साउनको पहिलो साता सकिँदासमेत तराई क्षेत्रमा पर्याप्त वर्षा नहँदा भू–जल स्रोतहरू सुकेका छन्, जसले गर्दा खानेपानीको अभावसँगै कृषिमा पनि गम्भीर संकट देखिएको छ। खोलानाला मात्र होइन, परम्परागत चापाकल, इनार र कुवाबाट समेत पानी आउन छाडेको छ ।
खडेरीका कारण मधेशका अधिकांश जिल्लामा रोपाइँ हुन सकेको छैन । रोपाइँ गरिएको ठाउँमा पनि पानीको अभावमा खेत फाट्न थालेका छन् । धेरै किसान धानको बाली सुक्ने डरमा छन् भने कतिपयले अझै रोपाइँ नै गर्न सकेका छैनन् ।
मधेश प्रदेश सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गर्दै दमकल र ट्यांकरमार्फत बस्तीमा पानी पुर्याउने प्रयास थालेको छ । जनकपुर, सिरहा, पर्सा, बर्दिया, कञ्चनपुरलगायतका जिल्लाहरूमा भूमिगत जलको सतह गम्भीर रूपमा घटेको छ । कतिपय स्थानमा ४००–५०० फिटसम्म गाडिएका चापाकलबाट समेत पानी आउन छाडेको स्थानीयको भनाइ छ ।
जनकपुरका अमरेन्द्र महतो ४० फिटको चापाकलबाट सहजै पानी आउने समय सम्झन्छन्, तर अहिले ४५० फिट गहिरो चापाकलसमेत सुक्न थालेको उनी बताउँछन् । सिरहा, बर्दिया, रूपन्देही, र कञ्चनपुरका बस्तीहरूमा पाइपबाट आउने पानीको आपूर्ति अस्थायी रूपमा दमकल र ट्यांकरको भरमा चलिरहेको छ ।
विश्लेषक चन्द्रकिशोर भन्छन्, “खडेरी र जलसंकटको समाधान दमकल वा ट्यांकरबाट पानी बाँडेर सम्भव छैन, यसका लागि संघीय, प्रदेश र स्थानीय तह मिलेर दीर्घकालीन प्याकेज आवश्यक छ ।” चुरे दोहन, वन विनाश, खोलानालाको चरम उत्खनन र भद्रगोल सिँचाइ प्रणाली खडेरीको मूल कारण भएको विज्ञहरूले बताएका छन् ।
मधेशका मुख्यमन्त्री सतीशकुमार सिंहले चुरे क्षेत्र र खोला–नालासँगको हस्तक्षेपलाई खडेरीको मुख्य कारण मानेका छन् । उनले प्रदेश सरकारले वर्षा पानी संचित गर्न र वाटर रिचार्ज प्रणाली विकास गर्न योजना अगाडि बढाइरहेको बताएका छन् ।
पश्चिम तराईको रूपन्देही, नवलपरासी, कपिलवस्तु, बाँके, बर्दिया र कञ्चनपुरमा पनि उस्तै संकट देखिएको छ । बर्दियामा मात्रै करिब ८ प्रतिशत रोपाइँ अझै बाँकी रहेको कृषि कार्यालयले जनाएको छ ।
संरक्षणविद्हरू भन्छन्, भूमिगत जल स्रोतहरू सुक्नुको कारण जमिनमुनिको पानी रिचार्ज नहुनु हो । वन विनाश, कंक्रिट संरचनाको विस्तार, र चुरे क्षेत्र अतिक्रमणले यो संकट अझ गहिरिँदै गएको हो ।