नेपाल आयल निगमले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो सञ्चालनमा ल्याएको छ । निगमले आफ्नो ५५ वर्षे इतिहासमै पहिलोपटक शतप्रतिशत स्वदेशी सीप र पुँजी प्रयोग गरी करिब ७५ करोड रुपैयाँको लागतमा डिपो निर्माण सम्पन्न गरेको हो ।
पोखरामा निर्मित उक्त डिपो आधुनिक सुविधासम्पन्न र पूर्णतः स्वदेशी परामर्शदाता, निर्माण व्यवसायी तथा आन्तरिक स्रोतबाट निर्माण भएको हो । हवाई इन्धन डिपो निर्माण परियोजना पोखराका प्रमुख प्रदीपकुमार यादवका अनुसार, “यो उपलब्धि नेपालको ऊर्जा क्षेत्रमा आत्मनिर्भरताको दिशामा एक महत्त्वपूर्ण कदम हो ।” उनले थपे, “परियोजनाले केवल पोखरामा हवाई इन्धनको आपूर्ति सुनिश्चित गरेको छैन, स्वदेशी सीप र क्षमताको पहिचान पनि गराएको छ ।”
डिपोमा तीनवटा ठूला भण्डारण ट्यांक निर्माण गरिएको छ, जसको प्रत्येकको क्षमता १,२०० किलोलिटर रहेको छ। कुल ३,६०० किलोलिटर हवाई इन्धन भण्डारण क्षमता भएको डिपोका ट्यांकहरू १२ मिटर उचाइ र व्यास भएका छन् ।
यसका लागि नागरिक उड्डयन प्राधिकरणसँग ९,२१५ वर्गमिटर क्षेत्रफलको जग्गा लिज सम्झौता गरेर परियोजना सञ्चालन गरिएको हो । जडान गरिएका स्टोरेज ट्यांक र पाइपहरू अमेरिकी पेट्रोलियम इन्स्टिच्युट (API) मापदण्डअनुसार निर्मित भएकाले अन्तर्राष्ट्रिय गुणस्तर सुनिश्चित भएको निगमले जनाएको छ ।
सुरक्षालाई उच्च प्राथमिकता दिँदै डिपोमा १,२०० किलोलिटर क्षमताको पानी ट्यांकी, ४,००० लिटर क्षमताको फोम ट्यांकी र आधुनिक फायर फाइटिङ संरचना जडान गरिएको छ । आगलागी नियन्त्रणका लागि २३० हर्सपावर क्षमताका दुईवटा फायर फाइटिङ डिजल पम्प, १५ हर्सपावर क्षमताको जक्की पम्प तथा ८ इन्च व्यासको पाइप समेत जडान गरिएको छ ।
भण्डारण ट्यांकमा हवाई इन्धन भर्ने तथा ट्यांकरबाट ल्याइएको इन्धन भण्डारण गर्न ‘प्रोडक्ट पम्प’ जडान गरिएको छ । लोडिङ तथा अनलोडिङको क्रममा इन्धनको गुणस्तर कायम राख्न १ माइक्रोन र ५ माइक्रोन क्षमताका फिल्टरहरू जडान गरिएको छ ।
डिपो निर्माणका लागि २०७७ चैत २ गते सार्वजनिक खरिद ऐनअनुसार बोलपत्र आह्वान गरिएको थियो । तर विविध कारणले डेढ वर्षपछि मात्र २०७९ कात्तिक २९ गते निर्माण सम्झौता सम्पन्न भएको थियो। त्यसपछि २०७९ पुस १५ गते नागरिक उड्डयन प्राधिकरणसँग लिज सम्झौता गरिएको थियो ।
आधिकारिक रूपमा २०८० साउन १ गते तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालको उपस्थितिमा डिपोको शिलान्यास गरिएको थियो। परियोजनाको सम्पूर्ण लागत निगमकै आन्तरिक स्रोतबाट व्यवस्थापन गरिएको हो ।
यो डिपोले पोखराबाट उडान तथा अवतरण गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमानहरूलाई सहज रुपमा हवाई इन्धन उपलब्ध गराउनेछ ।