पेट्रोलियम पदार्थको मूल्य बढेसँगै नेपाल आयल निगम लगातार घाटामा पुगेको छ । निगमका अनुसार पछिल्लो एक महिना ८ दिनमा मात्र करिब ११ अर्ब रूपैयाँ घाटा भएको छ ।
निगमका निर्देशक मनोज ठाकुरका अनुसार पेट्रोलियम पदार्थ किनेर, राजस्व तिरेर, ढुवानी र बिक्री गर्दा हुने खर्चभन्दा बिक्री मूल्य कम भएकाले घाटा लगातार बढ्दै गएको हो। निगमले भारतीय आयल कर्पोरेसन (आइओसी) बाट आवश्यक सबै प्रकारका प्रशोधित पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ ।
आइओसीले अन्तर्राष्ट्रिय बजारबाट कच्चा तेलको मूल्यमा आफ्नो प्रशोधन शुल्क, ढुवानी खर्च र अन्य खर्च जोडेर नेपालको लागि मूल्य तय गर्छ। निगमले यसमा भन्सार, प्रशासनिक खर्च, ढुवानी र डिलर कमिसन थपेर उपभोक्तालाई बिक्री मूल्य तय गर्दछ । पेट्रोलियम मूल्य निर्धारणमा सबैभन्दा ठूलो आधार आइओसीले कच्चा तेलको लागि तोकेको मूल्य हो ।
आइओसीले पछिल्लो एक महिना ८ दिनमा डिजेलको मूल्य प्रतिलिटर १५० रूपैयाँ बढाएको छ । फेब्रुअरी १६ मा डिजेल ९१.८८ रूपैयाँमा थियो भने अप्रिल १ मा २४२ रूपैयाँ पुगेको छ । यसमा प्रतिलिटर ४९.२८ रूपैयाँ कर र शुल्क, २.३९ रूपैयाँ निगमको सञ्चालन खर्च जोड्दा उपभोक्ताका लागि मूल्य २८५ रूपैयाँ पुग्छ। तर निगमले काठमाडौं उपत्यकामा हाल १८२ रूपैयाँमा बिक्री गर्दै आएको छ, जसका कारण प्रति लिटर १२० रूपैयाँ घाटा छ । डिजेलमा मात्र पछिल्लो एक महिना ८ दिनमा करिब १० अर्ब रूपैयाँ घाटा भएको निगमले जनाएको छ ।
त्यस्तै, फेब्रुअरी २७ सम्म भारतले पेट्रोल प्रतिलिटर ७९ रूपैयाँमा पठाएकोमा हाल १५४ रूपैयाँ पुगेको छ। कर र सञ्चालन खर्चसहित पेट्रोलमा प्रतिलिटर करिब ३४ रूपैयाँ घाटा भएको छ । काठमाडौंमा पेट्रोलको मूल्य २०२ रूपैयाँ प्रतिलिटर छ । पछिल्लो एक महिनामा पेट्रोलमा १ अर्ब १३ करोड रूपैयाँ घाटा भएको निगमले जनाएको छ ।
खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रति सिलिन्डर १९० रूपैयाँले बढेको छ। निगमले हालसम्म मूल्य बढाएको छैन । ग्यासमा प्रतिसिलिन्डर ४१६ रूपैयाँ घाटा छ। पछिल्लो एक महिनाको घाटा ६३ करोड रूपैयाँ पुगेको छ ।
हवाई इन्धन र अन्य पेट्रोलियम पदार्थमा भएको सामान्य नाफा घटाए पनि निगम हाल मासिक करिब ११ अर्ब रूपैयाँ घाटामा छ । निगमले केही घाटा विगतको स्थिरीकरण कोषबाट पूर्ति गर्ने तयारी गरेको छ । पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र ग्यासमा निगमले क्रमशः स्थिरीकरण कोषमा २.०२, १.८२, २.५१, २.७० रूपैयाँ र १९ रूपैयाँ जम्मा गरेको छ ।
विश्व बजारमा कच्चा तेलको मूल्य यस अवधिमा करिब ३८ प्रतिशत बढेको छ । फेब्रुअरी अन्त्यमा ७९ डलर प्रति ब्यारेल रहेको कच्चा तेल हाल १०९ डलर पुगेको छ। यस कारण भारतीय बजारमा औद्योगिक डिजेलको मूल्य २५ प्रतिशतले बढेको छ ।
खाडी क्षेत्रमा इरान–अमेरिका तनाव र स्ट्रेट अफ हर्मुज नजिक आपूर्ति अवरूद्ध हुने जोखिमले विश्व बजारमा मूल्य वृद्धिमा योगदान गरेको छ । कच्चा तेल उत्पादक देशहरूको आपूर्ति व्यवस्थापन, उत्पादन कटौती र ढुवानी जोखिमले पनि मूल्य बढ्ने कारण बनेका छन् ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का अनुसार कच्चा तेलको मूल्य एक वर्षमा १० डलर बढ्दा बजार मूल्य ०.४ प्रतिशत बिन्दुले बढ्छ ।
अर्थशास्त्री गुणाकर भट्टका अनुसार तेल संकटले विश्व अर्थतन्त्रमा आर्थिक संकुचनको जोखिम बढाएको छ । ‘अन्तर्राष्ट्रिय बजारमा तेल महँगिए विश्व आर्थिक वृद्धि घट्छ। भारतमा महँगो भएपछि नेपालमा तुरुन्त प्रभाव देखिन्छ। लामो समय यस्तो स्थिति रह्यो भने विदेशी विनिमय सञ्चित र आन्तरिक माग दुवै कमजोर हुन सक्छ,’ उनले भने ।
उनका अनुसार महँगो तेल आयात गर्दा डलर खर्च बढ्ने र अर्थतन्त्रमा असन्तुलन बढ्ने सम्भावना पनि छ ।