सामान्यतया औषधि सेवन गर्दा मानिसहरू मात्रा ( डोज ) र समयमा ध्यान दिन्छन् । तर औषधिसँग के खाने र के नखाने भन्ने विषयमा धेरैजसो अनजान हुन्छन् । केही खाना र औषधिको गलत संयोजनले औषधिको प्रभाव घटाउन सक्छ भने साइड इफेक्ट पनि निम्त्याउन सक्छ ।
त्यसैले औषधि सेवन गर्नु अघि यसको लेबल ध्यानपूर्वक पढ्नु र खाना तथा औषधिबीचको प्रतिक्रिया बुझ्नु अत्यन्त आवश्यक मानिन्छ ।
के हो फुड–ड्रग इन्टर्याक्सन ( FDI ) ?
खाना र औषधिबीच हुने प्रतिक्रिया नै फुड–ड्रग इन्टर्याक्सन हो । जब कुनै औषधि कुनै विशेष खानेकुरासँग मिलेर सकारात्मक वा नकारात्मक प्रतिक्रिया दिन्छ, त्यसलाई एफडीआई भनिन्छ ।
यसले औषधिको प्रभाव घटाउन वा बढाउन सक्छ र साइड इफेक्टसमेत निम्त्याउन सक्छ। यही कारणले चिकित्सकहरूले केही औषधि खाली पेटमा र केही खाना खाएपछि सेवन गर्न सल्लाह दिने गर्छन् ।
किन हुन्छ यस्तो प्रतिक्रिया?
केही खानेकुराले औषधिलाई रगतमा मिसिन नदिई असर कम गराउँछन् ।
कलेजोले औषधि प्रशोधन गर्ने प्रक्रियामा खाना बाधक बन्न सक्छ ।
औषधि र खाना मिलेर नयाँ रासायनिक प्रतिक्रिया हुन सक्छ ।
यसले भिटामिन र मिनरल्सको अवशोषणमा समेत असर पार्न सक्छ ।
सबै औषधि सबै खानेकुरासँग खान मिल्छ ?
अहँ, सबै औषधि सबै खानेकुरासँग खान मिल्दैन । औषधिको प्रकार, साल्ट र रासायनिक संरचनाअनुसार यसको प्रतिक्रिया फरक–फरक हुन्छ। त्यसैले औषधिको लेबलमा दिइएको निर्देशन पालना गर्नु आवश्यक हुन्छ ।
कुन औषधिसँग के नखाने?
१. एन्टिबायोटिक औषधि
दूध, दही, पनिर
क्याल्सियम सप्लिमेन्ट
यीले औषधिको अवशोषण घटाउँछन् ।
२. थाइराइडको औषधि
सोया उत्पादन (भटमास, सोया मिल्क)
ओखर
उच्च फाइबरयुक्त खाना
यीले औषधिको असर कम गर्न सक्छन् ।
औषधि र खानाबीच कति समयको अन्तर?
यो औषधिको प्रकारअनुसार फरक हुन्छ ।
केही औषधि खाली पेटमा राम्रो काम गर्छन् ।
केही खाना खाएपछि लिनुपर्छ ।
त्यसैले समयको अन्तरबारे जानकारी डाक्टर वा औषधिको लेबलबाट लिनु उपयुक्त हुन्छ ।
के–कस्ता साइड इफेक्ट हुन सक्छन्?
औषधिको असर कम हुनु
पेट दुख्नु वा फुल्नु
वाकवाकी लाग्नु वा बान्ता हुनु
रिङ्गटा लाग्नु
कमजोरी महसुस हुनु
मुटुको धड्कन अनियमित हुनु
रक्तचाप घटबढ हुनु
एलर्जी वा छालामा डाबर आउनु
कहिले डाक्टरको सल्लाह लिनु आवश्यक ?
औषधि सेवनपछि तलका लक्षण देखिए तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छः
अत्यधिक रिङ्गटा लागेमा
सास फेर्न गाह्रो भएमा
छाती दुखेमा
मुटुको धड्कन असामान्य भएमा
लगातार बान्ता भएमा
बेहोस भएमा
एलर्जी प्रतिक्रिया देखिएमा
सप्लिमेन्टमा पनि लागू हुन्छ नियम
भिटामिन र मिनरल सप्लिमेन्टहरूमा पनि यस्तै प्रतिक्रिया हुन सक्छ ।
क्याल्सियम र आइरनले एकअर्काको अवशोषण घटाउँछन् ।
आइरन अमिलो फलसँग खाँदा राम्रो अवशोषण हुन्छ ।
दूधले आइरनको असर घटाउँछ तर भिटामिन–डी को असर बढाउँछ ।
उच्च फाइबरयुक्त खानाले केही भिटामिनको प्रभाव कम गर्न सक्छ ।
त्यसैले औषधि मात्र होइन, सप्लिमेन्ट सेवन गर्दा पनि सही समय र खानाको संयोजनमा विशेष ध्यान दिन आवश्यक छ ।