हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले बाँसको नाङ्लो बुनेर मनग्य आम्दानी गर्दै आएका छन् । परम्परागत पुख्र्यौली नाङ्लो बुन्ने पेसा होम्ताङवासीको भरपर्दो आम्दानीको स्रोत नै बनेको छ ।
होम्ताङका अधिकांश स्थानीयले नाङ्लो बुन्दै आएका छन् । स्थानीयले बुनेर तयार गरेर नाङ्लो घरबाट नै ठेकेदारले लैजाने गरेका छन् । अन्य समयको तुलनामा विषेशगरी नाङ्लो भदौ, असोज र कात्तिकमा सबैभन्दा बढी उत्पादन हुने गरेको छ । दसैँ, तिहार, छठलगायत चाडपर्वका अवसरमा तराईमा नाङ्लोको बढी माग हुने स्थानीयको भनाइ छ ।
यो ठाउँका महिला, पुरुष दुवै पक्षले नाङ्लो बुन्ने गरेका छन् । नाङ्लो बुनेर घरखर्च चलाउने गरेको स्थानीय पूजा राईले बताए । आफ्ना घरका सबै परिवार नै नाङ्लो बुन्ने गरेको उनी बताउँछन् । एक महिनामा एक सय ५० वटासम्म नाङ्लो बुन्ने गरेको उनले बताए । नाङ्लो बिक्रीबाट वार्षिक रु दुईदेखि तीन लाखसम्म आम्दानी लिने गरेको उनको भनाइ छ । बुनेको नाङ्लो घरबाट नै प्रतिगोटा रु एक सय १० देखि एक सय २० सम्म बिक्री हुने उनले बताए ।
“नाङ्लो हाम्रो क्षेत्रको राम्रो आम्दानीको स्रोत हो, घरका सबै परिवारका सदस्य मिलेर नाङ्लो बुन्छौँ । नाङ्लो घरबाट नै बिक्री हुन्छ । यसको बिक्रीबाट वार्षिक रु दुईदेखि तीन लाखसम्म आम्दानी हुन्छ । हाम्रो क्षेत्रका प्रायः सबैले व्यावसायिक रूपमा नाङ्लो बुन्दै आएका छौँ”, उनले भने ।
हतुुवागढी–६ होम्ताङको साविक–१ को लङ्खाका करिब ७५ घर, साविक २ का विथारा एक सय ६५ घर, साविक ३ लुम्बुवा एक सय ३५ घर र हालको हतुवागढी–५ साविक ४ सोयागाउँका करिब ४० घरपरिवारले व्यावसायिक रूपमा नाङ्लो बुन्दै आएको हतुवागढी–६ का स्थानीय नाङ्लो व्यवसायी राजेन्द्र राईले बताए ।
राई अनुसारका व्यापारीले भारतसँगै पश्चिम नेपालका विभिन्न ठाउँमा पठाउने गरेको उनको भनाइ छ । होम्ताङका स्थानीयको राम्रो आम्दानीको स्रोतका रुपमा नाङ्लो बुन्ने व्यवसाय रहेको उनको भनाइ छ । यहाँका अधिकांश स्थानीय यो पेसामा आबद्ध रहेकाले राज्यले प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको स्थानीय नाङ्लो व्यवसायी प्रकाश राईले बताए । यसको थप विकास तथा विस्तार गरेर यसमा थप व्यावसायिकता ल्याउन आवश्यक रहेको उनको भनाइ छ ।
“हाम्रो क्षेत्रका अधिकांश नागरिकले नाङ्लो बुन्ने गर्दछन्”, उनले भने, “यसबाट गाउँघरमा मनग्य पैसा पनि भित्रिँदै गरेको छ । यसलाई थप व्यावसायिकता दिनका लागि स्थानीय सरकारले ध्यान दिन आवश्यक छ ।”