अफ्रिकी मुलुक कंगोमा बुन्डीबुग्यो इबोला भाइरस तीव्र गतिमा फैलिन थालेपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।
यो भाइरस छिमेकी देश युगान्डासम्म पुगिसकेको बताइएपछि यसको अन्तर्राष्ट्रिय फैलावटको जोखिम बढेको छ । सन् २०१४–१५ मा पश्चिम अफ्रिकामा देखिएको इबोला महामारीले हजारौँको ज्यान लिएको थियो । हाल फैलिरहेको बुन्डीबुग्यो प्रजातिलाई पनि अत्यन्त गम्भीर मानिएको छ ।
विशेषज्ञहरूका अनुसार इबोला अत्यन्त घातक भए पनि यो कोभिड–१९ जस्तो हावाबाट सर्ने रोग होइन । संक्रमित व्यक्तिको रगत, पसिना, थुक, वान्ता, पिसाब वा अन्य शरीरका तरल पदार्थसँग प्रत्यक्ष वा अप्रत्यक्ष सम्पर्क हुँदा मात्र संक्रमण सर्ने गर्छ । संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार बुन्डीबुग्यो इबोला इबोलाका प्रमुख प्रजातिमध्ये एक हो, जसको मृत्युदर औसत ४० प्रतिशत हाराहारी रहेको अध्ययनले देखाएको छ । समग्र इबोलाको मृत्युदर करिब ५० प्रतिशतसम्म पुग्ने गरेको उनले बताए ।
उनका अनुसार सुरुमा ज्वरो, शरीर दुख्ने, अत्यधिक थकान, घाँटी दुख्ने र कमजोरीजस्ता सामान्य लक्षण देखिन्छन् भने पछि गम्भीर अवस्थामा रक्तस्रावसम्बन्धी समस्या देखिन सक्छ । संक्रमित व्यक्तिले प्रयोग गरेका सामग्री वा संक्रमित जनावर, विशेषगरी चमेरोबाट पनि भाइरस सर्न सक्ने सम्भावना रहने चिकित्सकहरूको भनाइ छ । नेपालमा हाल प्रत्यक्ष उच्च जोखिम नरहे पनि पूर्ण रूपमा सुरक्षित अवस्था नभएको विज्ञहरूले चेतावनी दिएका छन् । अफ्रिकी देशहरूसँगको आवतजावत र अन्तर्राष्ट्रिय यात्राका कारण संक्रमण भित्रिन सक्ने जोखिम रहने उनीहरूको भनाइ छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार अधिकारीका अनुसार सरकारले निगरानी संयन्त्र सक्रिय बनाएको छ भने प्रयोगशालाहरूलाई तयारी अवस्थामा राखिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ज्वरो स्क्रिनिङ तथा स्वास्थ्य जाँचको व्यवस्था गरिएको छ । संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीका अनुसार हाल देखिएको प्रजातिका लागि पूर्ण रूपमा प्रभावकारी खोप वा विशेष औषधि उपलब्ध छैन। तर समयमै पहिचान र आइसोलेसन गर्न सकिए संक्रमण नियन्त्रण गर्न सकिने उनले बताए। विज्ञहरूका अनुसार इबोला हावाबाट नफैलिने भएकाले समयमै सावधानी, सरसफाइ, निगरानी र आइसोलेसन अत्यन्त महत्वपूर्ण हुन्छ । हाल नेपालमा ठूलो महामारीको जोखिम कम भए पनि स्वास्थ्य प्रणालीको तयारी र जनचेतना बलियो बनाउनुपर्ने आवश्यकता देखिएको छ ।
चिकित्सकहरूले डरभन्दा बढी सतर्कता, सही सूचना र तयारी आवश्यक रहेको बताएका छन् ।