नेपालमा प्रजातन्त्रको जग राख्ने र जनता रैतीबाट अधिकारप्राप्त नागरिक बनाउने ऐतिहासिक प्रक्रिया सहज थिएन। यो यात्रामा अनेकौं नेताहरूको त्याग, संघर्ष र बलिदानीको कथा छ । तीमध्ये एक अग्रणी नाम हो– गिरिजाप्रसाद कोइराला । उनको राजनीतिक जीवन नेपालको लोकतान्त्रिक इतिहासको मेरुदण्ड हो, जसले आन्दोलन, वार्ता र समन्वयमार्फत राज्यको स्वरूप परिवर्तन गर्यो ।
कोइराला परिवार : राजनीतिक चेतनाको जरा
कृष्णप्रसाद कोइरालाले राणा शासनविरुद्धको विद्रोहको संकेतस्वरूप जनताको फाटेका लुगा प्रधानमन्त्री चन्द्रशमशेरलाई दरबारमा पठाएको ऐतिहासिक प्रसंग नेपालमा राजनीतिक चेतनाको बीउ बनेको थियो। कृष्णप्रसाद र उनकी पत्नी दिव्या कोइरालाबाट जन्मिएका विपी, गिरिजाप्रसाद, केशव र तारणीप्रसाद नेपाली राजनीतिमा अग्रस्थानमा रहे ।
त्यसैगरी विष्णुदेवी कोइरालाबाट जन्मिएका मातृकाप्रसाद कोइरालासमेत नेपाल प्रजातन्त्र कांग्रेसका संस्थापक बने। विपी र मातृकाका विचार भिन्न भए पनि दुबैले २००७ सालको प्रजातान्त्रिक क्रान्तिमा मुख्य भूमिका खेले ।
गिरिजाबाबुको आरम्भ र विराटनगर जुट मिल आन्दोलन
१९८१ साल असार २० गते बिहारको पुर्णियास्थित तेडीगाउँमा जन्मिएका गिरिजाप्रसाद कोइरालाले २००३ सालमा विराटनगर जुट मिलका मजदुरको आन्दोलनबाट राजनीतिक यात्रा सुरु गरे। त्यसपछि उनले कहिल्यै पछाडि फर्केर हेरेनन् । उनी एकै समयमा संगठनकर्ता, वार्ताकार, निर्णायक नेता र गम्भीर रणनीतिज्ञका रूपमा स्थापित भए।
२०३६ को जनमत संग्रहदेखि २०४६ को आन्दोलनसम्म
२०३६ सालको जनमत संग्रहमा बहुदल पराजित भए पनि विपी कोइरालाले जनताको अभिमतलाई सम्मान गरे। तर गिरिजाबाबुले उक्त परिणामलाई प्रश्न गर्न छाडेनन् । २०४२ सालको कांग्रेसद्वारा आयोजित सत्याग्रहमा उनले पार्टीको नेतृत्व गरे। दरबारको पश्चिम ढोकामा हस्ताक्षरसहित नागरिक अपिल बुझाउने क्रममा भएको व्यवहारले उनलाई झन कठोर बनायो । २०४६ को जनआन्दोलन कांग्रेसको नेतृत्वमा भए पनि वामपन्थी शक्तिलाई समेटेर संयुक्त आन्दोलन सफल बनाउनु उनको निर्णय क्षमताको प्रमाण हो ।
प्रधानमन्त्रीका रूपमा उतारचढाव
२०४८ सालमा गिरिजाप्रसाद बहुलवादी प्रणालीअन्तर्गतको दोस्रो प्रधानमन्त्री बने। त्यसपछि पटक–पटक प्रधानमन्त्रीको भूमिकामा रहे। २०५८ सालको दरबार हत्याकाण्डपछि राजाको असंवैधानिक कदमको विरोध गर्दै उनी फेरि अग्रपंक्तिमा उभिए। उनका पछिल्ला वर्षहरू राजतन्त्र विरुद्ध अन्तिम राजनीतिक लडाइँको प्रतिनिधि बन्यो ।
शान्ति प्रक्रिया र गणतन्त्रको स्थापना
२०५२ सालदेखि सुरु भएको माओवादी जनयुद्धले देश अस्थिरतातर्फ जाँदै गर्दा गिरिजाप्रसादले वार्तामार्फत समाधान खोज्न जोड दिए। यही सोच अन्ततः सफल बन्यो । २०६३ मंसिरमा माओवादी अध्यक्ष प्रचण्डसहित सात दल र माओवादीबीच १२ बुँदे शान्ति सम्झौता सम्पन्न गराउँदै उनले विद्रोहीहरूलाई संसदीय मूलधारमा ल्याए । ८३ जना माओवादीलाई संसद्मा प्रवेश गराउनु उनको दूरदृष्टिको उत्कृष्ट उदाहरण थियो। यही प्रक्रिया गणतन्त्रको ढोका खोल्ने मुख्य ढोका बन्यो ।
राजतन्त्रको अन्त्य र इतिहासको निर्णायक मोड
२०६२/६३ को दोस्रो जनआन्दोलनपश्चात् उनले संसद् पुनःस्थापनाको मागसहित सडक आन्दोलनको नेतृत्व गरे । अन्ततः राजा जनताका सामु घुँडा टेक्न बाध्य भए। दुई सय ३९ वर्षको राजतन्त्र अन्त्य भई नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गर्यो। यो विजय गिरिजाबाबुको राजनीतिक दूरदृष्टि र दृढताकै परिणाम थियो।
आलोचना र आत्मसमिक्षा
उनको नेतृत्वमा लाउडा, धमिजा, महाकाली सन्धी लगायतका विषयमा विवाद उठे । आलोचना पनि भए। तर उनले आलोचना स्वीकार्दै आफ्नो निर्णयको जिम्मेवारी लिए। उनले बारम्बार भनेका थिए– “राज्य कसरी सम्हाल्ने भन्ने सवालमा मसँग अनुभव छ, म देश डुब्न दिँदिन ।”
गिरिजाप्रसाद कोइराला नेपाली लोकतन्त्रका आधारस्तम्भ हुन् । उनको संपूर्ण जीवन जनताको पक्षमा समर्पित रह्यो । अन्तिम समयसम्म संविधान निर्माण, समावेशिता र राष्ट्रिय मेलमिलापको पक्षमा उनी प्रतिबद्ध रहे।प्रजातन्त्रका लागि गरिएको संघर्ष, समर्पण र दृढ संकल्पको कथा बुझ्न र आजको पुस्तालाई सन्देश दिन गिरिजाप्रसाद कोइरालाको जीवन इतिहासकै महत्वपूर्ण पाठशाला हो ।