पर्सासहति तराई–मधेसका विभिन्न जिल्लाहरूमा आजदेखि श्रद्धा र निष्ठाका साथ चैती छठ पर्व विधिवत् रूपमा सुरु भएको छ ।
यो पर्व चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिनसम्म विभिन्न विधि र नियमहरूका साथ मनाइन्छ । चार दिनसम्म मनाइने यस चैती छठको पहिलो दिन व्रतीहरूले नहा खा अर्थात् नुहाएर खाने काम गर्नेछन् ।
पर्वको दोस्रो दिन खर्ना मनाइने छ । खर्नाका दिन व्रतीहरूले दिनभरि उपवास निराहार बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कूलदेवताको पूजा गर्नेछन् र राति अरवा अरबाईन (बिना नुनको) खानेकुरा खाने चलन छ ।
त्यस्तै, षष्ठीका दिन साँझ गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटान पिसान गरी सोबाट निस्केको पीठोबाट बनाइएका विभिन्न गुलियो खाद्य सामग्री ठकुवा, भुसवा, खजुरिया, पेरुकियाजस्ता पकवान र विभिन्न फलफुल तथा मूला, गाजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा, नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढाक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलाशय नजिक बनाएको छठ घाटसम्म पुग्नेछन् ।
षष्ठीका दिन व्रतीहरूले सन्ध्याकालीन अर्घका लागि पानीमा पसेर सूर्य अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गर्नेछन् । त्यस्तै त्यसको भोलिपल्ट एकाबिहानै पुनः छठघाटमा पुगी जलाशयमा पसेर प्रातःकालीन उदाउँदो सूर्यलाई अर्घ दिई चैती छठ पर्व सम्पन्न गर्नेछन् ।
महाभारतका अनुसार द्रोपदीसहित पाण्डवहरू अज्ञातबासमा रहँदा उक्त गुप्ताबास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । उक्त समयमा पाण्डवहरू मिथिलाको किरात राजाका क्षेत्रमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।
सूर्य पुराणअनुसार सर्वप्रथम पत्नी अनुसुइयाले छठ व्रत गरेकी थिइन् । फलस्वरुप उनले अटल सौभाग्य र परिप्रेम प्राप्त गरिन् र त्यही बेलादेखि छठ गर्ने परम्पराको सुरुआत भएको तथ्य उल्लेख छ ।
धार्मिक आस्थाका साथसाथै सामाजिक सद्भावका रूपमा समेत विकसित छठपर्व हिन्दुको सँगसँगै मुस्लिमहरूले पनि मनाउने गर्छन् ।