गरेको छ भने अन्य दिन आवश्यकताअनुसार प्रवेशद्वार सञ्चालन गरिन्छ ।
मङ्सिर, पुस र माघ महिनामा बिहान ५ बजेदेखि १० बजेसम्म तथा बेलुका ४ बजेदेखि ६ बजेसम्म मन्दिर खुला रहने व्यवस्था छ । अन्य महिनामा बिहान ४ बजेदेखि १० बजेसम्म र बेलुका ५ः३० बजेदेखि ७ बजेसम्म खुला रहने व्यवस्था गरिएको छ ।
भक्तजनबाट संकलित भेटी तथा सटर भाडा नै मन्दिर सञ्चालनको मुख्य स्रोत हो । परिसर उपयोग तथा विशेष पूजाका लागि सेवा शुल्क पनि निर्धारण गरिएको छ । खुला चौर प्रयोगका लागि ५०० रुपैयाँ, भजन–कीर्तन हलका लागि १ हजार, यज्ञ मण्डपका लागि १ हजार ५०० रुपैयाँ, विशेष पूजा तथा लघु रुद्रीका लागि २ हजार १११ रुपैयाँ, लाखबत्ती, पास्नी तथा स्वयंवरका लागि १ हजार १११ रुपैयाँ शुल्क तोकिएको छ ।
मन्दिर परिसर व्यवस्थापनका लागि भूवनेश्वर सेवा समितिले २०६८ सालदेखि ११ बुँदे नागरिक बडापत्र लागू गर्दै आएको छ । समितिका अध्यक्ष जगन्नाथ पाण्डेका अनुसार दर्शनार्थीका लागि आवास सुविधा पनि उपलब्ध छ, जसका लागि प्रतिव्यक्ति २०० रुपैयाँ शुल्क लिने गरिएको छ । भवन निर्माणका लागि वागमती प्रदेश सरकारबाट ३० लाख रुपैयाँ सहयोग प्राप्त भएको उनले जानकारी दिनुभयो ।
मन्दिर परिसरमा सोमबार, शुक्रबार, शनिबार तथा एकादशीका दिन विशेष भजन–कीर्तन हुने गर्दछ । बढ्दो भक्तजनको उपस्थितिलाई ध्यानमा राख्दै थप कुर्सी व्यवस्थापन आवश्यक रहेको सल्लाहकार हरि रिजालले बताउनुभयो । पहिले दुव्र्यसनीको अखडा जस्तो रहेको यो स्थान अहिले प्रमुख धार्मिक केन्द्रका रूपमा विकसित भएको अध्यक्ष पाण्डेले बताउनुभयो ।
मन्दिर क्षेत्रमा इन्टरनेट सुविधाका लागि नेपाल टेलिकममार्फत निःशुल्क वाइफाइको व्यवस्था गरिँदैछ । साथै, यहाँ दैनिक योग तथा जीवन विज्ञानका कक्षा पनि सञ्चालन हुँदै आएका छन् ।