इरानले हालको अमेरिका–इजरायल युद्धलाई आफ्नो रणनीतिक फाइदामा बदल्दै खार्ग टर्मिनलबाट निर्यात जारी राखेको छ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) र एस एन्ड पी ग्लोबलका अनुसार, इरानले दैनिक १७ देखि २० लाख ब्यारेल तेल निर्यात गरिरहेको छ । देशको करिब ९० प्रतिशत तेल निर्यात अझै खार्ग टर्मिनलमार्फतै भइरहेको छ ।
अमेरिकाले खार्ग टापु नजिकका सैन्य अखडालाई निशाना बनाएको भए पनि विश्वव्यापी तेल संकटको डरले टर्मिनललाई प्रत्यक्ष निशाना बनाउन सकेन । यसै अवसरको फाइदा उठाउँदै इरानले ‘घोस्ट फ्लिट’ अर्थात् लुकेर हिँड्ने पानीजहाजमार्फत चीनलाई निर्यात जारी राखेको छ ।
साउथ पार्स ग्यास फिल्डमा भएको आक्रमणले निर्यातमा असर पारेको भए पनि ग्यास आपूर्ति पूर्ण रूपमा बन्द भएको छैन। यसैगरी, होर्मुज स्ट्रेट हुँदै जाने विदेशी जहाजहरूबाट प्रति जहाज कर लगभग १६ करोड ५० लाख रुपैयाँ असुलिएको छ ।
खाडी देशहरूको उत्पादनमा ठूलो गिरावट
इरानको लगातार आक्रमण र होर्मुज स्ट्रेटमा नियन्त्रणका कारण साउदी अरब, कतार, इराक, कुवेत र युएईजस्ता खाडी देशहरूको आपूर्ति प्रभावित भएको छ । सुरक्षित समुद्री मार्गको अभाव, बढ्दो आक्रमण र ढुवानी समस्याका कारण यी देशहरूको कुल उत्पादन करिब ७० प्रतिशतसम्म घटेको छ ।
ब्रेन्ट क्रुड शुक्रबार ३.२६ प्रतिशतले बढेर ११२.१९ डलर प्रति ब्यारेल पुगेको छ, जुन जुलाई २०२२ यताकै उच्च स्तर हो। तेलको मूल्य १०० डलरभन्दा माथि रहिरहँदा भारतमा महँगी बढ्ने जोखिम देखिएको छ ।
खाडीका पाँच देशमा प्रभाव
साउदी अरब – विश्वकै सबैभन्दा ठूलो तेल निर्यातक साउदी अरबको उत्पादन १ करोड ब्यारेल प्रतिदिनबाट घटेर ८० लाख ब्यारेल प्रतिदिनमा झरेको छ । होर्मुज स्ट्रेट बन्द हुँदा ‘ईस्ट–वेस्ट पाइपलाइन’ मार्फत यान्बुससम्म तेल पुर्याइँदैछ, तर पर्याप्त छैन ।
कतार – विश्वको २० प्रतिशत एलएनजी आवश्यकता कतार पूरा गर्छ। ‘रास लाफान’ ग्यास केन्द्रमा आक्रमणपछि ‘फोर्स मेज्योर’ लागू गरिएको छ । एलएनजी निर्यात क्षमता १७ प्रतिशतले घटेको छ र ट्याङ्करहरू बन्दरगाहमा थन्किएका छन् ।
इराक – बीपी, इएनआई र टोटल जस्ता कम्पनीहरूले कर्मचारी फिर्ता बोलाएका छन् । उत्पादन ४३ लाख ब्यारेलबाट घटेर १३ लाख ब्यारेल प्रतिदिनमा झरेको छ । भण्डारण भरिएका कारण प्रमुख तेल क्षेत्रमा काम रोकिएको छ ।
कुवेत – होर्मुज स्ट्रेटमा पूर्ण निर्भर कुवेतको निर्यात लगभग ठप्प भएको छ । ‘युद्ध कर’ र बिमा संकटका कारण ५० प्रतिशत उत्पादन बन्द गरिएको छ ।
युएई – आबुधाबी–फुजैराह पाइपलाइन पूर्ण क्षमतामा भए पनि बाँकी तेल होर्मुजमा फसेको छ । इरानी आक्रमणले जहाजहरूको बिमा प्रिमियम ४०० प्रतिशतले बढाएको छ ।
अमेरिकाले इरानी तेल खरिदमा ३० दिनको छुट
विश्व बजारमा महँगी नियन्त्रण गर्न अमेरिका सरकारले २० मार्चदेखि १९ अप्रिलसम्म इरानी तेल खरिदमा ३० दिनको अस्थायी छुट दिएको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टका अनुसार, यसले लगभग १४ करोड ब्यारेल तेल विश्व बजारमा ल्याउनेछ र आपूर्तिमा परेको अस्थायी दबाब कम गर्नेछ ।