कालिगढ तथा श्रमिकहरूले आज भगवान् विश्वकर्माको विधिपूर्वक पूजाआराधना गरी वास्तु दिवस तथा विश्वकर्मा पर्व मनाउँदैछन्। प्रत्येक वर्ष आश्विन संक्रान्तिका दिन विश्वकर्माको पूजा गर्ने परम्परा रहेको छ ।
विश्वकर्मा पूजाका अवसरमा विभिन्न कलकारखाना, वर्कसप तथा उद्योगमा भगवान् विश्वकर्माको तस्बिर वा मूर्ति स्थापना गरी विशेष पूजाआराधना गरिन्छ। कलकारखाना तथा कार्यस्थल सजाएर श्रमिकहरूले पर्व मनाउने गरेका छन्। इञ्जिन तथा मेसिन जडान भएका सवारीसाधन र विभिन्न औजारको समेत पूजा गर्ने चलन छ।
धार्मिक विश्वासअनुसार विश्वकर्माको पूजा गरी औजार तथा उपकरणको आराधना गर्दा ती लामो समयसम्म टिक्ने, कामका क्रममा कम बिग्रिने र काममा सफलता प्राप्त हुने विश्वास गरिन्छ। यही विश्वासका कारण कालिगढ तथा प्राविधिकहरूले आफूले दैनिक प्रयोग गर्ने औजार तथा मेसिनको पूजा गर्ने गरेका छन् ।
विश्वकर्मालाई वास्तु तथा निर्माण विद्याका ज्ञाता मानिन्छ। धार्मिक कथनअनुसार द्वापर युगमा भगवान् कृष्णलाई राक्षसबाट जोगाउन विश्वकर्माले समुद्रको बीचमा द्वारका निर्माण गरेका थिए। एकै रातमा द्वारका निर्माण गरेको विश्वासका आधारमा विश्वकर्मालाई दक्ष वास्तुविद् तथा निर्माणका देवताका रूपमा पूजा गर्ने परम्परा बसेको धार्मिक मान्यता छ ।
विश्वकर्मालाई प्राचीन भारतवर्षका वास्तु तथा निर्माणकलाका विशिष्ट ज्ञाताका रूपमा समेत स्मरण गरिन्छ। यही धार्मिक मान्यताका आधारमा नेपालमा पनि कालिगढ, प्राविधिक, उद्योगी तथा श्रमिकहरूले विश्वकर्मा बाबाको पूजा गरी आफ्नो पेशा, औजार र उपकरणप्रति सम्मान व्यक्त गर्ने गर्छन् ।
पूजापछि बालुवा तथा अन्य सामग्रीबाट बनाइएका विश्वकर्माका मूर्ति विभिन्न स्थानका नदी तथा जलाशयमा लगेर विसर्जन गर्ने चलनसमेत रहेको छ ।