वीरगंज | नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सीमा क्षेत्रमा बस्ने नेपालीहरूले अब ज्ञानमा आधारित अर्थतन्त्रको सोच बनाउनुपर्नेमा जोड दिएका छन् । उनले जनशक्ति नै ज्ञान अर्थतन्त्रको मुख्य स्रोत भए पनि त्यसप्रति राज्यको ध्यान पर्याप्त नपुगेको बताए ।
शनिबार वीरगंजमा प्रदीप गिरि इन्स्टिच्युटले आयोजना गरेको “नेपाल, भारत र सीमाञ्चलः युवा, संस्कृति र पहिचानको राजनीति” शीर्षकको सत्रमा बोल्दै थापाले भारतले सूचना–प्रविधिको क्षेत्रमा गरेको प्रगतिबाट नेपाल पनि लाभान्वित हुनसक्ने उल्लेख गरे । उनका अनुसार, सीमाक्षेत्रका युवाहरू सूचना–प्रविधिमा दक्ष भए भारतीय बजारमा आफ्नो व्यवसाय विस्तार गर्न सजिलो हुने भए पनि त्यसको आधार तयार पार्न ढिलाइ भइसकेको छ ।
महामन्त्री थापाले शिक्षा र पोषणको समस्याले तराई–मधेशमा प्रतिस्पर्धी जनशक्ति उत्पादनमा अवरोध पुर्याइरहेको बताउँदै स्थानीय सरकारलाई पूर्वाधार भन्दा बढी शिक्षा र पोषणमा लगानी गर्न आग्रह गरे । उनले भने, “मधेशका स्थानीय सरकारले बाटो बनाएँ भनेर होइन, सार्वजनिक विद्यालयमा गणित र विज्ञानको स्तर कस्तो बनाएँ भनेर भन्न सक्नुपर्ने हो । बच्चाले राम्रो पोषण पाए, गुणस्तरीय शिक्षा पाए भनेमात्र भविष्य उज्यालो हुन्छ।”
थापाले कानुनी वा दुईदेशीय सम्बन्धभन्दा फरक, विशेषतायुक्त सीमाञ्चल सम्बन्धलाई आधार बनाएर नेपाल र भारत दुवैले पारस्परिक लाभ लिनेगरी अघि बढ्नुपर्ने बताए । यसका लागि उदार छलफल र सुरक्षा चासो सम्बोधन गर्दै व्यापार–व्यवसाय तथा आवत–जावत सहज बनाउन दुवै देशले पहल गर्नुपर्ने उनको भनाइ थियो । उनले सीमाञ्चल सम्मेलन आवश्यक भएको उल्लेख गर्दै त्यसको पहल प्रदीप गिरि इन्स्टिच्युटले गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा भारतीय लोकसभाका सांसद तथा जनता दल युनाइटेडका नेता सुधाकर सिंहले पनि सीमाञ्चलका अधिकांश मुद्दा साझा रहेको बताउँदै दुवै देश मिलेर जनहितका काम गर्नुपर्नेमा जोड दिए । उनले नेपाल र भारत दुबैका लागि पानी बरदान साबित भए पनि त्यसको उचित सदुपयोगमा समझदारीको खाँचो रहेको औंल्याए। जलवायु परिवर्तनको असर दुवै तर्फ परेकाले दोषारोपण नगरी साझा फाइदाको बाटो रोज्नुपर्ने पनि उनले बताए ।
सिंहले नेपालले सूचना–प्रविधि र मेडिकल क्षेत्रमा राम्रो सम्भावना राखेको बताउँदै भारतीय विद्यार्थीहरूलाई नेपालमा सस्तो शुल्कमा शिक्षा उपलब्ध भएकोले दुबै देशलाई फाइदा पुगिरहेको बताए । उनले भविष्यमा सुधारिएको नीतिले अझ राम्रो परिणाम दिने अपेक्षा व्यक्त गरे ।
यसअघि कार्यक्रमका तीन सत्रमा प्रदीप गिरिको जीवन, दर्शन, विचार र योगदानबारे विभिन्न वक्ताहरूले आफ्ना अनुभव र विचार साझा गरेका थिए। पहिलो सत्रमा राजनीतिशास्त्री हरि शर्मा, पत्रकार चन्द्रकिशोर, अध्येता भाष्कर गौतम र विश्लेषक सुचेता प्याकुरेलले आफ्नो धारणा राखेका थिए । दोस्रो सत्रमा भारतीय कांग्रेस नेता मोहन प्रकाश, माओवादी केन्द्रका नेता राम कार्की र अध्येता कैलाश राईले गिरिको सामाजिक–राजनीतिक जीवनबारे चर्चा गरेका थिए ।
उद्घाटन समारोहमा नेपाली कांग्रेस केन्द्रीय सदस्य अनिल रूंगटा, वरिष्ठ अधिवक्ता सुधीर कर्ण, वीरगञ्ज उद्योग वाणिज्य संघ अध्यक्ष हरि गौतम, प्रदीप गिरिका सहोदर शेखर गिरिसहित विभिन्न व्यक्तिहरूले आफ्ना अनुभव साझा गरेका थिए ।
चिन्तक प्रदीप गिरिका विचार, दर्शन र दृष्टिकोणको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित भदौ ३ गते गठन भएको प्रदीप गिरि इन्स्टिच्युटले यस कार्यक्रममार्फत सीमाञ्चल सम्मेलन गर्ने सोंच पनि अघि सारेको संस्थापक अध्यक्ष कञ्चन झाले जानकारी दिए ।
भिडियाे सामाग्री